site stats
बाह्रखरी :: Baahrakhari
खेल
मेस्सीको भरमा अर्जेन्टिना 

काठमाडौं । विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, लियोनल मेस्सी जस्ता ठूला खेलाडीले आफ्नो जन्म सोही भूमिमा लिएका छन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब इतिहासमा धेरै उपाधिहरु जिताए । तर, देशका लागि केही भने ठूलो उपाधि जिताउन सकेका छैनन् । जतिजति मेस्सीको उमेर छिपिँदै जान्छ, त्यतिनै फुटबल प्रेमीहरुको मनमा एउटा डर उत्पन्न हुन्छ ।

कारण एउटा महान खेलाडीले देशलाई कुनै पनि उपाधि दिलाउन सकेका छैनन् । दुई पटक कोपा अमेरिकामा अर्जेन्टिनालाई फाइनलमा पुर्याएर पनि उपाधि दिलाउन नसकेका मेस्सीले सायद अन्तिम पटक कोपा अमेरिका खेल्दैछन् । 

अर्काे ठूलो फुटबल प्रतियोगिता विश्वकप फुटबलमा अर्जेन्टिनालाई फाइनलमा पुर्याए पनि उपाधि दिलाउन भने सकेनन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने धेरैजसो खेलाडी युरोपियन क्लबहरुमा राज गरेर बसिरहेका छन् । स्पेनिस क्लब बार्सिलोनामा लामो समययता राज गरिरहेका कप्तान मेस्सी, इटालियन क्लब युभेन्टसमा पाउलो डिबाला, फ्रान्सेली क्लबमा एन्जल डी मारिया, इङ्लिस क्लब म्यान्चेस्टर सिटीमा सर्जियो अग्युरो लगायतका खेलाडीहरु विश्व फुटबलमा राज गरेर बसेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जब अर्जेन्टिनाले अन्तरराष्ट्रिय स्तरमा ठूलो प्रतियोगिता खेल्छ, सबैभन्दा पहिला मेस्सीको नाम आउँछ । गोल गर्ने खेलाडीको पहिलो रोजाइमा रहेका हुन्छन् उनी । सन् २०१८ मा रुसमा विश्वकप फुटबल सम्पन्न भयो । उक्त विश्वकपमा कप्तान लियोनल मेस्सीले आफ्नो टोलीलाई अन्तिम १६ सम्मको यात्रा तय गराए । तर, फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएको थियो । उक्त हारपछि मेस्सीले राष्ट्रिय टोलीबाट केही समय विश्राम लिए । मैस्सी भर्खरैमात्र कोपा अमेरिकाको लागि राष्ट्रिय टोलीमा फर्के । पुनरागमनपछि राष्ट्रिय टोलीबाट मेस्सीले खेलेको पहिलो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

उक्त खेलपछि अर्जेन्टिनाले खेलमा राम्रो लय ल्याएको अर्जेन्टिनाका समर्थकहरुको आशा थियो । उक्त आशा त्यसको एक सातापछि निराशामा बदलियो । अर्जेन्टिनाले कोपा अमेरिकाको पहिलो खेलमा नै पराजित हुँदै प्रतियोगिताको सुरुवात गर्यो । 

पहिलो खेलमा पराजित हुँदा नै समर्थकहरुले कप्तान मेस्सीको आलोचना गर्न थाले । अर्जेन्टिना कोलम्बियासँग २–० गोलले पराजित भएको थियो । 

पहिलो खेलमा पराजित अर्जेन्टिनाले कोपा अमेरिकाको दोस्रो खेल खेल्दैछ । अर्जेन्टिनाले बिहिबार बिहान पाराग्वेविरुद्ध खेल्दैछ । पाराग्वेविरुद्धको खेलमा पनि अर्जेन्टिना मेस्सीको भरमा छ । यदि मेस्सीले कुनै जादूमय प्रदर्शन गरेमा अर्जेन्टिनाले क्वाटरफाइनलमा आफ्नो स्थान बनाउने छ । त्यासो त कमजोर टोलीसँगको प्रतिस्पर्धा अर्जेन्टिनालाई त्यति मुस्किल भने हुने छैन । 

अर्जेन्टिनालाई प्रतियोगितामा बलियो भएर टिकिराख्न बिहिबारको खेल जित्नैबपर्ने दबाब छ । अर्जेन्टिना बिहिबारको खेलमा पनि पराजित भएमा प्रतियोगितामा टिकिराख्न उसलाई मुस्किल हुनेछ ।  पाराग्वे अर्जेन्टिना भन्दा कमजोर टोली हो । फिफा वरीयतामा अर्जेन्टिना १५ औं स्थानमा छ भने पाराग्वे १०३ औँ स्थानछ । 

समूह ‘बी’मा रहेको अर्जेन्टिना अंकविहीन हुँदै सबैभन्दा पुछारमा रहेको छ । कोलम्बिया ३ अंकसहित शीर्ष स्थानमा छ भने पराग्वे र कतार १–१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । अर्को चरण जान अर्जेन्टिना र पराग्वे दुवैका लागि यो खेलको ३ अंक उत्तिकै महत्वपूर्ण हुनेछ । यस खेलको विजेता टिम अर्को चरणको सम्भावना जीवित हुनेछ ।

अर्जेन्टिना यो खेल जितेर अन्तिम आठमा आफ्नो स्थान बनाउने योजनामा हुनेछ । तर, पराग्वेले हराए ऊ अन्तिम खेल बाँकी छँदै समूह चरणबाटै आउट हुनसक्छ । त्यसका लागि कोलम्बियाको नतिजाले पनि भर गर्छ ।
कोलम्यिबाले आफ्नो खेलमा कतारलाई जित्यो र अर्जेन्टिना पराग्वेसँग पराजित भए अर्जेन्टिना अन्तिम खेल नखेली प्रतियोगिताबाट आउट हुनेछ ।

अर्जेन्टिना र पराग्वेको खेल नेपाली समयअनुसार भोलि बिहान ६ः१५ बजे हुनेछ । 

(एजेन्सीको सहयोगमा)।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १४:५८
प्रतिक्रिया दिनुहोस्