site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहदरबार ताक्दैछन् 'स्वतन्त्र' : रञ्जु दर्शनादेखि सुमन सायमीसम्मको तयारी 

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति अहिलेसम्म घोषणा भइसकेको छैन । निर्वाचन आयोग र सत्ता गठबन्धनका दलहरुको तयारी हेर्दा आगामी मंसिरमा चुनाव हुनसक्छ भनेर अनुमान मात्र गर्न सकिन्छ । तर, काठमाडौंमा भने स्वतन्त्रदेखि साना दलका युवाहरुले धमाधम उमेदवारी घोषणा गर्न थालेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् उमेदवारी घोषणा गर्दै चुनावी प्रचारसमेत थालिसकेका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवार बालेन साहको विजयसँगै स्वतन्त्र उमेदवारी दिनेहरुको जोस बढेको छ । 

उमेदवारी घोषणा गर्नेमा स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्ररुपमा मेयरमा उमेदवारी दिएका सुमन सायमी, अघिल्लो स्थानीय तह निर्वाचनमा मेयरमै विवेकशील साझा पार्टीबाट उमेदवारी दिएकी रञ्जु दर्शना, विवेकशीलकै नेता पुकार बमदेखि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुसी यमीसमेत छन् । 

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा आँखीझ्याल चुनाव चिह्नबाट स्वतन्त्र उमेदवारी दिएर १३ हजार बढी मत ल्याएका सायमीले लगत्तै अर्को चुनावका लागि उमेदवारी दिने तयारी थालेका छन् । उनले दलकै तर्फबाट उमेदवारी दिने कि स्वतन्त्र नै चुनाव लड्ने भन्ने विषयमा निर्णय गरिसकेका छैनन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यही १८, १९ गते राष्ट्रिय भेला गर्ने तयारी छ । राष्ट्रव्यापी रुपमा स्वतन्त्रका साथीहरु बोलाउने कुरा छ । स्थानीय निकाय भनेको स्वतन्त्रले चल्ने भन्ने स्वायत्तता प्राप्त निकाय भयो । संसदीय चुनाव भनेको विचार बोक्ने ठाउँ हो,” उनले भने, “दलको विकल्प दल भन्ने सबैले बुझेको छ । तर अहिले जुन पोलिटिकल सिनारियो देखिँदैछ, सोहीअनुसार जानुपर्छ भन्नेबारे छलफल भइरहेको छ । कुन क्षेत्रबाट उठ्ने भन्नेबारे पनि टुंगो लागिसकेको छैन ।” 

स्वतन्त्रबाट काठमाडौं महानगरको मेयरमा उमेदवारी दिएका उनले १३ हजार ७७० मत पाएका थिए ।  विवेकशील साझा पार्टीबाट अलग भएका पुकार बमले काठमाडौं क्षेत्र नम्बर–१बाट उमेदवारी दिने घोषणा गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उमेदवारी घोषणा गरेका उनले अहिलेदेखि नै तयारी थाल्ने उल्लेख गरेका छन् ।अहिलेसम्मको समाजिक क्षेत्रमा देखाएको क्रियाशीलतालाई उनले चुनाव लड्ने पुँजीका रुपमा प्रस्तुत गरेका छन् । 

“मैले मेरो किशोरावस्थादेखि पछिल्लो १७ वर्ष सामाजिक र राजनीतिक अभियानमार्फत संघर्ष गरेको छु । म पेसाले लेक्चरर हुँ,” बमले भनेका छन्, “विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडि बारम्बार राजनीतिक परिवर्तन भएको सम्झना आउने छ ।”  पुकारले त्यस्तो परिवर्तनले सामाजिक अपेक्षा विपरीतका परिणाम दिएको उल्लेख गरेका छन् ।

“अब मुलुकको नीति बनाउने थलो संसद्ले समेत नयाँ अनुहार खोजेको छ, ताजगी खोजेको छ,” बलमे भनेका छन्, “त्यसैले, राजनीतिक भ्रष्टाचार र लुटतन्त्र विरुद्ध युवा प्रतिरोधको आवाज संसदमा पुग्न जरुरी छ । यसैको पहलस्वरुप मेरो उम्मेदवारी हो ।” 

बम २०६९ माघमा सुरु गरिएको महिला हकहितको पक्षमा र हिंसाविरुद्ध कानुन बनाउन १०० दिन भन्दा बढी ‘अकुपाइ बालुवाटार’ अभियानमा सक्रिय भूमिका खेलेका थिए । 

डा. गोविन्द केसीको पहिलो सत्याग्रहदेखि नै केसीका मागसहित अभियानमा लागेका उनी माग पूरा गराउने आन्दोलनको समेत अगुवाई गरेका थिए ।

काठमाडौं महानगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा मेयरको उमेदवारी दिएर २३ हजार बढी मत ल्याएका विवेकशीलकी रञ्जु दर्शना यसपटक स्वतन्त्र उमेदवारी दिने तयारीमा छन् । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाले चुनाव लडेको काठमाडौं क्षेत्र नम्बर–५ उनको रोजाइमा परेको छ । विस्तृत कुरा पछि बताउने उनले उमेदवारी दिने तयारी गरेको भने स्वीकार गरेकी छन् । २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयर लड्दा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुसी यमी भट्टराईले पनि उमेदवारीको तयारी थालेकी छन् । काठमाडौं ५ वा ७ मध्ये कुन क्षेत्रमा उमेदवारी दिने भनेर निर्णय गरिनसकेकी उनले कतै न कतै उमेदवारी दिने बताएकी छन् । 

“भर्खर कुराकानी सुरु मात्र भएको हो । सल्लाह भइरहेको अवस्था हो यसमा हामी तयार रहनुपर्छ भन्नेछ । उठेको खण्डमा क्षेत्र नम्बर ५ र ७ मध्ये एउटाबाट लड्ने भन्ने छ । यद्यपी कुनै टुंगो भने भइसकेको छैन,” मानुषीले भनिन् । 

गायक सञ्जय श्रेष्ठले पनि उमेदवारी दिने घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध उनले काठमाडौं क्षेत्र नम्बर–६ बाट उमेदवारी दिने बताएका छन् । पार्टीले टिकट दिए पार्टीबाटै चुनाव लड्ने तयारीमा रहेका उनी पार्टीले टिकट नदिए स्वतन्त्र उमेदवारी दिने तयारीमा छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्