site stats
बाह्रखरी :: Baahrakhari
देश
वर्षौंदेखि प्रतीक्षारत लाखौँ सेवाग्राहीले कहिले पाउँछन् स्मार्ट लाइसेन्स ? 

काठमाडौं । यातायात व्यवस्था विभागले डेढ वर्षपहिले खरिद गरेको स्मार्टकार्ड आएको एकसाता भयो । वर्षौदेखि प्रतीक्षारत लाखौँ सेवाग्राहीले स्मार्ट लाइसेन्स नपाउँदा रसिदकै भरमा सवारी चलाउन बाध्य छन् । 

विभागले केही दिनमै स्मार्ट लाइसेन्स छाप्न सुरु गर्ने बताउँदै आए पनि अहिलेसम्म सुरु गर्न सकेको छैन । पहिलो चरणको कोरोना महामारीपछि स्मार्ट लाइसेन्स वितरण नहुँदा ७ लाखभन्दा बढी सेवाग्राहीले लाइसेन्स पाउन सकेका छैनन् । विभागका महानिर्देशक नमराज घिमिरे सम्भव भएसम्म अर्को सातादेखि सहजै स्मार्ट लाइसेन्स वितरण गर्ने गरी तयारी भइरहेको बताउँछन् । 

‘‘१४ लाख स्मार्टकार्ड मंसिर ८ गते आइपुगेको छ । आज ल्यावटेष्टका लागि पठाउँछौँ । यसमा स्मार्टकार्डको क्वालिटी चेक हुन्छ । यसमा केही समय लाग्ला । त्यसपछि छपाइ सुरु गरेर वितरण थाल्छौँ । सम्भवतः अर्को सातादेखि वितरण सुरु गर्छौं,” महानिर्देशक घिमिरेले भने ।
 
विभागले लाइसेन्स वितरणमा पहिलेजस्तो समस्या पटक–पटक दोहोरिन नदिन गृहकार्य गरिरहेको जनाएको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागले वितरण गर्दै आएको स्मार्ट लाइसेन्सको सर्भर भारतीय मुद्रास प्रिन्टस कम्पनीले नियन्त्रण गर्छ । उक्त सर्भर आफ्नो मातहत ल्याएर विभागले नै नियन्त्रण गर्ने तयारी छ । 

लामो समयदेखि उक्त सर्भरमा विभिन्न प्राविधिक समस्या देखा पर्दै आएका छन् । जसका कारण विभागबाट प्रदान हुने सेवा बीचमै प्रभावित बन्दै आएको छ । 

महानिर्देशक घिमिरेका अनुसार भारतीय कम्पनीको नियन्त्रणमा रहेको सर्भर विभागले नियन्त्रण गर्ने प्रक्रिया अघि बढाइएको छ । अबको एकदुई सातामा उक्त सर्भर विभागको नियन्त्रणमा आइसक्ने महानिर्देशक घिमिरेको भनाइ छ  । त्यसपछि विभागमा पटकपटक देखा पर्ने समस्या समाधान गरेर बीचमा सेवा नरोकिने गरी सेवाग्राहीको चाप घटाउँदै लैजाने योजना छ । 
 
‘‘सेवाग्राहीले विभिन्न किसिमका प्राविधिक समस्याहरु झेल्दै आएका छन् । यसका लागि विभिन्न काम गरिरहेका छौँ । अब पहिले जस्तो झण्झट हुँदैन । अहिले पनि विभिन्न समस्याहरु सुधार गरिसकेका छौँ,” महानिर्देशक घिमिरेले भने ।
 
विभागले कोरोना महामारीका कारण समयमै स्मार्टकार्ड ल्याएर वितरण गर्न नसकिएको बताउँदै आएको छ । कोरोना महामारी पछि मात्रै ट्रायल परीक्षा पास गरेका सात लाख सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । 
दोस्रो चरणको कोरोना महामारीका कारण रोकिएका ६ लाख आवेदकको परीक्षा सञ्चालन भइरहेको छ । विभागले ६ लाख मध्ये तीन लाख सेवाग्राहीको परीक्षा लिइसकेको छ । 
 
यी सेवाग्राहीलाई पनि विभागले स्मार्ट लाइसेन्स वितरण गर्ने जनाएको छ । प्राथमिकताका आधारमा विभागले लाइसेन्स वितरण गर्नेछ ।

विभागले हाल अत्यावश्यक काम गर्न विदेश जाने विद्यार्थी, सर्वसाधारणका लागि मात्रै लाइसेन्स वितरण गरिरहेको छ । विभागका अनुसार कोरोना महामारी सहज हुँदै जाँदा ड्राइभिङ लाइसेन्स निकालेर विदेश जानेको संख्या बढेको छ । महानिर्देशक घिमिरले पछिल्लो समय अत्यावश्यक काममा करिब ५० हजार जनालाई लाइसेन्स उपलब्ध गराएको जानकारी दिए ।
  
विभागले ६ महिनापछि लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको थियो । आवेदन खुलाए यता करिब १० लाख जना सेवाग्राहीले आवेदन दिइसकेका छन् ।
 
पुराना आवेदकहरुको परीक्षा नसकिएकाले नयाँ आवेदकले अर्को वर्ष मात्रै परीक्षा दिन पाउने विभागले जनाएको छ । 

विभागले खरिद गरेका १४ लाख स्मार्ट लाइसेन्स सेवाग्राहीको चाप अनुसार पर्याप्त छैन । १४ लाख स्मार्टलाइसेन्स वितरण सकिएपछि विभागले पुनः स्मार्टकार्ड आह्वान गर्ने जनाएको छ ।
 
त्यसपछि परीक्षा पूरा गरिसकेपछि विभागले परीक्षणकालीन लाइसेन्स वितरण गरिने जनाएको छ । 

२०७७ साउनमा विभागले फ्रान्सेली कम्पनी सेल्फ एसएसएललसँग खरिद प्रक्रिया अघि बढाएको थियो । विभागले नेपालमा २०७२ मंसिरदेखि स्मार्ट लाइसेन्स वितरण गर्दै आएको छ ।
 
हाल ट्राफिक प्रहरीसँग स्मार्टलाइसेन्स जाँच गर्ने एउटा मात्रै मेसिन छ । विभागमा स्मार्टकार्ड आएसँगै काठमाडौं उपत्यकामा ट्रायल सेन्टर थप्ने तयारी पनि गरेको छ ।
 
विभागले भनेको समयमा स्मार्टकार्ड ल्याउन नसक्दा केही महिना अघिदेखि परीक्षणकालीन लाइसेन्स वितरण थालेको थियो । सबै सेवाग्राहीलाई स्मार्टकार्ड नपुग्ने भए पनि परीक्षणकालीन लाइसेन्स वितरण नरोकिने जनाइएको छ । 

स्मार्ट लाइसेन्स नपाएका पुराना सेवाग्राही, लाइसेन्स नवीकरण गर्न बाँकी र ट्रायल परीक्षा पास गरेका सेवाग्राहीलाई प्राथमिकताका आधारमा विभागले लाइसेन्स वितरण गर्ने जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १३:१५
प्रतिक्रिया दिनुहोस्