site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीमा एमाले खुम्चिँदा पार्टीभित्रै राजीनामा, कांग्रेस र माओवादीलाई बलियो जनमत

काठमाडौं । कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ६८ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणामअनुसार पहिलो बनेको कांग्रेसले २९ स्थानीय तहमा जित हासिल गरेको छ । 

दोस्रो बनेको नेकपा (माओवादी केन्द्र)ले २० पालिकामा जितेको छ । एमालेले १२ पालिकामा जितेको छ ।

स्वतन्त्रले पनि कर्णालीका ४ पालिका जितेका छन् । एकीकृत समाजवादीले ३ पालिका मात्रै जितेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कर्णालीको राजधानी सुर्खेतको लेकबेँसी नगरपालिकामा कांग्रेसका उमेशकुमार पौडेलले एमालेको विरासत भत्काए । विरासत जोगाउन नसकेको भन्दै एमालेका नगर कमिटी इन्चार्ज टीकाराम सोमै र सहइन्चार्ज शान्तिकुमारी छन्तेलले त राजीनामा नै दिए । दुई वडा र उपप्रमुखबाहेक सबै पदमा पराजय भोगेपछि उनीहरूल‍े राजीनामा दिएका हुन् ।

लेकबेँसी नगरपालिकामा ०७४ सालको निर्वाचनमा एमालेले ६ वडासहित प्रमुख र उपप्रमुखमा करिब एक हजार बढी मतान्तरले सफलता हासिल गरेको थियो । 

तर, यसपालिकाको चुनावमा भने त्यो अवस्था रहेन । नगरपालिका प्रमुखमा कांग्रेसका पौडेलले ६,६३९ मत पाएर निर्वाचित हुँदा एमालेका देवबहादुर राना ६,३७४ मत पाएर पराजित भए । 

उपप्रमुखमा भने एमालेकी विमला खडलुकले ६,१०९ मत ल्याएर निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की देउकली थापा मगरले ५,४४० मत ल्याइन् । 

लेकबेँसीका कुल १० वडामध्ये ८ वडाध्यक्ष पद कांग्रेसले जितेको छ ।

यसैबीच, एमालेको आधार इलाका मानिएका कर्णालीका तीन पालिकामा सत्ता गठबन्धनले एमालेको विरासत भत्काइदिएको छ । दैलेखको भैरवी, भगवतीमाई र महाबु गाउँपालिकाको नेतृत्व गठबन्धनका उमेदवारले भत्काइदिएको हो । 

भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा कांग्रेसका रिताकुमारी शाही र उपाध्यक्षमा देवी भण्डारी निर्वाचित भए । उनीहरूले निकटतम प्रतिद्वन्द्वी एमालेका सर्वराज महतारा र उपाध्यक्षमा पदमकुमारी विष्टलाई पराजित गरेका हुन् । 

दैलेखको मुहाबु गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसकै लक्ष्मण गुरुङ र मञ्जु पाण्डे निर्वाचित भएका छन् । जिल्लाको भगवती गाउँपालिकामा पनि गठबन्धनकै उमेदवार निर्वाचित भएका छन् । 

त्यस्तै, एमालेको गण मानिएको हुम्लाको अदानचुली गाउँपालिकामा पनि गठबन्धन हाबी भयो । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्षमा माओवादी केन्द्रका कर्ण रोकाया निर्वाचित भए । त्यहाँ ०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो । 

एमालेलाई पार्टी विभाजनको पनि असर गरेको दे‍खिएको छ । डोल्पाका दुई गाउँपालिमा एकीकृत समाजवादीले जित्दा एमालेलाई थप नोक्सान पुगेको छ । 

सल्यानमा एमालेका पोलिटब्युरो सदस्य गुलावजंग शाह र एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिवसमेत रहेका प्रकाश ज्वालाले आफ्नै वडासमेत बचाउन सकेनन् । 

ज्वालाको वडा बनगाड कुपिण्डे नगरपालिका–१ मा कांग्रेसले जितेको छ । त्यस्तै, शाहको वडा बनगाड कुपिण्डे नगरपालिका ७ हो । उक्त वडामा पनि वडामा माओवादी केन्द्रका जीवनसिंह ठकुरीको प्यानलनै विजयी भयो । 

