site stats
बाह्रखरी :: Baahrakhari
विशेष
किन हुन्छ काठमाडौंको सडक सधैं अस्तव्यस्त ?

काठमाडौं । काठमाडौं उपत्यकाको सडकमा अहिले हिँडीसाध्य छैन, गुडीसाध्य छैन । सडक सवारीसाधन गुडाउने ठाउँ हो, सडक पेटीमा पैदल यात्रु सजिलोसँग हिँड्न पाउनुपर्ने हो । तर, सडक पेटी त के, सडकलाई नै पनि धेरैले कमाइ खाने ठाउँ बनाएका छन् । यसले गर्दा एकातिर ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ भने अर्कोतिर दुर्घटना पनि बढिरहेको छ । 

सडक किनारामा ठूला–ठूला सपिङ मलहरू बनाइन्छ, तर पार्किङ पर्याप्त हुँदैन । पार्किङका लागि ठाउँ छुट्याए पनि त्यहाँ पसल राखिन्छ । अनि पार्किङचाहिँ सडक किनारमा । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सडक किनारमा बिजुलीका तार, इन्टरनेट सेवा प्रदायक कम्पनीका तार, केबुल टेलिभिजनका तार तथा टेलिफोनका तार अस्तव्यस्त देखिन्छन् । कतिबेला कुन तार चुँडिएर सडकमा लत्रिन्छ र सवारी दुर्घटनामा पर्छ भनेर चालकहरू त्रासमा रहनुपर्ने अवस्था छ । अहिले त झन् मेलम्ची खानेपानी आयोजनाले उपत्यकामा पानी वितरण गर्न पाइप विछ्याउने काम गरिरहेकाले जताजतै खाल्डैखाल्डा छन् । सडकमा उड्ने धुलोले उत्तिकै आजित छन् राजधानीवासी । सडक खनेर ढलको पाइप हाल्ने बेलाबेलामा चलिरहन्छ । 

\"\"सडक अतिक्रमणले हैरान छन् ट्राफिक प्रहरी । “सडकलाई आफ्नो निजी सम्पत्तिजस्तै ठानेर गरी खाने थलो बनाउन थाले । सडक त यातायातका साधन गुडाउनका लागि बनाइएको हो नि,” महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी प्रकाश अर्याल भन्छन्, “भवन बनाउनेले नक्सा पास गर्ने बेलामा पार्किङ पनि देखाउँछन् तर बनाइसकेपछि पार्किङको ठाउँमा पसल नै राख्छन् । यसमा राज्यले विषेश ध्यान दिनुपर्ने हो ।”

उनका अनुसार अहिले सडकमा विभिन्न खालका समस्याहरू उत्पन्न हुन थालेका छन् । मुख्य समस्या भनेको सडक अतिक्रमण र जथाभावी भत्काउने नै हो । “सडकको अवस्था नबिग्रिँदा उपत्यकामा एक हजार ट्राफिक प्रहरीले जेनतेन पुगेको थियो । तर, अहिले त्यसको दोब्बर हुँदा पनि ट्राफिक जाम नियन्त्रण गर्न मुस्किल छ,” डीआईजी अर्यालले भने, “सडकको अवस्था ठीक नभएका कारण ट्राफिक प्रहरीलाई निकै मुस्किल हुने गरेको छ । ८ देखि १४ घण्टा सडकमा ड्युटी गर्ने ट्राफिक धुलोमा पुरिएर नचिनिने अवस्थामा हुन्छन् ।” 

सडक किनारमा व्यवसाय गर्न नदिने तथा तारहरू व्यवस्थित गर्ने काम महानगरपालिकाको हो । कामनपाका प्रवक्ता ज्ञानेन्द्र कार्की अव्यवस्थित तार र सडक व्यापारीलाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताउँछन् ।

तर, महानगरको काम प्रभावकारी देखिएको छैन । “सडक फराकिला भए पनि किनारमा राखिने पसल र निर्माण सामग्री थुपार्दा समस्या भएको छ,” उनले भने, “महानगरले अब कडाइका साथ सडकमा राखिएका सामग्री हटाउन र तारहरू व्यवस्थित गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।”

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७३  १५:०१
प्रतिक्रिया दिनुहोस्