site stats
बाह्रखरी :: Baahrakhari
विशेष

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३ औं क्षेत्रीय सम्मेलन काठमाडौंमा बुधबारदेखि सुरु भएको छ ।
२७ वर्षपछि नेपालमा सम्मेलन भएको हो । नेपाल प्रहरीले २३ औं एसियन सम्मेलनको पूर्ण तयारी गर्ने जिम्मा लियो र त्यहीअनुसार  बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरे ।

सम्मेलनमा इन्टरपोलका अध्यक्ष चीनका मेङ हङवई, इन्टरपोलका महासचिव जर्मनका योर्गेन स्टकदेखि ५५ राष्ट्रका प्रहरी प्रमुख तथा प्रहरी अधिकारीहरु सहभागी छन् । 

तर सम्मेलनमा भाग लिन नेपाल आईपुग्ने दिनमै इन्टरपोलका महासचिव योर्गेन सवार गाडीको तल्लो भाग सडकमा धस्सिएपछि नेपालको सडक इन्टरपोलका प्रहरी अधिकारीबीच अनौपचारिक छलफलको विषय बन्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस सम्मेलनका लागि विभिन्न ५५ देशका प्रहरी प्रमुख तथा उच्च तहका अधिकारी सहभागी छन् । योर्गेन चढेको गाडी एकपटक मात्रै होइन, पटक–पटक यसरी सडकमा धस्सिएपछि उनी बेला बेला झसंग समेत भए ।

“इन्टरपोलका महासचिव चढेको गाडीले तल्लो भागले सडक छोएछ, त्यो पनि पटक–पटक । उहाँ प्रत्येकपटक गाडी खाल्डोमा परेपछि झस्किनुहुँदोरहेछ,” छलफलमा सहभागी नेपाल प्रहरीका एक उच्च अधिकारीले बाह्रखरीसँग भने, “त्यसपछि उहाँले नेपालको सडकको अवस्थाका बारेमा बयान गर्दै हास्नुभयो । यसले हामीलाई अलि असहज महसुस भयो ।”

बेलुका अनौपचारिक छलफलका क्रममा पनि यो विषयमा छलफल भएको उनको भनाई थियो ।

“सडकको अस्तव्यस्तताले नेपालको अवस्था जनाइरहेको छ,” प्रहरीका एक उच्च अधिकारीले भने, “हामीले २७ वर्षपछि यो सम्मेलन गर्ने मौका पाएका थियौं । तर यस्ता कुराले व्यवस्थापनको खिल्ली उडायो ।”

ती प्रहरीका अनुसार महासचिव चडेको मर्सिडिज कार मंगलबार विमानस्थलबाट होटल हायात जाने क्रममा चावहिल क्षेत्रमा गाडीको तल्लो भागले सडक छोएको थियो ।

“उहाँ चढेको गाडी तल भुईमा डर लाग्ने तरिकाले धस्सिएको बारेमा जानकारी गराउनुभयो,” उनले भने, “कार खाल्डोमा पर्दा महासचिव योर्गेन झसङ्ग हुनुभएछ ।”

मंगलबार बेलुका नै यस्तो सुनाएका योर्गेनको गाडीले बुधबार प्रहरी प्रधान कार्यालय जाने बेला पनि चावहिल गोपिकृष्ण हल नजिकै यसैगरी सडक छोएको थियो ।

चावहिलदेखि सुन्दरीजलसम्म सडक फराकिलो बनाउने काम जारी रहेकाले खाल्डाखुल्डी भएको प्रहरीले जनाएको छ ।

सडक विस्तारसँगै मेलम्ची आयोजनाको पाइप बिच्छ्याउने काम पनि जारी रहेकाले सडकमा धेरै खाल्डा रहेको उनको भनाई छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७३  १४:५१
प्रतिक्रिया दिनुहोस्