site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका उमेदवारहरुको सुरक्षा चुनौतीलाई मध्यनजर गरी सरकारले विशेष सुरक्षा सतर्कता अपनाइएको बताएको छ । मंगलबार उमेदवारी मनोनयनको प्रक्रिया सुरु भएसँगै उमेदवारको सुरक्षामा गम्भीर भएर लागिपरेको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सरकारले चुनावमा उमेदवारी दिएकाहरुलाई आवश्यक सुरक्षा व्यवस्था मिलाएको बताए । “चुनावी सुरक्षाको व्यवस्था पूर्ण रुपमा मिलाएका छौं । तराईमा भूमिगत संगठन र पहाडमा विप्लव माओवादीको गतिविधिलाई पनि निगरानी बढाएका छौं,” उनले भने, “चुनाव भाँड्ने खालका कुनै पनि गतिविधि देखिए कारबाही हुन्छ । त्यहीअनुसार सरकारले सुरक्षा व्यवस्था मिलाएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उमेदवारी दर्ता गरेकाहरुको सुरक्षामा सरकार जुटिरहेको भन्दै उनले थप सुरक्षा चाहिए सम्बन्धित जिल्लाको सुरक्षा समितिलाई जानकारी गराउन आग्रह गरे । समितिले थप सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाएको प्रवक्ता पन्थीले बताए । 

“सुरक्षा थ्रेटबारे अध्ययन गरेरै सरकारले सुरक्षा व्यवस्था मिलाएको छ, आवशयक परेका खण्डमा थप सुरक्षाकर्मी परिचालन हुन्छन् । चुनाव निष्पक्ष हुन्छ, ढुक्क भएर मतदाता बसे हुन्छ,” प्रवक्ता पन्थीले थपे । 

स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी तराईमा भूमिगत संगठन र पहाडमा विप्लव माओवादीमाथि विषेश सुरक्षा निगरानी थालिएको प्रहरीले बताएको छ । 

उनीहरुले चुनाव भाँड्न सक्ने तथा मानिसलाई त्रसित हुने खालका गतिविधि गर्न सक्ने भन्दै सरकारले विषेश सुरक्षा निगरानी बढाएको गृह प्रवक्ता पन्थीले बताए । 

स्थानीय तहको निर्वाचनमा गाउँ पसेका सहरका गुण्डाहरुलाई पनि प्रहरीले विषेश निगरानीमा राखेको छ । “सहरका लिस्टेट गुण्डाहरु गाउँ गएर चलखेल गर्न सक्छन् । त्यसैले उनीहरुले गलत काम नगरुन् भन्नका लागि हामीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई सजग गराएका छौं,” प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने, “गुण्डागर्दीमा संलग्नहरुले गाउँ गएर छिसिक्कै गरेको थाहा भए कारबाही हुन्छ ।  चुनाव भयरहित वातावरणमा सम्पन्न हुन्छ, चुनावमा गलत गतिविधि गर्ने जो सुकैलाई कारबाही हुन्छ ।”

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०७४  १४:२५
प्रतिक्रिया दिनुहोस्