site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी नै गलत गर्दैछन ? उजुरीका लागि डायल गर्नुहोस् १११३ 

काठमाडौं । तपाइँ प्रहरी कार्यालय जाँदै हुनुहुन्छ ? तपाइँको उजुरी वा गुनासा लिन प्रहरीले आनाकानी गर्दैछन् ? या जुनसुुकै स्थानमा प्रहरी नै गलत काममा संलग्न भएको पाउनुभएको छ ? अब सिधै प्रहरी प्रधान कार्यालयमा रहेको हटलाइन सेवामा तपाइँले उजुरी गर्न सक्नुहुनेछ ।

विभिन्न स्थानमा सर्वसाधारणलाई प्रहरीले नै दुःख दिने गरेको, उजुरी वा गुनासा लिन नमानेको भन्ने मौखिक उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले त्यस्ता गुनासा सुन्नका लागि शुक्रबारदेखि हटलाइनको व्यवस्था गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सर्वसाधारणका गुनासा सिधै सहज ढंगले तत्कालै राख्नका लागि प्रहरी प्रधान कार्यालयले ०१–४४१०१४४ वा निशुल्क नम्बर १११३ मा डायल गर्न सकिने व्यवस्था गरेको जनाएको छ । 

प्रहरी सेवा प्राप्त नभएको खण्डमा, प्रहरी कर्मचारीहरु आफ्नो काम कर्तव्यप्रति उदासिन रही सेवा प्रवाह नगरेमा, जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा वा झुट्टा उजुरी दर्ता गरेमा, व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा, कानुनविपरित थुनामा राखेमा, निर्दोष व्यक्ति पक्राउ परेको सम्बन्धमा, आर्थिक लाभ लिन खोजेमा, पदीय दुरुपयोग गरी अनावश्यक दबाब दिएमा र व्यावसायिक ढंगले प्रहरी आचरण नदेखाएमा उक्त हटलाइनहरुमा उजुरी गर्न सकिनेछ ।

उक्त नम्बरहरुमा जुनसुकै समयमा पनि सहजरुपमा गुनासाहरु राख्न पाइने, सुनुवाईको लागि जिम्मेवार प्रहरी कर्मचारीको व्यवस्था भएको तथा प्राप्त हुन आएका गुनासाहरुलाई सम्बोधन र व्यवस्थापनको लागि सम्बन्धित बिषयमा सम्बन्धित इकाईमा प्रकृयागत रुपमा पठाई उचित कारबाहीको व्यवस्था समेत मिलाईने मुख्यालयले जनाएको छ ।

त्यसैगरी आगामी दिनमा उजुरीपछि भए गरेका काम कारबाही, प्रगति र परिणामबारे एसएमएस वा इमेलमार्फत गुनासोकर्ता सेवाग्राहीलाई जानकारी उपलब्ध गराइने मुख्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०७४  १८:०६
प्रतिक्रिया दिनुहोस्