site stats
बाह्रखरी :: Baahrakhari
देश
यस वर्षको जाडो याममा कस्तो रहला वायु प्रदूषण ?
फाइल तस्बिर

काठमाडौं । अबको करिब एक महिनापछि जाडो याम उच्च बिन्दुमा पुग्ने छ । यद्यपि देशभरको तापक्रम घटेर जाडो सुरु भइसकेको छ । 

जल तथा मौसम विज्ञान विभागले गत वर्षभन्दा यसवर्ष बढी जाडो हुने अनुमान गरेको छ । यस वर्ष धेरै जाडो महसुस गराउने लानिङ्ग्या प्रणाली क्रियाशील रहेको विभागले जनाएको छ । एल्निङ्ग्या प्रणालीमा परिवर्तन हुँदा जाडोको महसुस कम र लानिग्या प्रणालीमा हुँदा जाडो बढी महसुस हुने गर्छ । 

जाडोसँगै छिमेकी राष्ट्र भारतमा वायुप्रदूषण बढेकाले नेपालमा पनि वायुप्रदूषण बढ्नसक्ने सम्भावना पनि उत्तिकै छ । वातावरण विभागका उपमहानिर्देशक ईन्दुबिक्रम जोशी जाडो बढ्दा वायु प्रदूषण बढ्ने बताउँछन् । मानिसहरूले जाडो छल्न दाउरा, प्लास्टिकजन्य पदार्थ, पराल आदिको प्रयोग गर्ने भएकाले प्रदूषण बढ्ने उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘‘मानिसले न्यानोका लागि आगो बाल्ने क्रममा दाउरा, प्लास्टिकजन्य पदार्थ, पराल, इन्धनजन्य पदार्थ, विद्युतीय उपकरण अत्यधिक प्रयोग गर्छन् । जसले गर्दा बर्सेनि आगलागीका घटना, मानवीय एवं जनधनको क्षति हुनुका साथै वातावरण प्रदूषित हुने गरेको छ,” उनले भने, ‘‘विद्युतीय सवारी साधनको प्रयोग गर्नुको साटो अझै पनि इन्धनबाट चल्ने सवारी साधनको प्रयोगका कारण र प्लास्टिक जन्य सामग्रीहरू जलाउँदा वायुप्रदूषण तीव्र गतिमा बढ्दै गएको छ ।”

विभागका अनुसार अत्यधिक वायुप्रदूषण बढेको बेला लगातार दुई दिनसम्म पानी पर्दा वायुप्रदूषण कम हुँदै जान्छ । काठमाडौं उपत्यकाको हकमा अत्यधिक सवारी साधन, औद्योगिक क्षेत्र र वरिपरी डाँडाले ढाकिएको उपत्यका कचौरा आकारको भएकाले बढी वायु प्रदूषण हुन्छ ।

‘‘यहाँ जाडो महिनामा हावा चल्न पाउँदैन । डाँडाकाँडाका गाउँहरूमा आगलागी हुँदा उपत्यकाको आकासमा धुँवाधुलो जम्मा हुने गर्छ । औद्योगिक कलकारखानाहरू अत्याधिक मात्रामा सञ्चालन हुने हुँदा पनि वायु प्रदूषण हुने गर्छ,” महानिर्देशक जोशीले भने ।

नेपाल सरकारले निर्धारण गरेको वायु गुणस्तर मापन एक्यूआई ३०० कटेमा मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । केही दिनयताको वायु गुणस्तर मापन एक्यूआई १८९ सम्म पुगेको छ । अब जाडो यामसँगै यो क्रम बढ्दै जाने वायु प्रदूषण मापन केन्द्रले जनाएको छ ।

एक्यूर्आ ३०० पुगेको खण्डमा वायु प्रदूषण भएर दमका रोगी, फोक्सो, मुटुरोगका विरामीहरूलाई गम्भीर असर पर्ने गरेको विज्ञहरूले बताउँदै आएका छन् । योसँगै समयभन्दा अगाडि नै बच्चा जन्मिने, जन्मजात अपांग जन्मिने र बच्चाहरूको मृत्युसम्म हुने गरेको विज्ञहरू बताउँछन् ।

जाडो मौसममा वायु प्रदूषण अत्याधिक बढ्ने हुँदा प्रदूषण घटाउन विभिन्न योजनाहरू तर्जुमा गरे पनि वायुप्रदूषणका क्षेत्रमा प्रभावकारी भूमिका खेल्न नसक्दा कैयौँ मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् ।

जल तथा मौसम विभागका वरिष्ठ मौसमविद् बरुण पौडेल मौसमको अवस्था हेरेर वायुप्रदूषणको विश्लेषण गर्न सकिने बताउँछन् । ‘‘यतिबेला वायुमण्डल स्थिर छ । मौसममा कुनै न्यून चापीय प्रणाली देखिएको छैन । जाडोयाममा वर्षा हुने सम्भावना कम छ । यद्यपि वर्षा भएको बेलामा वायुप्रदूषण घट्छ । यस आधारमा पनि प्रदूषण बढ्दै जान्छ,” पौडेले सुनाए । 

वातावरण विभागले वायुप्रदूषण रोक्ने प्रयासहरू गर्दै आए पनि विभाग एक्लैले प्रदूषण रोक्न नसक्ने जनाएको छ । प्रदूषण रोक्न विद्युतीय सवारी साधन सञ्चालन गर्ने, आगलागी नियन्त्रण गर्ने लगायतका योजनाहरू रहेका छन् । 

यस्तै, वातावरण प्रदूषणलाई ध्यानमा राख्दै ०७८ साउन १ गतेदेखि लागु हुनेगरी प्लास्टिक जन्य पदार्थहरूबाट हुने वातावरण प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन आयात तथा बिक्री वितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइसकेको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०६:४०
प्रतिक्रिया दिनुहोस्