site stats
बाह्रखरी :: Baahrakhari
देश
‘ब्ल्याकमेलिङ’ आरोपमा कल सेन्टरमा छापा, १५० कर्मचारी पक्राउ

बुटवल । उद्देश्यविपरीत काम गरेको आरोपमा रुपन्देहीको तिलोत्तमास्थित एउटा कल सेन्टरमा आइतबार प्रहरीले छापा मारेको छ ।

सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा छापा परेको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तिलोत्तमा नगरपालिका–२, जानकीनगरमा चारतले घरको तीन फ्ल्याट भाडामा लिई ३०० जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयाप’मा पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कल सेन्टरमा काम गर्ने १५० कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा परेको भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । “कार्यालय सञ्चालक भारतीय नागरिकको घरकोठा खानतलासी हुँदै छ । त्यसपछि थप खुल्नेछ,” उनले भने ।

१५० भन्दा बढी महिला तथा पुरुष कर्मचारीलाई रोजगारी दिइएको सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको प्रहरीले पुष्टि गरेको छ । तर, अवैध कामका विषयमा प्रहरीले केही खुलाएको छैन ।

“हामी घटनास्थलमै छौँ, अनुसन्धान हुँदै छ,” रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्