एमाले विभाजन अघि 'लालकिल्ला'का रूपमा यी वडा परिचित थिए । 

कांग्रेसले जितेका २९ स्थानीय तह 
कांग्रेसले डोल्पाको ठूलोभेरी नगरपालिका, कालिकोटको तिलागुफा नगरपालिका, दैलेखको महावु गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, सल्यानको कुमाख गाउँपालिका, सल्यानको सिद्धकुमाख गाउाँपालिका, सल्यानकै त्रिवेणी गाउँपालिका, जुम्लाको कनकासुन्दरी गाउँपालिका, जुम्लाको हिमा गाउँपालिका,जुम्लाको पातारासी गाउँपालिका, मुगुको मुगुम कार्मारोङ गाउँपालिका, मुगुको रारा छाँयानाथ गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका, सल्यानको सिद्ध कुमाख गाउँपालिका, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका, जाजरकोटको शिवालय गाउँपालिका, दैलेखको ठाटीकाँध गाउँपालिका, जाजरकोटको कुशे गाउँपालिका, सल्यानको शारदा गाउँपालिका, रुकुमपश्चिमको बाँफिकोट, सुर्खेतको बराहताल गाउँपालिका, जुम्लाको तातोपानी गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, कालिकोटको नरहरिनाथ गाउँपालिका, सुर्खेतको पञ्चपुरी नगरपालिका र सुर्खेतको लेकबेँसी नगरपालिका, सुर्खेतको गुर्भाकोट गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिका गरी २९ पालिकामा जित हासिल गरेको छ । 

माओवादी केन्द्रले जितेका २० स्थानीय तह 
कर्णाली प्रदेशमा माओवादी केन्द्रले २० वटा स्थानीय तहमा जित हासिल गरेको छ । माओवादीले दैलेखको नौमुले गाउँपालिका, दैलेखकै भगवतीमाई गाउँपालिका, हुम्लाको ताँजाकोट गाउँपालिका, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका, कालिकोटको त्रिवेणी गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिका, कालिकोटको पलाँता गाउँपालिका, कालिकोट शुभकालिका गाउँपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, हुम्लाको सिमकोट गाउँपलिका, दैलेखको नौमुले गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिका, जुम्लाको सिँजा गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका, सल्यानको कुपिण्डे नगरपालिका र सल्यानको दार्मा गाउँपालिका, रुकुमपश्चिमको आठबिसकोट गाउँपालिका, मुगुको खत्याड गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको नेतृत्व लिएको छ । 

एमालेले जितेका १२ स्थानीय तह 
यसपटक कर्णालीमा तेस्रो बनेको एमालेले दैलेखको गुराँस गाउँपालिका, दैलेखको डुङ्गेश्वर गाउँपालिका, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, सर्खेतको चिङ्गाड गाउँपालिका, जाजरकोटको भेरी नगरपालिका, दैलेखको नारायण नगरपालिका, जाजरकोटको जुनीचाँदै गाउँपालिका, सल्यानको छत्रेश्वरी गाउँपालिका, सल्यानको कालीमाटी गाउँपालिका, जाजरकोटको बारेकोट गाउँपालिका, दैलेखका आठबिस नगरपालिका गरी १२ स्थानीय तहको नेतृत्व लिएको छ । 

कर्णालीमा स्वतन्त्रले जितेका ४ पालिका 
त्यस्तै, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा माओवादीका नेता महेन्द्रबहादुर शाहीको गृहजिल्लाका दुई पालिकामा स्वतन्त्रले जितेको छ । कालिकोटको खाँडाचक्र नगरपालिका, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्रले नेतृत्व लिएको छ । 

एकीकृत समाजवादीले जितेका ३ पालिका 
कर्णाली प्रदेशका दुई जिल्ला गरी एकीकृत समाजवादीले तीन पालिकामा जित हासिल गरेको छ । एकीकृत समाजवादीका उमेदवार डोल्पाका दुई गाउँपालिका काइके, छार्काताङसोङ गाउँपालिका अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै, प्रदेशको सल्यान जिल्लाको कपुरकोट गाउँपालिकामा पनि एकीकृत समाजवादीले जितेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २१:५२
प्रतिक्रिया दिनुहोस्