site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
न्युयोर्कमा कोभिड १९, सामाजिक संस्था र एनआरएन 

विवेक गौतम, न्युयोर्कका नेपाली 
 

 


घरभित्रै बसेको आज ३३ दिन भयो । यो अवधिमा जम्मा दुईचोटि मात्र खाद्यान्न तथा तरकारी किन्न बाहिर गयौं । दुईवटा गाडी लिएर लङ आइल्यान्डमा अस्ति गएर आइयो । तरकारीहरू फ्रिजमा कोचाकोच गरेर राखियो । बाँकी रहेका तरकारीचाहिँ ढोकाबाहिरै राखियो । किनभने अझै पनि बाहिर चिसो छ । अमेरिका मात्र होइन सारा विश्व कोरोना भाइरसविरुद्ध लडिरहेको छ । हामीचाहिँ युद्धबन्दीजस्तो कोठामै बसिरहनुपरेको छ । कसैले हाच्छिउँ गर्यो भने पनि डराउनुपर्ने अवस्था र कोही आफ्नोनजिक आयो भने पनि डराउनुपर्ने अवस्था आएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

झ्यालबाट यसो बाहिर हेर्छु कहिले–काहीं अझै पनि अलिकति घाम लाग्यो वा राम्रो मौसम भयो भने मानिसहरू केटाकेटी, कुकुर आदि लिएर सडकमा निस्कने गरेका छन् । यस्तो क्रियाकलापले राज्यको सामाजिक दूरी कायम राख्ने लक्ष्य पूरा हुँदैन र कोरोना भाइरसको संक्रमण रोक्न सहयोग पुग्दैन । त्यो गर्नै नहुने हेलचेक्र्याईं हो । अहिले हामी न्युयोर्कका गभर्नर एन्ड्र्यु कुमोको दैनिक अपडेट हेरिरहेका हुन्छौं । उनले प्रस्तुत गरेका तथ्यांकअनुसार न्युयोर्कमा नयाँ अस्पताल भर्ना र संक्रमणका दरहरू उच्च विन्दुमा पुगिसकेको छ । यो घट्ने क्रममा पनि छ । सामाजिक दूरी र आइसोलेसन, क्वारेन्टाइन एकदम राम्रोसँग पालना गरेकाले यस्तो नतिजा हासिल भएको हो । 

नेपालीहरूमाझ कोरोना भाइरसको संक्रमण फैलिनुको मुख्य कारण म दुईवटा देख्छु, आफूलाई कोरोना लागेकोबारे अरूलाई नभन्नु र यस्तो अवस्थामा पनि काममा गइरहनु । नेपालीहरूले आफूलाई कोरोना भएको बारे आफूसँगै बस्ने रुममेट र छरछिमेकीलाई पनि भन्दैनन् । भन्यो भने आफ्नो इज्जत नै जान्छ जस्तो गर्ने परिपाटी छ । न्युयोर्कका ती नेपालीहरूलाई मेरो नमन छ जसले आफूलाई कोरोना लागेको बारे सामाजिक सञ्जाल र मिडियामा बताए । यसले गर्दा अरूलाई पनि कोरोना भाइरसबारे जान्ने मौका मिल्यो अनि आत्मविश्वास पनि यसले दिलायो । हाम्रो नेपाली समुदायमा जागिरको विषयलाई लिएर निकै नै ठूलो असुरक्षाको भावना देखिएको छ महामारीको यो समयमा पनि । जागिरमा नगए पनि राज्यले रकम उपलब्ध गराउँछ भन्ने कुरा अझै पनि कतिपयलाई थाहा छैन । उनीहरू ग्यास स्टेसन, लिकर सप र ग्रोसरी स्टोरहरूमा काम गरिरहेका छन् । काममा गएन भने साहु रिसाउला कि भन्ने चिन्ता देखिन्छ उनीहरूमा तर काममा गएकै कारणले आफूसँगै बस्ने वृद्ध रुममेट वा परिवारका अन्य सदस्यलाई सर्छ भन्ने संवेदनशीलता कत्ति छैन । मास्क लगाएर उबर चलाउनेहरू पनि छन् । बेथाले सिकिस्त नबनाएसम्म उनीहरू आफ्नो कामलाई जारी राखिरहेका छन् । यस्तो क्रियाकलापले यदि उनीहरू संक्रमित छन् भने अन्य थुप्रैलाई संक्रमण सारिदिने खतरा छ । 

अहिलेको यो अफ्ठ्यारो समयमा संघ–संस्थाले सरसहयोग गरेका कुराहरू सामाजिक सञ्जालमा बढी नै देख्न पाइन्छ । तर वास्तविक सहयोगभन्दा प्रचार मात्र बढी भयो किजस्तो मलाई लाग्छ । सहयोगमा पनि आफ्नो जिल्लाको, आफ्नो समुदायको हेर्ने चलन छ । म पीडित भएँ भनेर कसैले सहयोग माग्यो भने उसले सहयोग पाउँछ भन्ने ग्यारेन्टी छैन । हालैको घटना म उल्लेख गर्न चाहन्छु, न्युयोर्क बस्ने एकजना दीपेश बजगाईं भन्ने भाइले मास्क नभएर सपिङ गर्न जान पाइनँ भनेर एनआरएनका स्थानीय व्यक्तिलाई फोन गरे । तर, ती प्रतिनिधिले फोन थुप्रैपटक गर्दा पनि उठाएनन् । त्यसैगरी फेरि अर्को घटना सुनाउँछु, न्युयोर्कमा कोभिड १९ लागेर पहिलोपटक बित्नुभएका नेपाली अनिल लिम्बूको परिवारलाई एनआरएनले ३ सय डलर मात्र दियो ।

एनआरएनजस्तो संस्था ठूलो सञ्जाल भएको भनिएको संस्थाले दिने रकम त्यति मात्र हो त ? समुदायमा निकै सक्रिय लिम्बू दाइले एनआरएनकै लागि आर्थिक रूपले पनि पहिले धेरै सहयोग गर्नुभएको थियो होला । तर त्यो सहयोग रकम निकै कम हो । अनि अर्को कुरा बाढी–पहिरो, आपत–विपत जे पर्दा पनि गो फन्डमा गएर पैसा उठाउने भनेर एनआरएन आलोचित छ । अहिले पनि एनआरएनले आफ्नो बानी छाडेन । मानिसहरू जागिर नगरी घरमा बस्नुपरेको अवस्थामा पनि उनीहरूलाई पैसा उठाउन हतार छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १७:२४
प्रतिक्रिया दिनुहोस्