site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १० जना गुण्डाहरूलाई पक्राउ गरेको छ । थप १५० गुण्डा प्रहरीको निगरानीमा छन् । 
काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीका अनुसार करिब १ साताको अवधिमा काठमाडौंबाट १० जना गुण्डा पक्राउ परेका हुन् । 
“पुराना गुण्डाहरू पक्राउ पर्ने डरले लुकेका छन् । उनीहरूले आफ्ना सहयोगीलाई अघि सारेर विभिन्न आपराधिक गतिविधि तथा जबर्जस्ती रकम असुली गरिरहेको खबर हामीलाई आइरहेको छ,” एसएसपी जोशीले बाह्रखरीसँग कुरा गर्दै भने, “आउटडेटेड गुण्डाको ठाउँमा नयाँ गुण्डा जन्मेका छन्, उनीहरू कसैले टाउको उठाउने चेष्टा नगरे हुन्छ । हामी जुनसुकै बेला पक्राउ गरी कारबाही गर्न सक्छौं । उनीहरू २४ सै घण्टा हाम्रो निगरानीमा छन् ।” 
गुण्डा नाइके दीपक मनाङ्गे मनाङ जाँदा पनि आफूहरुको निगरानीमा रहेको र कफी सप बदलेका चक्रे पनि २४ घण्टे निगरानीमा रहेको जोशीले बताए । उनका अनुसार काठमाडौंमा धेरै नयाँ गुण्डाहरूको उदय भएको छ । विभिन्न जिल्लामा कारबाही भोगेर काठमाडौं आएका गुण्डाहरू र पुराना गुण्डाहरूको पछि हिँड्नेहरू अहिले आफैं गुण्डा नाइके बनेर हिँडिरहेका छन् । “हामीले ती गुण्डाहरूलाई तीन तहमा विभाजन गरी उनीहरूको पछाडि प्रहरी परिचालन गरेका छौं, उनीहरूको दैनिक निगरानी हुन्छ,” जोशीले भने । 

गुरु लुके, सानातिना बजारमा चर्दैछन्
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका १० जना गुण्डाविरुद्ध अनुसन्धान अघि बढाइएको छ । अझै केहीलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । 
प्रहरीका अनुसार नयाँ बजार क्षेत्रमा बस्दै आएका कर्मा घले, स्वयम्भूमा बस्दै आएका कोर्तो गुरुङ, नयाँ बजार बस्ने ज्याक गुरुङ, कोटेश्वर बस्ने पुनम कार्की, बसुन्धरा बस्ने किशन श्रेष्ठ, बालाजु बस्ने कुमार गोले, नयाँ बजार बस्ने नमु तामाङ, थानकोट बस्ने नानीबहादुर थापा, कलंकी बस्ने सागर थापा मगर र गौशाला बस्ने सबिन खड्कीलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही थालेको छ । 
“पक्राउ परेका यी सबै टोले गुण्डा तथा ठूला गुण्डाका सहयोगीहरू हुन् । ठूला गुण्डाहरू पक्राउ पर्ने डरले लुकेर बसेका छन् । आफूलाई सुधारेर राम्रो काम गर्नेलाई प्रहरीले केही गर्दैन, तर राजनीतिक आडमा गुण्डागर्दी गर्ने कसैलाई पनि प्रहरीले बाँकी राख्नेछैन,” एसएसपी जोशीले चेतावनी दिए । 
गुन्डाहरुको निगरानी गर्न काठमाडौं प्रहरीले सम्बन्धित क्षेत्रका प्रहरी कार्यालयलाई परिचालन गरेको छ । त्यसमाथि पनि परिसरको एक छुट्टै टोली बनाएर उनीहरूको निगरानी थालेको एसएसपी जोशीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यी हुन् ए, बी र सी लेभलका गुण्डा
‘ए’ लेभलका गुण्डाहरू
दीपक मनाङे
मिलन गुरुङ ‘चक्रे’
समिर मानसिंह बस्नेत
बाघबहादुर लामा ‘बाघे’
सुजन पौडेल ‘रमेश बाहुन’
साजन महर्जन
तेजेन्द्र गुरुङ
राजु गोर्खाली
दावा लामा
गणेश लामा

‘बी’ लेभलका गुण्डाहरू
रिनझिन शेर्पा 
निराजन पौडेल
राजेश महर्जन
मानबहादुर तामाङ
भीमराज घले
शोभित तामाङ
राज तामाङ
चन्द्र लामा
सुरेश महर्जन
तेजेन्द्र रायमाझी
निरज लामा
छिरिङ शेर्पा

‘सी’ लेभलका गुण्डाहरू
टेण्डी शेर्पा (राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्य)
राजेश महर्जन श्रेष्ठ
निरज लामा
राजु भण्डारी
हिमाल बस्नेत
शिवा पुन

‘ए’ लेभलका दावालाई कसले हान्यो गोली ? 
प्रहरीको पहिलो सूचीमा रहेका गुण्डा नाइके दावा लामालाई कसले गोली हान्यो भन्नेबारेमा अहिलेसम्म कुनै तथ्य बाहिर आएको छैन । यद्यपि, प्रहरीले भने यो तथ्यको नजिक पुगिसकेको दाबी गरेको छ । “गोली कसले हान्यो, त्यसको नजिक हामी पुगिसकेका छौं । केही दिनमै पक्राउ गरी सार्वजनिक गर्नेछौं,” एसएसपी जोशीले भने ।
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७३  १७:४२
प्रतिक्रिया दिनुहोस्