site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीका पाँच जिल्लामा एमालेको नेतृत्व शून्य, १३ पालिकामा भत्कियो विरासत

काठमाडौं । कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ७७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । ०७४ सालको निर्वाचनमा कर्णालीमा तेस्रो दलको हैसियत बनाएको कांग्रेसले यसपालि सबैभन्दा बढी ३३ पालिका जितेर पहिलो दलको हैसियत बनाएको छ ।

नेकपा (माओवादी केन्द्र)ले २२ पालिका जितेर दोस्रो दलको हैसियत बनाएको छ । अघिल्लो चुनावमा २७ पालिका जितेर पहिलो बनेको एमालेले यसपटक भने १४ पालिकामा सीमित भएर तेस्रोमा झरेको छ ।

नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र उमेदवारले कर्णालीका ४/४ पालिका जितेका छन् । कालिकोटको पचालझरना गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकाको मत परिणाम आउन बाँकी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जसमा हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उमेदवारले अग्रता बनाएका छन् ।

कालिकोट, रुकुमपश्चिम, जुम्ला, मुगु र हुम्ला गरी पाँच जिल्लाका जम्मा ६५ पालिकामा एमालेको नेतृत्व शून्य भएको छ ।

०७४ को निर्वाचनमा कांग्रेसले जितेका दैलेखको गुराँस गाउँपालिका र डुंङ्गेश्वर गाउँपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एमालेले जित हासिल गरेको छ ।

०७४ मा कांग्रेसले जितेको वीरेन्द्रनगरमा यसपटक गठबन्धन हुँदा पनि एमालेसँग हार बेहोर्नुपर्‍यो । एमालेले जितेका डोल्पाका दुई पालिकामा एकीकृत समाजवादीले जितेको छ । कांग्रेसले जितेको मुगुको सोरु गाउँपालिकामा पनि एकीकृत समाजवादीले जितेको छ । 

माओवादी केन्द्रले जितेको रुकुमपश्चिमको बाफिकोट गाउँपालिका, मुसिकोट नगरपालिकामा यसपटक कांग्रेसले जितेको छ । ०७४ सालमा रुकुपश्चिमका ६ वटै पालिका माओवादी केन्द्रले एकलौटी जितेको थियो । 

०७४ मा कुन दलले कति पालिका जितेका थिए ? 
अघिल्लो स्थानीय तह निर्वाचनमा कर्णालीका ७९ पालिकामध्ये २७ पालिका प्रमुख जितेर एमाले पहिलो दलको बनेको थियो । त्यतिबेला कांग्रेस र माओवादी केन्द्र २५/२५ पालिका प्रमुख जितेका थिए ।

०७४ मा एमालेले प्रमुख र ३१ उपप्रमुखसहित १,४०३ पद जित्दा माओवादी केन्द्रले प्रमुख र २६ उपप्रमुखसहित २,१४४ पदमा जितेको थियो ।

तेस्रो हैसियतमा झरेको कांग्रेसले पालिका प्रमुख र १६ उपप्रमुखसहित १,०२० पद जितेको थियो । 

यी हुन् एमालेले गुमाएका १३ स्थानीय तह
०७४ सालको स्थानीय तहमा जितेका एमालेले जितेका १३ पालिका प्रमुखको नेतृत्व गुमाउनुपरेको छ । डोल्पाका ठुलीभेरी नगरपालिका, काइके गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, र शिवालय गाउँपालिका, कालिकोटका खाँडाचक्र नगरपालिका, कालिका र नरहरिनाथ गाउँपालिका, सुर्खेतमा चौकुने गाउँपालिका, लेकबेँसी गाउँपालिका र सल्यानमा ढोरचौर, कपुरकोट, जुम्ला तिला गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिकाको नेतृत्व एमालेले गुमाएको छ ।

कांग्रेसले जितेका ३३ स्थानीय तह 
डोल्पाको ठुलीभेरी नगरपालिका, दैलेखको महाबु गाउँपालिका, भैरवी गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, ठाटीकाँध गाउँपालिका, दुल्लु नगरपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, अदानचुली गाउँपालिका, सल्यानको कुमाख गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिका, सिद्ध कुमाख गाउँपालिका, शारदा गाउँपालिका, बागचौर नगरपालिका, जुम्लाको कनकासुन्दरी गाउँपालिका, हिमा गाउँपालिका, पातारासी गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका, मुगुको मुगुम कार्मारोङ गाउँपालिका, रारा छाँयानाथ गाउँपालिका, जाजरकोटको शिवालय गाउँपालिका, कुशे गाउँपालिका, रुकुमपश्चिमको बाँफिकोट र मुसिकोट नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका, कालिकोटको नरहरिनाथ गाउँपालिका, सुर्खेतको बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, लेकबेँसी नगरपालिका, गुर्भाकोट गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिका प्रमुखको नेतृत्व कांग्रेसले लिएको छ ।

माओवादी केन्द्रले जितेका २२ स्थानीय तह 
कर्णाली प्रदेशमा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका, भगवतीमाई गाउँपालिका, हुम्लाको ताँजाकोट गाउँपालिका, नाम्खा गाउँपालिका, सिमकोट गाउँपलिका, नाम्खा गाउँपालिका, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका, पलाँता गाउँपालिका, शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, जुम्लाको सिँजा गाउँपालिका, तिला गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका, सल्यानको बनगाड कुपिण्डे नगरपालिका, दार्मा गाउँपालिका, रुकुमपश्चिमको आठबिसकोट गाउँपालिका, चौरजहारी नगरपालिका, रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका, मुगुको खत्याड गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका र कालिकोटको रास्कोट नगरपालिका प्रमुखको नेतृत्व लिएको छ । 

एमालेले जितेका १४ स्थानीय तह 
एमालेले दैलेखको गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, नारायण नगरपालिका, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, सुर्खेतको चिङ्गाड गाउँपालिका, विरेन्द्रनगर नगरपालिका, सिम्ता गाउँपालिका, जाजरकोटको भेरी नगरपालिका, जाजरकोटको जुनीचाँदै गाउँपालिका, बारेकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, सल्यानको छत्रेश्वरी गाउँपालिका, कालीमाटी गाउँपालिका र सुर्खेतको भेरिगंगा नगरपालिका प्रमुखमा एमालेले जितेको छ ।

एकीकृत समाजवादीले जितेका ४ पालिका 
कर्णालीमा एकीकृत समाजवादीले डोल्पाको काइके र छार्काताङसोङ गाउँपालिका प्रमुख जितेको छ । सल्यानको कपुरकोट गाउँपालिका र मुगुको सोरु गाउँपालिमामा पनि एकीकृत समाजवादीले जितेको छ । 

कर्णालीमा स्वतन्त्रले जितेका ४ पालिका 
कर्णालीका पूर्वमुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीको गृहजिल्लाका दुई पालिकामा स्वतन्त्र उमेदवारले जितेका छन् । 

कालिकोटको खाँडाचक्र नगरपालिका, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उमेदवारले जितेका छन् ।

हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उमेदवारको अग्रता कायमै छ । सो गाउँपालिका स्वतन्त्रले जितेमा कर्णाली एकीकृत समाजवादीभन्दा बलियो स्वतन्त्र उमेदवार बन्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ०५:३०
प्रतिक्रिया दिनुहोस्