site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । गएको शुक्रबार प्रहरीले काठमाडौंको लाजिम्पाट र टोखाबाट दुईजना नाम चलेका गुण्डाहरु साजन महर्जन र सञ्जिव लामा (स्याल) लाई पक्राउ गर्यो । 

महर्जन एमाले निकटका हुन् भने लामा नेपाली कांग्रेस निकटका हुन् । उनीहरु दुवैजना पक्राउ पर्नासाथ प्रहरी परिसर टेकुका अधिकारीहरुलाई नेताहरुको फोनको ओइरो लाग्यो । सबैको आग्रह र दबाब थियो– ती गुण्डाहरुलाई छाडिदिनुपर्यो । 

टोले दादाहरुलाई परिचालन गर्ने जिम्मेवारी पाएका गुण्डाहरु चुनावको मुखमा पक्राउ परेपछि दलका नेताहरु उनीहरुलाई छुटाउन लागिपरेका हुन् । प्रहरीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नै गुण्डागर्दीमा संलग्न गुण्डाहरुलाई पक्राउ गर्न थालेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले सयुंक्त रुपमा काठमाडाैंमा गुण्डागर्दीमा संलग्नलाई पक्राउ गर्न अभियान थालेका छन् । 

प्रहरीले गुण्डाहरुको वर्गीकरण गरेर उनीहरुको खोजी सुरु गरेको छ । १६१ जनाको निगरानी गरिरहेको प्रहरीले करिब एक महिनाको अवधिमा ४० जनालाई पक्राउ गरी कुनैलाई सार्वजानिक मुद्दा चलाएर निगरानीमा छाडेको र केही प्रहरी हिरासतमै रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले बताए । 

“पुराना गुण्डाहरु पक्राउ पर्ने डरले लुकेका छन् । उनीहरुले आफ्ना सहयोगीलाई अघि सारेर विभिन्न आपराधिक गतिविधि तथा जबर्जस्ती रकम असुली भएको हामीलाई फाट्टफुट्ट खबर आउँछ,” एसपी कार्कीले बाह्रखरीसँग भने, “पुराना आउटडेटेड गुण्डाको ठाउँमा नयाँ गुण्डा जन्मेका थिए, हामीले काठमाडौंमा कारवाही तीव्र बनाएपछि उनीहरु अहिले गाउँमा पुगेका छन् । काठमाडौंमा प्रहरीले गलत काम गर्नेलाई नछाडेपछि उनीहरुको आँखा अब स्थानीय तह निर्वाचनमा पुगेको छ । प्रहरीको खोजी सूचीमा रहेकाहरु गाउँ गएर मेयर–उपमेयरमा लड्दैछन् भन्ने पनि सुनिएको छ ।”

महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्यांकअनुसार ४० जना गुण्डाहरु पक्राउ परेका छन् । काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका गुण्डाहरुलाई प्रहरीले अनुसन्धान अघि बढाएको छ भने अझै केहीलाई पक्राउ गर्ने तयारी गरेको छ । 

प्रहरीका अनुसार नयाँ बजार क्षेत्रमा बस्दै आएका कर्मा घले, स्वयम्भूमा बस्दै आएका कोर्तो गुरुङ, नयाँ बजार बस्ने ज्याक गुरुङ, कोटेश्वर बस्ने पुनम कार्की, बसुन्धरा बस्ने किशन श्रेष्ठ, बालाजु बस्ने कुमार गोले, नयाँ बजार बस्ने नमु तामाङ, थानकोट बस्ने नानीबहादुर थापा, कलंकी बस्ने सागर थापा मगर र गौशाला बस्ने सबिन खड्कीलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही थालेको छ । 
पक्राउ परेकामध्ये, साजन महर्जन मिलन चक्रे समूहका हुन् । पछि उनले आफैं समूह विस्तार समूहको नाइके बने । त्यस्तै सञ्जिव लामा (स्याल) पनि पहिला गणेश लामा समूहमा थिए, पछि उनले आफ्नो छुट्टै समूह विस्तार गरे । 

त्यसैगरी कर्मा घले, कोर्तो गुरुङ, ज्याक गुरुङलगायतका केही गुण्डाहरु दीपक मनाङ्गे समूहका हुन् । त्यसका अलावा पक्राउ परेका अरु गुण्डाहरु पनि यी ठूला गुण्डाहरुकै चेलाहरु हुन् । 

गुण्डाका तीन गुरु तीनतिर 
काठमाडौंमा गुण्डाहरुको सुरुवात गर्ने तीन जना गुण्डा नाइकेहरु अहिले तीनतिर छरिएका छन् । 
गुण्डाका पहिलो गुरु दीपक मनाङ्गे राप्रपा नेपालको मनाङ जिल्ला अध्यक्ष बनेर गाउँ गएका छन् । स्थानीय तहको निर्वाचनमा उनी व्यस्त छन् । तर पनि प्रहरीले उनीमाथि निगरानी राख्न छाडेको छैन । प्रहरीका अनुसार बेलाबखत उनी काठमाडौं आउँछन् अनि केही दिन बसेर मनाङ फर्कने गरेका छन् ।

त्यस्तै, पहिलो मनाङ्गेको सहयोगी र पछि मनाङ्गेबाट काम सिकेर एक छुट्टै ग्याङ गडा गरेका गणेश लामा विजयकुमार गच्छदारको पार्टीका केन्द्रीय सदस्य हुन् । प्रहरीले उनीमाथि निगरानी बढाएपछि उनी काभ्रेमा बस्दै आएका थिए । प्रहरीका अनुसार दावा गोली काण्डदेखि उनी नेपालमै छैनन् । गोली काण्ड लगत्तै उनले मुलुक छाडेका छन् । 

त्यस्तै, गुण्डा नाईके मिलन गुरुङ (चक्रे मिलन) पनि अहिले चुपचाप बसेका छन् ।  प्रहरीले आफूमाथि निगरानी राखेको थाहा पाएपछि उनी धेरै केटाहरुलाई पनि भेट्दैनन् र कफी सपमा पनि निस्कँदैनन् । 

‘ए’ लेभलका गुण्डाहरू
दीपक मनाङे
मिलन गुरुङ ‘चक्रे’
समिर मानसिंह बस्नेत
बाघबहादुर लामा ‘बाघे’
सुजन पौडेल ‘रमेश बाहुन’
साजन महर्जन
तेजेन्द्र गुरुङ
राजु गोर्खाली
दावा लामा
गणेश लामा

‘बी’ लेभलका गुण्डाहरू
रिनझिन शेर्पा 
निराजन पौडेल
राजेश महर्जन
मानबहादुर तामाङ
भीमराज घले
शोभित तामाङ
राज तामाङ
चन्द्र लामा
सुरेश महर्जन
तेजेन्द्र रायमाझी
निरज लामा
छिरिङ शेर्पा

‘सी’ लेभलका गुण्डाहरू
टेण्डी शेर्पा (राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्य)
राजेश महर्जन श्रेष्ठ
निरज लामा
राजु भण्डारी
हिमाल बस्नेत
शिवा पुन

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १५:०७
प्रतिक्रिया दिनुहोस्