site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योग वाणिज्य महासंघको साधारणसभा अन्योलमै, चुनाव कहिले चाहन्छन् उमेदवार ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा कहिले हुने अझै अन्योल छ । गत चैतमा हुनुपर्ने साधारणसभा कोडिभ १९ का कारण पटक-पटक सर्दै अनिश्चित बनेको छ ।

साधारणसभाको अनिश्चितता हटाउन महासंघले चुनावको मोडालिटीबारे अध्ययन गरेर सुझाव दिन एक समिति गठन गर्‍यो । उक्त समितिले महासंघलाई तीनवटा मोडालिटीसहितको सुझाव दिइसकेको छ । अब सोही मोडालिटीलाई आधार बनाएर महासंघले चुनावको तयारी गर्नेछ । तर, कहिले भन्‍ने टुंगो लागिसकेको छैन । 

समितिले दिएको मोडालिटीबारे छलफल गर्न महासंघको पदाधिकारीको बैठक बस्‍ने अध्यक्ष भवानी राणाले बताइन् । “दुई-तीन दिनभित्र पदाधिकारी बैठक बोलाउँछु । बैठकमा समितिले दिएको मोडालिटीबारे छलफल गरेपछि सरकारबाट पनि अनुमति लिएर मात्रै कार्यसमितिले मिति तोक्छ,” उनले भनिन्, “जति सक्दो छिटो चुनाव गर्ने पक्षमा छौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि पदाधिकारीको बैठकमा मोडालिटीका विषयमा छलफल हुने बताउँछन् । “समितिले सुझाव दिइसकेको छ । अहिलेको यो स्थितिमा के सम्भव छ, के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्छौं । त्यसपछि सरकारसँग पनि छलफल गर्नुपर्‍यो भने पनि गर्छौं,” उनले भने । 

यस्तो छ प्रस्तावित मोडालिटी 
समितिले चुनावी प्रयोजनका लागि तीनवटा मोडालिटी अगाडि सारेको छ । वार्षिक साधारणसभाको उद्घाटन, बन्दसत्र र समापन भर्चुअलमार्फत गर्ने भनिए पनि निर्वाचनका हकमा भने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर सबै क्षेत्र (जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष रुपमा काठमाडौंमा, जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा र सबै क्षेत्रको कम्प्युटराइज/ई-भोटिङमार्फत गर्न सकिने तीनवटा मोडालिटी सुझाइएको छ । 

अनलाइन भोटिङको सम्भावना न्यून
समितिले अनलाइन भोटिङबाट पनि महासंघको चुनाव गर्न सकिने सुझाव दिए पनि यसको सम्भावना न्यून छ । कतिपय पदाधिकारी एवं सदस्यहरू अनलाइन भोटिङको पक्षमै छैनन् भने अनलाइन भोटिङ गर्न महासंघको विधानमा पनि व्यवस्था छैन । त्यसैले पनि अनलाइन भोटिङको सम्भावना कम छ ।

उमेदवारका प्रत्यासी कहिले चाहन्छन् चुनाव ?

महासंघको आगामी वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उमेदवारी घोषणा गरेका छन् । ढकालको प्यालनबाट जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई छन् । यसैगरी प्रधानको टिमबाट जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति छन् । 

वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधान र ढकाल कार्यसमितिले नै साधारणसभाको मिति तय गर्ने बताउँछन् । तर, जति सक्दो छिटो साधारणसभाको पक्षमा आफूहरू रहेको प्रधानले बताए । “हामी जतिसक्दो छिटो गर्ने मनस्थितिमा छौं । यति लामो जान्छ भनेर हामीले सोचेका पनि थिएनौं,” उनले भने, “संक्रमितको संख्या पनि ५० हजार पुग्न लागिसकेको छ । यो परिस्थितिलाई ध्यानमा राखेर कार्यसमितिबाट उपयुक्त निर्णय गर्छौं ।” 

यता, ढकाल भने पहिले नै महासंघको विधानअनुसार समयमै गरौं, गर्न सकिन्छभन्दा आफूलाई चुनाव गर्न हतार गर्‍यो भन्‍ने आरोप लागेको बताए । “मैले पहिला नै सुरक्षित गरेकाले साधारणसभा गरौं भनेकै थिएँ । अहिले समितिले सुझाव दिँदा पनि त्यहीअनुसार सुझाव आएको देखिन्छ । मैले पहिलादेखि भन्दै आएको कुरा ठीक रहेछ भन्ने अहिले देखिएको छ,” उनले भने । उनले साथीहरूले जहिले भन्छन्, त्यहिले नै आफू चुनावको पक्षमा रहेको र आफूलाई हतार नभएको बताए । “त्यति बेला मैले उठाएको कुराको विरोध गर्ने साथीहरू पनि अहिले त्यसैमा सहमत भएको देखिन्छ । जसरी गरे पनि महासंघलाई सिस्टममा लैजानुपर्छ भनेकै थिएँ,” उनले भने, “मैले पहिला जे भनेको थिएँ, अहिले प्रायः सबैको एजेन्डा त्यही भएको छ ।”

मोडालिटीको विषयमा प्रधानले अनलाइनबाट भोटिङ हुनै नसक्ने बताए । “कुनै पनि हालतमा अनलाइनको सम्भावना छैन । प्रत्यक्ष निर्वाचन नै काठमाडौंमा वा प्रदेश स्तरमा गर्ने विकल्प छ तर अनलाइन हुन सक्दैन,” उनले भने । सबैलाई काठमाडौंमा बोलाएर नै निर्वाचन गर्ने वा प्रदेशमा गर्ने भन्ने निर्णय कार्यसमितिले निर्णय गर्ने उनको भनाइ छ । 

समितिले दिएको मोडालिटीको विषयमा छलफल गर्न सकिने ढकालले बताए । “मिति र मोडालिटीको विषयमा कार्यसमितिले जे निर्णय गर्छ, त्यसमै मेरो पनि समर्थन रहन्छ,” उनले भने । 

महासंघको अब बस्ने पदाधिकारी बैठकले सकेसम्म असोज मसान्तभित्र वा दसैंलगत्तै साधारणसभा प्रस्ताव गर्ने प्रस्ताव लैजाने छ । पदाधिकारी बैठकले समितिको मोडालिटीमा छलफल गरेर सरकारबाट अनुमति पाएपछि मात्रै मिति तय गर्ने एक पदाधिकारीले बताए । महासंघले मिति तोक्दैमा हुँदैन । 

काठमाडौंमा गर्ने भए गृह मन्त्रालयको र प्रदेशमा गर्ने भए प्रदेश सरकारको अनुमति लिनुपर्ने हुन्छ । तर एक पदाधिकारीका अनुसार महासंघको चुनाव अझै दुई महिनायता हुन गाह्रो देखिएको बताउँछन् । “अहिले पनि कोरोना संक्रमण बढ्दो छ । प्रत्यक्ष निर्वाचन गर्न अहिले पनि गाह्रो छ । त्यसैले अझै एक/दुई महिना सर्न सक्ने मैले देखेको छु । कोभिड १९ का कारण अहिले पनि हामी अन्योलमै छौं ।”

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १४:२८
प्रतिक्रिया दिनुहोस्