site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । गएको साउन ६ गते काठमाडौं प्रहरी परिसरको उजुरी छानबिन शाखाका सईसहित २ जना पक्राउ परे । उजुरी छानबिन शाखाका सई निर्मल ज्ञवाली र सिपाही सन्तोष खड्काले उजुरी दिन आएका सेवाग्राहीसँग डुबेको रकम उठाइदिने भन्दै एक लाख घूस लिएको रहस्य बाहिर आएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको थियो । 

चैत २ गते यस्तै खालको एक अर्को घटनामा महानगरीय अपराध महाशाखा र बानेश्वरमा कार्यरत सई सम्वद तामाङ र सूर्य थापा पक्राउ परे । उनीहरूले डुबेको रकम उठाइदिने बहानामा आफ्नो नाममा बढी मूल्यको चेक बनाउन लगाएका थिए । एक जना व्यक्तिले म्यानपावर व्यवसायी बद्री राईले आफ्नो पैसा खाइदिएको उजुरी गर्न खोज्दा दुई जना सईले ‘हामी उठाइदिन्छौं, फिप्टी फिप्टी’ भन्दै आफ्नो नाममा चेक बनाउन लगाए । उनीहरूबाट पीडित राईले प्रहरीमा उजुरी गरेपछि उक्त रहस्य बाहिर आएको थियो । 

यी त केही प्रतिनिधि उदाहरणमात्र हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंमा रहेका प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिसरमा आउने अधिकांश लेनदेनका मुद्दाहरू चर्को ब्याजको लोभमा रकम सापटी दिने र उठ्न नसकेपछि पहुँचका आधारमा उठाउन खोज्ने प्रवृत्तिसँग सम्बन्धित छन् । यस्तो क्रम बढ्दै गएको र यसबाट प्रहरी समेत प्रभावित हुन थालेको देखिएको छ । त्यसैले अबदेखि यस्ता मुद्दाहरू हेर्दा विचार गरेर मात्र प्रहरीले ठाडो उजुरी लिने भएको छ । 

‘‘चर्को ब्याज आउने आशमा पहिला मानिसको आयस्रोत नहेरेरै ऋण दिने र ब्याज आउन छाडेपछि बढी मूल्यको कागज गराउने अनि ‘ठूलाबडा’ को शक्ति प्रयोग गरेर प्रहरी कार्यालयमा धाउने गरेको भेटिएपछि अबदेखि त्यस्ता उजुरीहरू लिँदा विचार गर्ने गरेका छौं,” काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले भने । जोशीका अनुसार यस्ता मुद्दाका कारण प्रहरीको दैनिक कार्य समेत प्रभावित हुन थालेको छ ।

उनका अनुसार प्रहरी कार्यालयमा दैनिक दर्जनभन्दा बढी आर्थिक  ठगीका उजुरी पर्ने गरेका छन् । काठमाडौं प्रहरी परिसरमा मात्र पछिल्लो दुई महिनामा २ सय ३२ ओटा आर्थिक लेनदेनसँग सम्बन्धित उजुरी परेका छन् । यीमध्ये अधिकांश उजुरी ब्याजमा लगाएको रकम नउठेको विषयसितै सम्बन्धित छन् । 

एसएसपी जोशी भन्छन्, ‘‘ब्याज आउने आशमा मानिसहरूले दायाँबायाँ नहेरेरै पैसा दिन्छन् । जब ब्याज आउन छाड्छ, अनि कागज बनाएर रकम उठाइदिनु पर्यो भन्दै प्रहरी कार्यालयमा धाउँछन् । यसले प्रहरीको काममा बाधा पुर्याउनुका साथै प्रहरी कर्मचारीले समेत आर्थिक लाभ लिन सक्ने भएकाले बैंकिङ ठगी र जघन्य ठगीबाहेकका लेनदेनका अन्य मुद्दाहरू नहेर्न निर्देशन दिएको छु ।’’ 

डनका हातमा मुद्दा जान नदिन प्रहरी परिचालन

प्रहरीले लेनदेनका मुद्दाहरू हेर्न छाडेपछि त्यस्तो काम गुण्डाहरूको हातमा जान सक्ने भन्दै प्रहरीले गुण्डाहरूमाथिको निगरानी बढाएको छ । 
आर्थिक लेनदेन पहिला गुण्डाहरूले नै मिलाउने गरेका थिए, तर प्रहरीले उनीहरूलाई धमाधम पक्राउ गर्दै कारबाही गर्न थालेपछि त्यस्ता मुद्दाहरू प्रहरीकहाँ आउन थालेका हुन् । अब प्रहरीले यस्ता मुद्दाहरू नहेर्ने भएपछि फेरि गुण्डाहरूको सक्रियता बढ्न सक्छ । ‘‘हामी यो कुरामा सचेत छौं,” एसएसपी जोशीले भने, ‘‘जेलबाट छुटेका र आचरण खराब भएका व्यक्ति तथा गुण्डा नाइकेहरूको निगरानी गर्न छुट्टै प्रहरी परिचालन गरेका छांै ।’’ 

उनले भने, ‘‘सुध्रिन चाहनेलाई मौका दिन्छौं, तर कानुन हातमा लिएर टोले मुन्द्रे प्रयोग गरी फाइदा लिनेलाई हामीले छाड्ने कुरा आउँदैन ।’’ 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७३  ११:१४
प्रतिक्रिया दिनुहोस्