site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कसैले जग्गा बेचेर तिर्ने, कसैको प्राधिकरणको भुक्तानीबाट काटिने

काठमाडौं । उखु किसानको भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकको आर्थिक कारोबार रोक्का हुने भएको छ । चिनी मिल मालिक पक्राउ गर्न र आर्थिक कारोबार रोक्का गरिदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

सरकार कडा भएर प्रस्तुत हुनुपर्ने मिलका हकमा सरकारले उनीहरूको आर्थिक कारोबारै रोक्का गर्नुपर्ने अवस्थामा पुगेको हो । मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार तीनवटा मिलका हकमा सरकार कडा हुनुपर्ने भएकाले उनीहरूले उखु किसानलाई भुक्तानी दिनेबाहेक सबै आर्थिक कारोबार गर्नबाट रोक्नुपर्ने निर्णयमा सरकार पुगेको छ ।

उनका अनुसार राकेश अग्रवालको अन्नपूर्ण चिनी मिल र इन्दिरा चिनी तथा लुम्बिनी चिनीविरुद्ध सरकार कडा प्रस्तुत हुनपरेको हो । तीनवटै मिल सञ्चालकको आर्थिक कारोबार रोक्का गर्न पत्राचार गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रालयका अनुसार अन्नपूर्ण र इन्दिरा चिनी मिलले ४२ करोड रुपैयाँ तिर्न बाँकी छ । त्यसमध्ये अन्नपूर्णले ३ करोड ९० लाख तथा इन्दिराले ७४ लाख रुपैयाँ भुक्तानी गरिदिएको दाबी कम्पनीको छ । यस्तै ७ गतेसम्म थप ७४ लाख तिरेको मौखिक जानकारी मिलले गराएको छ ।

लुम्बिनी चिनी मिलका सञ्चालक भने अहिलेसम्म सम्पर्कमा छैनन् । सम्पर्कमा नआउने बाबा बैजुनाथ चिनी मिल, वाग्मती चिनी मिल र महाकाली चिनी मिल हुन् । वाग्मतीको ८ करोड ४२ लाख र महाकालीको ६२ हजार रुपैयाँ बक्यौता छ । उनीहरूका सञ्चालकलाई पनि पक्राउ गर्न उद्योग मन्त्रालयले गृहलाई आग्रह गरिसकेको छ । 

यता हिमालय, इन्दुशंकर, इस्टर्न, रिलायन्स र भागेश्वर चिनी मिलले भने सरकारको ताकेतापछि बाँकी रहेको रकम भुक्तानी गरेका छन् । अन्नपूर्ण र इन्दिरासँगै महालक्ष्मी र एभरेस्ट चिनी मिलले किसानलाई आंशिक भुक्तानी गरेका छन् ।

यस्तै श्रीराम चिनी मिलले २६ करोड ७७ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्न किसानसँग सम्झौता गरिसकेको दाबी गरेको छ । सञ्चालकले किसानहरूसँग जग्गा बेचेर भए पनि कुनै पनि हालतमा रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।

अन्नपूर्ण चिनी मिल सञ्चालकले भने नेपाल विद्युत् प्राधिकणको भुक्तानी प्राप्त गर्नुपर्ने देखिएकाले सो रकम रोकेर किसानलाई सरकारले उपलब्ध गराउन उद्योगले ऊर्जा मन्त्रालयलाई पत्राचार गरेको छ ।

कुन मिलको कति बाँकी ? कसले कति दिए ?
सबै भुक्तानी गरिसकेको उद्योगहरू :
हिमालय सुगर मिल्स
इन्दुशंकर चिनी उद्योग
इस्टर्न सुगर मिल्स
रिलाइन्स सुगर एन्ड के. ई.
भोगेश्वर सुगर ई.

आंशिक भुक्तानी गरेका
महालक्ष्मी सुगर्स : २१ लाख ४० करोड बक्यौतामध्ये ११ करोड ५० लाख भुक्तानी गरेको
अन्नपूर्ण सुगर एन्ड जनरल र इन्दिरा सुगर एन्ड एग्रो ई. : ४२ करोड बक्यौता
जसमध्ये अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिराले ७४ लाख भुक्तानी गरेको
एभरेस्ट सुगर एन्ड केमिकल : ७ करोड ९३ लाख रुपैयाँ बक्यौतामध्ये बैंक खाता भएकालाई उपलब्ध गराइएको
श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख बक्यौता जग्गा बेचेर किसानलाई भुक्तानी गर्ने सम्झौता गरेको

सम्पर्कमा नआएका
बाबा बैजुनाथ चिनी उद्योग : उपलब्ध छैन
वाग्मती खाँडसारी चिनी मिल्स : ८ करोड ४२ लाख रुपैयाँ बक्यौता
महाकाली सुगर मिल. : ६२ हजार रुपैयाँ
लुम्बिनी चिनी उद्योग : उपलब्ध छैन
 

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १८:०१
प्रतिक्रिया दिनुहोस्