site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं आएका जनप्रतिनिधि भन्छन्– सरकारले खाद्यान्न ढुवानी नगरेसम्म हुम्ला फर्किदैनौँ

काठमाडौं । हुम्लाबाट भोकमरीको पीडा बोकेर काठमाडौं आएका जनप्रतिनिधिले सरकारले खाद्यान्न ढुवानी नगरेसम्म घर नफर्किने बताएका छन् । सरकारले हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी गाउँमा खाद्यान्न ढुवानी नगरेको उनीहरूको गुनासो छ । 

हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर लामाले आफ्नो गाउँमा खाद्यान्न ढुवानी नभएसम्म काठमाडौंबाट नफर्किने बताए । तर, सरकारले भने आगामी सोमबार मात्रै ढुवानी गर्ने बताएको छ । पटकपटक ढुवानी मिति सारिएकाले त्यसमा पनि शंका रहेको उनले बताए । 

“पहिले शुक्रबार खाद्यान्न ढुवानी गर्ने भनेको थियो । अहिले आएर सोमबार मात्रै ढुवानी गर्ने भनिएको छ । सरकारले मेरो गाउँको लागि खाद्यान्न ढुवानी गरेमात्रै गाउँ जान्छु  । सरकारले खाद्यान्न ढुवानी गर्न ढिलासुस्ती गरिरहेको छ । केही गडबड हुने सम्भावना पनि उत्तिकै छ,” लामाले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वडाध्यक्ष लामाकाअनुसार गाउँदेखि चारदिन लगाएर सदरमुकाम पुगेका ३० जना स्थानीयलाई खाद्यान्न ढुवानी हुने ठाउँ हिल्सा पठाइएको छ । ‘‘हिल्सामा खाद्यान्नको पर्खाइमा तीनजना स्थानीय छन् । यता सरकारले खाद्यान्न ढुवानीमा ढिलासुस्ती गरिरहेको छ । काठमाडौं आएको पाँच दिन भइसक्यो,” उनले भने ।

३० जना स्थानीय वडाध्यक्ष लामासँगै पाँच हजार मिटर उचाइमा पर्ने न्यालुलेकमा जमेको तीन फिट हिउँ पन्छाउँदै चारदिनको जोखिमपूर्ण यात्रापछि सदरमुकाम सिमिकोट पुगेका थिए । 

गाउँमा खाद्य संकट भऐपछि गत सोमबार नाम्खा गाउँपालिकाका वडाध्यक्ष लामा र संघीय सांसद छक्कबहादुर लामा काठमाडौं आएका थिए । मंगलबार अर्थ मन्त्रालय र गृह मन्त्रालय पुगेर उनीहरूले तत्काल खाद्यान्न ढुवानी गरिदिन आग्रह गरेका थिए ।

वडाध्यक्ष लामाकाअनुसार अहिलेसम्म अर्थमन्त्री र गृहमन्त्रीसँग प्रत्यक्ष भेट हुन पाएको छैन । त्यसैले पनि खाद्यान्न ढुवानीमा ढिलासुस्ती भइरहेको वडाध्यक्ष लामाको बुझाइ छ । सरकारले हुम्लाको भोकमरीलाई गम्भीर समस्याका रूपमा नलिएको उनको गुनासो छ । 

‘‘गाउँमा कसरी भोको पेट भरिरहेका छन् जनताले ? हिउँ छिचोल्दै चारदिन लगाएर सदरमुकामसम्मको यात्रा गर्ने रहर कहाँ थियो । बाध्यताले सदरमुकाम आएका थियौँ । सदरमुकामकै खाद्य संस्थानमा चामल सकिएको रहेछ । त्यसपछि गाउँ नफर्किएर काठमाडौंसम्म आउनुपर्‍यो,” आक्रोश पोख्दै उनले भने । 

वडाध्यक्ष लामाकाअनुसार बिहीबार गृह मन्त्रालयले खाद्यान्न ढुवानी गर्नका लागि हेलिकप्टरको व्यवस्था मिलाउन रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । 

अहिले नेपाल सरकारले भन्दा पनि चीनले राहत स्वरूप पठाएको खाद्यान्नले गाउँका मानिसहरूले गुजारा गरिरहेको बताए । गएको कार्तिकमा चीनले ४ हजार ५०० बोरा मैदा र करिब ८०० बोरा चामल पठाएका थियो । 

‘‘यो राहत स्वरूप दिएको खाद्यान्न हिल्सामै थन्किएको छ । गाउँसम्म पुग्न सकेको छैन । मंगलबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय हुम्लालाई चीनले सहयोग गरेको राहत गाउँ पुर्‍याउन निर्देशन दिएको थियो । अहिलेसम्म हिल्साबाट गाउँमा खाद्यान्न पुग्न सकेको छैन,” लामाले भने ।
 
जिल्ला प्रशासन कार्यालय हुम्लाले भने खाद्यान्न ढुवानी गर्न तयारी अवस्थामा रहेपनि हेलिकप्टर नआएकाले ढुवानी गर्न नसकिएको बताएको छ । प्रशासनका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यकाअनुसार गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर शुक्रबार पठाउने भनेको थियो । 

‘‘के कारणले शुक्रबार हेलिकप्टर नपठाउने भएछ । गृहले स्वीकृति दिएअनुसार खाद्यान्न पुर्‍याउन सबै तयारी गरिसकेका छौँ । गाउँदेखि चारदिन हिडेर आएका स्थानीयलाई खाद्यान्न ढुवानी हुने ठाउँ हिल्सा पठाइएको छ । नेपाली सेनाले सोमबार मात्रै हेलिकप्टर पठाउने भनेको छ । त्यसपछि मात्रै नाम्खा ६ मा खाद्यान्न पुर्‍याउने छौँ,” प्रजिअ आचार्यले भने । 

हुम्ला पठाइने चामल धनगढी, सुर्खेत, नेपालगन्ज गोदाममा थन्किएपछि जिल्ला सदरमुकाम सिमिकोटमै खाद्यान्न अभाव भएको छ । सदरमुकाममै चामलको अभाव हुन थालेपछि आसपासका गाउँमा पनि भोकमरीको समस्या देखिन थालेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्