site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । जथाभावी बाटो काट्ने बटुवालाई अबदेखि २ सय रुपैयाँ जरिबाना हुने भएको छ । पैदल यात्रुका कारण सडक दुर्घटना धेरै भएको पाइएपछि सडकमा जथाभाबी बाटो काट्नेलाई ट्राफिक प्रहरीले अबदेखि कारबाही गर्ने भएको हो । 
जेब्रा क्रसबाहेक अन्तबाट बाटो काटेको भेटिएमा यातायात व्यवस्था ऐनको दफा १३६ र १३७ अनुसार २ सय रुपैयाँ जरिबाना तिराउने महानगरीय ट्राफिक प्रमुख डीआईजी मिग्मार लामाले बताए । 

शुक्रबार महाशाखाले पत्रकार सम्मेलनमार्फत अबदेखि जथाभाबी सडक काट्नेलाई कारबाही थालेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा डीआईजी लामाले भने, “उपत्यकामा हुने सडक दुर्घटना र त्यसमा परेर मृत्यु हुने ४० प्रतिशत पैदल यात्रु भएकाले त्यसलाई न्यूनीकरण गर्न जथाभाबी सडक काट्न प्रतिबन्ध लगाउने तयारी गरेको हौं ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पैदल यात्रीलाई फुटपाथबाट हिँडाउने वा आकाशे पुलबाट बाटो काट्न सचेत गराउन यो नियम ल्याएको उनले बताए । उनले भने, “पैदल यात्रुले आकाशे पुल र जेब्रा क्रसिङबाट बाटो नकाटी सवारी साधन गुडाउने सडकमा हिँडेमा कारबाही हुन्छ ।” महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वैशाख १ गतेयता सडकमा जथाभावी हर्न बजाउने ४ हजार १ सय ६४ सवारी चालक कारबाहीमा परिसकेका छन् । सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५ सय रुपैयाँ जरिबाना गर्ने गरेको छ । 

महाशाखा प्रमुख डीआईजी लामा भन्छन्, “हर्न बजाउन निषेध गरे यता उपत्यकाको सडक शान्त छ र सवारी दुर्घटनामा पनि कमी आएको छ । हर्न बजाउनै नपाउने भन्ने हैन । सडकको अवस्था र घुम्ती हेरेर विपरित दिशााबाट सवारी आएको नदेखेमा हर्न बजाउने हो । तर, उपत्यकामा बाटोमा हिँड्नेलाई असर पर्ने गरी हर्न बजाउने प्रवृत्ति भएका कारण जथाभाबी हर्न बजाउनेलाई कारबाही थालिएको हो ।” 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नो हर्न कारबाहीबाट झन्डै २० लाख रुपैयाँ राजश्य उठेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०७४  १७:४५
प्रतिक्रिया दिनुहोस्