site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मानहुँकोटमा केबलकारसहितको रिसोर्ट बनाउने प्रस्ताव, लगानी ४ अर्ब

काठमाडौं । तनहुँको मानहुँकोटमा केबलकार, जिपलाइनसहित रिसोर्ट बनाउने प्रस्ताव परेको छ । व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा उद्योगी आनन्द बतास समूहले करिब ४ अर्बको लगानी गर्ने गरी यस्तो प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावपछि व्यास नगरपालिकाले विस्तृत परियोजना रिपोर्ट (डीपीआर) का लागि स्वीकृत प्रदान गरिसकेको छ । 

नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले करिब चार अर्ब लगानी गर्ने गरी व्यास हिल्सको नाममा प्रस्ताव परेको बताए । “स्विमिङ पुलसहितको रिसोर्ट, जिपलाइन, केबलकार बनाउने प्रस्ताव आएको छ । हामीले डीपीआरका लागि अनुमति दिएका छौं,” उनले बाह्रखरीसँग भने । कम्पनीले पाटनबाट मानहुँकोटसम्म जिपलाइन एवं केबलकार बनाउने प्रस्ताव छ । कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र केही जग्गा लिजमा दिनको लागि पनि नगरपालिकासँग प्रस्ताव गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनीले ४० रोपनी लिजका लागि माग गरेको छ । “उहाँहरूले कति जग्गा किन्न सक्नुहुन्छ, त्यसमा भरपर्छ । हामी केही जग्गा भाडामा दिन्छौं र वार्षिक कर लिन्छौं,” मेयर न्यौपानेले बताए । कम्पनीले विस्तृत परियोजना रिपोर्ट दिएपछि स्वीकृतिका लागि संघीय सरकारसँग पनि कुराकानी गर्ने उनले बताए । “हामीले मात्रै दिएर हुँदैन संघीय सरकारको पनि स्वीकृति चाहिन्छ,” उनले भने । 

कम्पनीले ग्लास पुल अर्थात् ‘सिसाको पुल’ बनाउने प्रस्ताव गरेको पनि उनले जानकारी दिए । मानहुँकोटमा जिपलाइनका लागि यसअघि पनि प्रस्ताव गएका थिए तर लगानीकर्ताले त्यसलाई निरन्तरता दिएनन् । मेयर न्यौपानेका अनुसार यो आकारको लगानीका लागि पहिलोपटक प्रस्ताव आएको हो । यस्तै २/३ वर्षअगाडि एक कम्पनीले केबलकारको पनि प्रस्ताव गरेको थियो तर त्यसले काम नै अगाडि बढाउन नसकेको उनले बताए । 

लगानीकर्तालाई आकर्षित गर्छौं
मेयर न्यौपानेले व्यास नगरपालिकाको विकासका लागि लगानीकर्तालाई आकर्षित गर्ने कानुन बनाइरहेको बताए । “नगरपालिकामा लगानीकर्ताको आकर्षण आउनु राम्रो पक्ष हो । हामीले उद्योगमैत्री ढंगबाट निजी लगानीकर्तालाई 
आकर्षित गर्ने गरी कानुन बनाइरहेका छौं,” उनले भने । उनका अनुसार नगरपालिकाले सार्वजनिक निजी साझेदारी नियमावली पारित गरिसकेको छ । “नगरपालिकाले मात्रै सबै किसिमको विकास गर्न सक्दैन । लगानीकर्ता जलविद्युत्‌तिर आकर्षित भएका थिए अहिले पर्यटन उद्योगतर्फ लागेका छन्,” उनले भने, “यो व्यास नगरपालिकाको विकासको टर्निङ पोइन्ट पनि हुन सक्छ ।”

व्यास नगरपालिकाको विकासका लागि गुरुयोजना पनि बनाइरहेको मेयर न्यौपानेले बताए । उनका अनुसार गुरुयोजना अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १३:४३
प्रतिक्रिया दिनुहोस्