site stats
बाह्रखरी :: Baahrakhari
विशेष

काठमाडौं ।  विभिन्न कम्पनीमा जडान गरिएको मिटर उल्टो घुमाएर कमिशन खाने र लोडसेडिङ बढाउन सहयोग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
उद्योगलाई बढी बिजुली दिने तर उल्टो मिटर घुमाएर कम बिल उठाउने नेपाल विद्युत प्राधिकरणका कर्मचारी नै पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाले वर्षौदेखि विद्युतको मिटर बिगारेर करोडौं रकम हिनामिना गर्ने विद्युतका प्राविधिकसहित १६ जनालाई पक्राउ गरी कारवाही अघि बढाएको छ ।

महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार पक्राउ पर्नेमा  विद्युत प्राधिकरण बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ, पूर्वकर्मचारी टहलबहादुर कार्की, उपत्यकाभित्रका विभिन्न क्षेत्रका मिटर रिडर १२ जना र ४ जना कारखानाका गरी १६ जनालाई नियन्त्रणमा लिएर ठगी अन्तरगत मुद्दा चलाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राधिकरणको विभिन्न क्षेत्रमा काम गर्ने मिटर रिडर अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरेको र अझै केही व्यक्ति पक्राउ पर्न बाँकी रहेको एसएसपी खनालले बताए ।

महाशाखाका अनुसार कुमारीपाटीमा रहेको एक पानी कारखाना, कपास कारखाना र गौशालामा हरेको रामेश्वरम मिठाई पसलबाट प्राधिकरणका कर्मचारीसँग मिलेर मिटर उल्टो घुमाएर आर्थिक ठगी गर्ने गरेको भेटिएको छ ।

यसरी हुन्छ ठगी
अनुसन्धान अधिकारीका अनुसार बिजुलीको मिटर बिगार्दा एक जनाले मात्र हैन उनीहरुको पूरै च्यानल प्रयोग हुने गरेको भेटिएको छ । विद्युतका कर्मचारी र उद्योगीबीच पहिला मिटर बिगार्नेबारे छलफल हुन्छ । कुरो मिलेपछि पाँच सय भन्दा बढी पहिले नै बिलिङमा ५० युनिट बनाइन्छ । त्यसपछि मिटर रिडिङ गर्नेले सिल तोडेर उल्टो घुम्ने गरी जडान गर्छ । यसो गर्दा मिटर रिडरदेखि प्राविधिक र ग्राहकको मिलेमतो हुन्छ ।

प्राधिकरणका कर्मचारीहरुले बिदाका दिनमासमेत काम गरेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

महाशाखा प्रमुख एसएसपी खनाल भन्छन्, “संगठीत रुपमा मिलेर राजश्व चुहावटद हुने गरेको भेटियो, अनुसन्धान सुरु भएको छ, यसमा माथिसम्मको सेटिङ पनि हुन सक्छ हामी अनुसन्धान गर्दै छौं ।”

 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७३  १८:४२
प्रतिक्रिया दिनुहोस्