site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चीनबाट सामान ल्याउन कठिनाइ : व्यवसायीको गुनासो- एउटा गाडीका लागि एजेन्टले ९ लाख रुपैयाँसम्म लिए

काठमाडौं । विगतका दसैंमा कारोबार गर्न व्यापारीहरूलाई भ्यान-नभ्याई हुन्थ्यो । सामान खरिदका लागि उपभोक्ताहरूको पनि त्यस्तै भिड हुन्थ्यो । तर, यसपटक अवस्था फरक छ । कोरोना महामारीका कारण उपभोक्ता सहजै बजारमा जान सकिरहेका छैनन् त व्यापारी सामान ल्याउन नपाएर निराश छन् । भारततर्फका नाकाबाट अलिअलि सामानहरू आइरहे पनि उत्तरी छिमेकी चीनसँगको नाकाबाट सामान ल्याउन कठिनाइ भएको व्यापारी बताउँछन् ।

चीनतर्फको तातोपानी भन्सार बन्दै (ठप्पै) छ भने रसुवा भन्सारबाट पनि निकै कम मात्रामा सामान आइरहेको व्यवसायीले बताए । नेपाल चेम्बर अफ कमर्सका भन्सार समिति सभापति नीरज राईले नेपालको परराष्ट्र र वाणिज्य मन्त्रालयले समन्वय नगरिदिँदा सयौं गाडी सामान रोकिइरहेको बताए । “सात महिनादेखि सामान आएको छ । कतिपय सामान त कुहिसके भने कतिपय सामानको डेट एक्सपाएर पनि भयो होला । हामी निकै तनावमा छौं,” उनले भने ।

दसैंका बेला बढी व्यापार हुने गरेपछि सामान ल्याउनै गाह्रो भएको उनले बताए । आ-आफ्नो सामान छिटो ल्याउन खोज्दा चिनियाँ एजेन्टले बढी पैसा लिने गरकेो उनले बताए । “चिनियाँ एजेन्टले एउटै गाडीका लागि ९ लाख रुपैयाँसम्म लिएका छन् । जो-जोले छिटो सामान ल्याउन खोज्छन्, ती व्यापारीसँग नौ लाख रुपैयाँसम्म लिएर एजेन्टले लाइनमा राखिदिने गरेका छन्,” उनले भने, “हामीले यसबारे पटक-पटक परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालयको ध्यानाकर्षण गराएको छौं तर केही पहल भएको छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चीनले अघोषित रुपमा नाकाबन्दी नै गराएको उनले आरोप लगाए । “चैतअघि दैनिक ६०/७० गाडी सामान आउँथ्यो । कोरोनाका कारण सात महिनासम्म बन्द भयो । दसैंका बेलामा सामान ल्याउन पनि पाइएको छैन । अहिले रसुवाबाट दैनिक १२/१५ वटा गाडी मात्रै आएका छन्,” उनले भने ।

रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम थापाले दैनिक १२/१५ वटा गाडी सामान आएको बताए । उनले स्वास्थ्य प्रोटोकल अपनाएर काम गर्दा सामान आउन ढिलाइ हुने गरेको बताए । “हामीले जति सामान आएका छन्, दिन-रात नभनी छाडेका छौं,” उनले भने, “यता (चीनतर्फ) बाट धेरै अगाडिबाट आएका छैनन् ।”

व्यापारीहरूको प्रतिस्पर्धाका कारण व्यापारीहरूले नै समस्या पाइरहेको पनि उनले बताए । “कसको सामान पहिला ल्याउने भनेर व्यापारीबीच प्रतिस्पर्धा चलको छ । आफ्नो सामान ल्याउन व्यापारीले एजेन्टलाई पैसा दिएको पनि सुनिएको छ,” उनले भने । सामान ल्याउन व्यवसायीले चीनतर्फ नै बढी संघर्ष गर्नुपरेको उनले बताए । तर, त्यसमा व्यापारीको पनि दोष देखिन्छ । आफ्नो सामान छिटो ल्याउन एजेन्टलाई पैसा दिन बाध्य भएको व्यापारीले नै बताएका छन् ।

व्यवसायी राई चीनतर्फको समस्या कारण व्यवसायी डुब्ने अवस्थामा पुगेको बताए । चीनले आफ्नो भूमिमा सामान ल्याउन दिने तर नेपाल पठाउन अनेक बहानावाजी गर्दै आएको छ, त्यसबारे हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि केही पहल नभएको उनले गुनासो गरे । “चीनले हामीलाई सामान बेच्यो तर नाकामा ल्याएर नेपाल पठाउन रोकिरहेको छ । यस्तो अवस्थामा पनि सरकारले केही पहल गरिदिएन,” उनले भने ।

तातोपानी नाका बन्दै (ठप्पै)
यता, तातोपानी नाका बन्दै भएको छ । गत असोज १८ गतेदेखि खुला गरिएको यो नाकामा नेपालबाट चीनतर्फ पठाइएका नेपाली कामदारमध्ये केहीलाई कोरोना पोजेटिभ भएपछि यो नाका पुनः बन्द भएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्री नाका खुलाउन प्रयास भइरहेको बताउँछन् । “अहिले नाका बन्द छ । उताबाट सामान आएको छैन । सकेसम्म दसैंअगाडि नै नाका खुलाउन लागि परेका छौं,” उनले भने । दसैंमा खुला हुन नसके दसैंलगत्तै खुला हुने उनले बताए । “नाका खुला गर्ने सहमति भइसकेको छ । अब खुलाउन लागिपरेका छौं,” उनले भने ।

व्यापारीका अनुसार तातोपानी क्षेत्रमा हजारभन्दा बढी गाडी अलपत्र परेका छन् । त्यस्तै रसुवा भन्सार पारि पनि आठ सयभन्दा बढी गाडी अलपत्र परेको व्यवसायीले बताएका छन् ।

सामानै कम आएपछि रसुवा भन्सार कार्यालयले राजस्व पनि उठाउन सकेको छैन । भन्सार प्रमुख थापाका अनुसार गत असोजमा एक अर्ब १३ करोड राजस्व असुल गर्ने लक्ष्यमा २४ करोड मात्रै असुल भएको बताए । गत वर्ष यो भन्सार कार्यालयले दसैंको एक महिनामा एक अर्ब ५० करोड राजस्व संकलन गरेको थियो । कात्तिक लागेपछि पछिल्लो दुई दिनमा पाँच करोड राजस्व उठेको उनले जानकारी दिए ।

-फाइल तस्बिर

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्