site stats
बाह्रखरी :: Baahrakhari
देश
२१ महिने शिशु काखमा च्यापेर न्याय माग्दै काठमाडौंमा भौंतारिएकी ‘कुमारी आमा’

काठमाडौं । काठमाडौंका सडकमा अहिले धनुषाकी २१ वर्षीया ‘कुमारी आमा’ न्यायका लागि भौंतारिइरहेकी छन् ।

आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गरिएको व्यक्तिलाई कारबाहीको माग गर्दै उनी काठमाडौंका सडकमा भौंतारिएकी हुन् ।

उनी अहिले बसन्तपुरस्थित डबलीमा आमरण अनसनमा छन् । त्यसअघि उनले आफ्नो ‘चित्कार’ अदालत र सिंहदरबारलेसमेत सुन्नुपर्ने भन्दै माइतीघरमा न्यायका लागि धर्नामा बसिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२०७६ सालको कात्तिकमा १७ वर्षकी हुँदा हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै उनले न्यायको लागि अनसन नै सुरु गर्नुपरेको हो ।

बलात्कारपछि उनको पेटमा गर्भ रह्यो । आफू बलात्कृत भएपछि प्रहरीकहाँ उजुरी दिए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । पीडित महिलाकै साथमा रहेको बच्चा अहिले बच्चा २१ महिना भएको छ । 

आफू बलात्कारको १२ दिनपछि उजुरी लिएर प्रहरीकहाँ पुगेको तर बलात्कारीसँगको मिलेमतोमा मुद्दा कमजोर पारिएको उनको आरोप छ ।

न्यायका लागि अदालत, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगलगायतका निकायमा धाउँदा पनि न्याय नपाएपछि आमरण अनसन बसेको पीडित महिलाको भनाइ छ । “न्याय दिने सबै निकायले मेरो मुद्दा कमजोर बनाए । घरमा त्यसै पीडादायक जीवन बिताउनुभन्दा आमरण अनसनमार्फत न्याय खोज्ने भन्दै यहाँ आइपुगेकी हुँ,” उनले भनिन् । 

न्यायको खोजीमा दुई महिना पहिले काठमाडौं आएकी उनलाई महिला अधिकारकर्मी अभियन्ताहरुले सहयोग गरिरहेका छन् ।

अनसनको पहिलो दिन काठमाडौंको माइतीघर मण्डलामा बसेकी थिइन् । तर बेलुका प्रहरीले बल प्रयोग गरेर त्यहाँबाट हटायो । पीडितका अनुसार आरोपी शिवराज श्रेष्ठ अहिले बुद्ध एयरमा काम गर्छन् ।

आफू अनसन बस्नुभन्दा केही दिन पहिले आरोपी श्रेष्ठ र उनका आफन्तले बच्चा र आमालाई नै मारिदिने धम्कीसमेत दिँदै आएको पीडित बताउँछिन् । “अपराधी खुलमखल्ला धम्की दिँदै हिँडिरहेको छ । अहिले बुद्ध एयरलायन्समा काम गर्छ । अनसन बस्नुभन्दा केही दिनपहिले मात्रै छोरालाई मारिदिने धम्की दिँदै राति १२ बजेपछि फोन गरेर प्रताडना दिन्थ्यो,” पीडितले भनिन् । 

पीडितका अनुसार आर्थिक प्रलोभनमा मिलापत्र गर्ने ठूलो चलखेल भयो । पटक पटक राष्ट्रिय महिला आयोग, प्रहरी प्रशासन, राष्ट्रिय मानव अधिकार आयोगसँग गुहार माग्दा आफूलाई असहयोग गरेको उनले बताइन् । 

पीडित भन्छिन्, “मुद्दामा धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरिदियो । अपराधीको पक्षमा आएको फैसला मेरो काखमा रहेको बच्चा र मैले रुँदै सुन्नुको अर्को विकल्प थिएन ।”

त्यसपछि जिल्ला अदालतको फैसला उपर पीडितले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराइन् । 

गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म पेशी तोकिएको छैन । “बलात्कारजस्तो जघन्य अपराधमा पेशी तोक्न अदालतको ढिलासुस्ती किन ? अनि मैले अदालतको फैसला कुरेर कतिन्जेल बस्ने ?,” उनले भनिन् । 

न्यायिक कुनै पनि निकायबाट न्याय नपाएपछि आमरण अनसन बस्न बाध्य भएको पीडितको भनाइ छ । पीडितले न्यायका लागि विभिन्न मागहरु राखेकी छिन् । पीडित पक्षले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय,  महिला अधिकार आयोग र मानव अधिकार आयोगमा  न्यायको ध्यानाकर्षणपत्र बुझाएको छ । 

शुक्रबार पीडित पक्ष र मानव अधिकार आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनसन बस्ने जानकारी गराएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनसनभन्दा अन्य तरिकाबाट न्याय माग्न सुझाव दिएको थियो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल भन्छन्, “शुक्रबार पीडित पक्षले अनसन बस्दैछौँ भनेर खबर गरेको थियो । हामीले अनसन नबसी अन्य तरिकाले न्याय माग्न सुझाव दिएका थियौँ । अहिलेसम्म अरु केही जानकारी आएको छैन ।”

मानव अधिकार आयोगका सूचना अधिकारी सोमनाथ सुवेदी पीडित पक्षको अवस्था बुझ्न आएको जानकारी दिए । “हाम्रो तर्फबाट न्याय दिनको लागि पहल गरिरहेका छौँ । जिल्ला अदालतको आदेश पनि पीडितबाट लिएका छौँ,” उनले भने । 

प्रशासनले पीडित बसन्तपुरमा अनसन बसेको थाहा पाएपछि उनीहरुको अवस्था बुझ्नको लागि टोली पठाएको छ । 

उनले बच्चाको डीएनए टेस्ट गराउनुपर्ने माग राखेकी छन् ।  बलात्कारीकै पक्षमा फैसला गर्ने न्यायाधीशमाथि पनि कारबाही हुनुपर्ने उनको माग छ ।

उच्च अदालतमा ४ महिनाअघि दर्ता गरिएको मुद्दामा अहिलेसम्म पेशी तोकिएको छैन । “म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायलयले मेरो मृत्यु चाहेको हो ?,” उनको प्रश्न छ ।

उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्ने माग रहेको छ । 

बलात्कारी खुलेआम हिँडिरहेको अवस्थामा प्रहरी प्रशासनले पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्ने उनको अर्कोे माग रहेको छ ।  

२१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत आवश्यकताका कुराहरु राज्यले सुनिश्चित गरिदिनुपर्ने पनि उनले माग गरेकी छन् । 
 

 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्