site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीमा कांग्रेस पहिलो हुँदा माओवादी दोस्रो, तेस्रो हैसियतमा एमाले

काठमाडौं । कर्णाली प्रदेशका ५६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । कुल ७९ स्थानीय तह रहेको कर्णालीमा मंगलबार राति ११ बजेसम्म कांग्रेसले २६ तहमा जित हासिल गरेको छ । 

दोस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले १६ स्थानीय तहमा जित हासिल गरेको छ । त्यसपछि क्रमश: नेकपा (एमाले) तेस्रो र नेकपा (एकीकृत समाजवादी) चौथो स्थानमा छन् ।

एमालेले ९ स्थानीय तहमा जित हासिल गर्दा एकीकृत समाजवादीले तीन पालिकामा जित हात पारेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटका दुई पालिकामा स्वतन्त्र उमेदवारले जिते । कालिकोटको सदरमुकामको खाडाचक्र नगरपालिकामा स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका एकीकृत समाजवादीका कमलबहादुर शाहीले २९१९ मत पाएर निर्वाचित भए । सत्ता साझेदार दलले कांग्रेसलाई नगर प्रमुखमा भाग दिएपछि दलीय ह्विप नमान्ने अडानसहित शाहीले स्वतन्त्रबाट उमेदवारी दिएका थिए । 

त्यस्तै कालिकोटकै शान्नीत्रिवेणी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले टिकट नदिएपछि पुलती चुनाव चिह्न लिएर स्वतन्त्रमा उमेदवारी दिएका मोहनबहादुर केसी निर्वाचित भएका छन् । कालिकोट मुर्माका केसी शिक्षकको जागिर छाडेर माओवादी जनयुद्धमा होमिएका थिए । 

कर्णालीमा एमालेको आधार इलाका मानिएको दैलेखमा भगवती गाउँपालिका, महाबु गाउँपालिका र भैरवी गाउँपालिकाका विरासत भत्किएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा रुकुपश्चिममा ६ वटै पालिकामा एकलौटी जितेको माओवादी केन्द्रले एक पालिका गुमाएको छ ।

यसअघिको चुनावमा एमालेले जितेको डोल्पाका दुई पालिकामा यसपटक एकीकृत समाजवादीले जितेको छ । 

कांग्रेसले जितेका २६ स्थानीय तह 
कांग्रेसले डोल्पाको ठूलोभेरी नगरपालिका, कालिकोटको तिलागुफा नगरपालिका, दैलेखको महावु गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, सल्यानको कुमाख गाउँपालिका, सल्यानको सिद्धकुमाख गाउाँपालिका, सल्यानकै त्रिवेणी गाउँपालिका, जुम्लाको कनकासुन्दरी गाउँपालिका, जुम्लाको हिमा गाउँपालिका,जुम्लाको पातारासी गाउँपालिका, मुगुको मुगुम कार्मारोङ गाउँपालिका, मुगुको रारा छाँयानाथ गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका, सल्यानको सिद्ध कुमाख गाउँपालिका, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका, जाजरकोटको शिवालय गाउँपालिका, दैलेखको ठाटीकाँध गाउँपालिका, जाजरकोटको कुशे गाउँपालिका, सल्यानको शारदा गाउँपालिका, रुकुमपश्चिमको बाँफिकोट, सुर्खेतको बराहताल गाउँपालिका, जुम्लाको तातोपानी गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, कालिकोटको नरहरिनाथ गाउँपालिका, सुर्खेतको पञ्चपुरी नगरपालिका गरी २६ स्थानीय तहमा जित हासिल गरी पहिलो हैसियत बनाएको छ । 

माओवादीले जितेका १६ स्थानीय तह 
माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका, दैलेखकै भगवतीमाई गाउँपालिका, हुम्लाको ताँजाकोट गाउँपालिका, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका, कालिकोटको त्रिवेणी गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिका, कालिकोटको पलाँता गाउँपालिका, कालिकोट शुभकालिका गाउँपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, हुम्लाको सिमकोट गाउँपलिका, दैलेखको नौमुले गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिका, जुम्लाको सिँजा गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका, सल्यानको कुपिण्डे नगरपालिकामा जित हासिल गरेको छ । 

एमालेले जितेका ९ स्थानीय तह 
एमालेले दैलेखको गुराँस गाउँपालिका, दैलेखको डुङ्गेश्वर गाउँपालिका, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, सर्खेतको चिङ्गाड गाउँपालिका, जाजरकोटको भेरी नगरपालिका, दैलेखको नारायण नगरपालिका, जाजरकोटको जुनीचाँदै गाउँपालिका र सल्यानको कालीमाटी गाउँपालिका गरी ९ पालिकामा जित हासिल गरेको छ । 

एकीकृत समाजवादीले जितेका ३ पालिका 
कर्णाली प्रदेशका दुई जिल्ला गरी एकीकृत समाजवादीले ३ पालिकामा जित हासिल गरेको छ । एकीकृत समाजवादीका उमेदवार डोल्पाका दुई गाउँपालिका काइके, छार्काताङसोङ गाउँपालिका अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै प्रदेशको सल्यान जिल्लाको कपुरकोट गाउँपालिकामा पनि समाजवादीले जितेको छ । 

कालिकोटमा स्वतन्त्रले जितेका २ पालिका 
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा माओवादीका नेता महेन्द्रबहादुर शाहीको गृहजिल्लाका दुई पालिकामा स्वतन्त्रले जितेको छ । कालिकोटको खाँडाचक्र नगरपालिका, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्रले जित हात पारेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  २३:०६
प्रतिक्रिया दिनुहोस्