site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । गएको शुक्रबार काठमाडौंको म्हैपीबाट ३२ लाख रुपैयाँ लुटियो । इटहरीमा सुन व्यवसाय गर्दै आएका नन्दकुमार विश्वकर्मा र रोशन बोगटीले एक किलो अवैध सुन किन्नका लागि उक्त रकम झोलामा बोकेर सुन बेच्नेले बोलाएको ठाउँमा जाँदै गरेका बेला उक्त रकम लुटिएको थियो । 

पीडितले भने उक्त रकम जग्गा किन्न महाराजगन्जस्थित बैंकबाट निकालेको प्रहरीलाई बयान दिएका थिए । घटनाको भोलिपल्ट महानगरीय अपराध महाशाखाले रकम लुट्ने सरोज श्रेष्ठ, झम्कबहादुर बोहरा, ज्ञानबहादुुर पुरी, सिजन अधिकारी र अन्जन थापालाई पक्राउ गर्यो । 

पक्राउ परेका सिजन अधिकारी रकम लुट्ने योजनाका मुख्य योजनाकार हुन् । उनले यसरी दर्जनौं व्यक्ति र व्यापारीलाई लुटेको प्रहरीको तथ्यांक छ । यसअघि उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले २०७२ असोजमा पनि पक्राउ गरी ठगीको मुद्दा चलाएको थियो । त्यस बेला पनि उनले बोगटी र विश्वकर्मालाई जस्तै गरी काठमाडौंको दरबारमार्गमा व्यापार गर्ने एकजनालाई १२ लाख ठगेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरी अधिकारीका अनुसार पेसाले उनीहरु काठमाडौंका विभिन्न रेस्टुरेन्टमा काम गर्ने व्यक्ति हुन् । होटलमा काम छाडेर उनीहरु एकाएक नक्कली सुन देखाएर रकम ठगी गर्ने कार्यमा लागे र केहीलाई ठगे पनि । उनीहरुले काठमाडौंका केही व्यापारीलाई नक्कली सुनका ढिक्का देखाउँदै लाखौं रकम ठगी गर्न थालेको धेरै समय भइसकेको प्रहरी अधिकारीहरु बताउँछन् । भारतबाट मिस्त्री नै बोलाएर काठमाडौंमा राखी उनीहरुले बाहिर सुन, भित्र फलाम हाल्दै सुनजस्तै गरी धेरै व्यापारीलाई ठगी गरेका छन् । 

महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक भरत थापा भन्छन्, “पक्राउ परेका अधिकारीलगायत अभियुक्तहरु पटके ठग हुन् । उनीहरुको धन्दा नै यही हो– नक्कली सुन देखाउने, पैसा जम्मा गर्न लगाउने अनि सुन लिन आऊ भन्दै बाटोमै पैसा लुट्ने ।” थापाका अनुसार उनीहरुबाट पीडित बनेका धेरैले उजुरी गर्न अप्ठ्यारो मान्छन् ।

अवैध सुन किन्ने रहेछ भनेर थाहा होला भन्दै पीडितहरु डराएर खबर गर्दैनन् । पीडितले खबर नगरेपछि उनीहरुको धन्दा झनै फस्टायो । उनका अनुसार उनीहरुले भारतबाट मिस्त्रीनै बोलाएर मेसो नपाउने गरी नक्कली सुन बनाउन लगाउने र ठगी गर्ने गरेका छन् । 

०७३ असोजमा गोरखाका सिजन अधिकारी, काभ्रेका ज्ञान लामा र सरोज लामाको गिरोहबाट १२ लाख ठगिएका एक व्यापारी भन्छन्, “चिनेकै केटाहरु हुन् । माडेसँग चोरेको सुन छ, सारै आपत् पर्यो, कि बेचिदिनुपर्यो, कि २ दिनलाई यो सुन राखेर १२ लाख दिनुपर्यो भन्दै आए । मैले पनि होला त नि भनेर सुन राखेर पैसा दिएँ । त्यसपछि केटाहरु फर्केरै आएनन् । यसरी ठगिने मजस्ता अरु थुप्रै छन् । तर, लाज हुने भएका कारण ठगिएका व्यापारी मौन बस्छन् ।”

ठगका अनेक दाउ 

२०७२ वैशाख २१ गते दिउँसो दोलखाको भीमेश्वर नगरपालिका–७ जिलुकी मेनुका चौलागार्इंको कपडा पसलमा दुई जना ग्राहक आए, कपडा किन्न खोजे तर मोल मिलेन र फर्केर आए । फेरि साँझ तिनै व्यक्ति आए, सामान किने अनि मेनुकासँग चिनजान पनि गरे । कुरैकुरामा उनीहरुले आफूसँग सुन रहेको र त्यसको कारोबार मिलेर गर्न मेनुकालाई अफर गरे ।

‘भूकम्पताका चीनबाट ल्याएको सुन साथीसँग छ । त्यो बेच्नुपर्ने छ, तर त्यो साथीबाट सुन ल्याउन १५ लाख रकम चाहिन्छ’ भन्दै उनीहरुले १५ लाख रुपैयाँ फुत्काए । केही दिनमा सुन लिएर आउने बाचा गरेर हिँडेका उनीहरु फर्केर आएनन् । 

मेनुकाबाट १५ लाख ठगी गरेको उक्त समूहले दोलखाकै एक अर्का व्यापारी ठग्न खोजेको थियो । तर, त्यो कुरा मेनुकालाई थाहा भयो र ती व्यापारी ठगिनबाट बचे । त्यसपछि सिन्धुपाल्चोक गाती–७ का दावा ग्याल्जेन शेर्पा, गोपाल श्रेष्ठ तथ बाह्रबिसे–४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठलाई प्रहरीले पक्राउ गर्यो । 

२०७३ असार २९ गते काठमाडौंको पुरानो बसपार्कमा पनि नक्कली सुन देखाएर सक्कली सुनका गहना लिएर एक व्यक्ति फरार भएका थिए । सिन्धुपाल्चोक चौताराकी २९ वर्षीया लक्ष्मी थापालाई एक अपरिचित व्यक्तिले एक किलो नक्कली सुन देखाएर दुई तोलाबराबरको सक्कली सुनका गहना लिएर फरार भएका थिए । फरार व्यक्ति अहिले पनि पक्राउ पर्न सकेका छैनन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४  १२:३१
प्रतिक्रिया दिनुहोस्