site stats
बाह्रखरी :: Baahrakhari
देश
के सुकुम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेको हो ? भूमि आयोग किन असन्तुष्ट ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोचर चलाउन खोजेपछि फेरि एकपटक सुकुम्बासीको मुद्दा सार्वजनिक बहसमा आएको छ । अहिले सामाजिक सञ्जालसहित विभिन्न माध्यममा सुकुम्बासीबारे चर्चा भइरहेको छ । 

अर्कोतिर सुकुम्बासी बस्तीका बासिन्दाहरूले महानगरविरुद्ध विभिन्न कार्यक्रम गर्न थालेका छन् । गएराति रातभर जाग्राम बसेका सुकुम्बासीहरू आज बिहानै महानगर कार्यालय घेराउ गर्न पुगे । केहीले माइतीघरमा अनसन थालेका छन् । 

सोमबारको तनावपूर्ण स्थितिपछि साँझतिर काठमाडौं महागरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरे । भिडियोमा भिडको बिचबाट एकजनाले भनिरहेका थिए, "बालेन साहको ज्यान अब खतरामा हुन्छ । मर्न पनि हामी ज्यान नै दिन्छौँ, सके त्यसलाई पनि मार्छौं हामीले ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफूलाई ज्यान मार्ने धम्की आएको आशयमा बालेनले देशको सुरक्षा व्यवस्थामाथि प्रश्न गरेका थिए । बालेनले भिडियोको क्याप्सनमा लेखेका थिए– "देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन ? देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?"

अर्थात् उनले महानगरको काममा सरकारले सहयोग नगरेको गुनासो गरेका थिए । उसो त बालेनले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटिसकेका छन् । भेटमा बालेनले खोला किनारामा अवैध रूपमा बनाइएका बस्ती हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेको महानगरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।

उनले पनि राज्यको सुरक्षा निकाय मौन रहेकोबारे छलफल भइरहेको बताए । “काम गर्ने ठाउँमा शान्ति भएन । खुलमखुला नाङ्गो हातहतियार प्रयोग भइरहेको छ । राज्यको सुरक्षा निकाय मौन छ । सरोकारवाला निकायमा मनशाय के हो ? भन्नेबारे छलफल भइरहेको छ,” भुपदेव भने । 

तर, गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराई भने आफूहरूले ‘फ्रन्ट’ लाइनमा सुरक्षा दिएको दाबी गर्छन् । “गृहले गर्न सक्ने जति सहयोग गरेकै हो । असहयोग भएको छैन । प्रहरीले एक्सन लिन्छ,” उनले भने, “सुरक्षाको विषयमा सबै कुरा भन्न मिल्दैन ।” 

प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनाली पनि घटना आफूहरूको 'नोटिस'मा रहेको बताउँछन् । “नोटिसमा आएपछि प्रहरीले कुनै पनि हालतमा छोड्दैन । ढिलो चाँडोको कुरा मात्रै हो । प्रहरीले नियन्त्रण गर्छ,” मैनालीले भने ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान अघि बढिसकेको छ ।  

घटना के हो ?

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आग्रहमा सोमबार महानगरको नगरप्रहरी टोली डोजरसहित थापाथलीस्थित सुकुम्बासी बस्तीमा पसेको थियो । तर, बस्तीका बासिन्दाले नगरप्रहरीविरुद्ध ढुंगामुढा प्रहार गरेका थिए । उनीहरूबीच घरेलु हातहतियारसहित प्रदर्शमा उत्रिएका थिए । जसमा ३६ जना सुरक्षाकर्मी घाइते भए । 

नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहित घाइतेको उपचार वीर अस्पताल र नर्भिक इन्टरनेसनल अस्पतालमा भइरहेको छ । महानगरले थापाथली घटनाका दोषी किटानी गरी कारबाही गर्न काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दिएको छ । 

महानगरका प्रवक्ता नवीन मानन्धर भने आफूहरूले हटाउनै पर्ने बस्तीहरू जसरी भएपनि हटाउने बताउँछन् ।

असन्तुष्ट भूमि आयोग

राष्ट्रिय भूमि आयोगले भने स्थायी विकल्पबिना महानगरले डोजर आतंक बन्द गर्नुपर्ने बताएको छ । विकल्पसहित उचित व्यवस्था गर्नुपर्ने, बसोबासका आधारमा लालपुर्जा दिनुपर्ने लगायतका माग सुकुम्बासीका छन् । 

आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले राज्यले डोजर चलाएर सुकुम्बासीलाई घरबारविहीन बनाउनु आपत्तिजनक रहेको बताए । “वार्ता गर्ने, प्रमाणीकरण प्रक्रियामा जानेलगायतका अन्य विषय सबै सरोकारवाला निकायमा समन्वय आवश्यक छ । जबरजस्ती तरिकाले डोजर आतंक मच्चाउनु हुँदैन । तत्काल यो रोकियोस्,” खड्काले भने । 

भूमि आयोगले देशैभरबाट सकुम्बासी प्रमाणितका लागि फारम संकलन गरिरहेको बेलामा हटाउने र भत्काउने गर्न नहुने खड्काले बताए । आफूहरूले सरोकारवाला निकायलाई पत्रचार गर्दा गर्दै पनि यस्तो घटना भएको आयोगले जनाएको छ । 

वाग्मती सभ्यताले २०७८ फागुन १६ गते बोर्ड सदस्य वीरेन्द्र थपलियाको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको थियो । सो कार्यदलको अध्ययन अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका खोला किनाराका २७ स्थानमा ३ हजार ४९६ घरधुरी सुकुम्बासी बसेका छन् । वाग्मती सभ्यताले सुकुम्बासीलाई अस्थायी रुपमा इचंगुनारायणमा सार्नेबारे टुंगो पनि लगाउन सकेको छैन ।

वाग्मती सौन्दर्यीकरण गर्ने लगायतका काम गर्दै आएको वाग्मती सभ्यताको यसको मुख्य जिम्मेवार निकाय हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणमा १९ वर्ष प्रमुखको रुपमा रही सेवा गरेका भाईकाजी तिवारी वास्तविक सुकुम्बासीलाई राज्यले व्यवस्थापन गर्नुपर्ने बताउँछन् । उनले सुकुम्बासी व्यवस्थापन गर्ने भनी पहिले नै सरकारले निर्णय गरेको बताए ।

“सरकारले पहिले नै निर्णय गरेको कुरा हो । त्यसपछि इचंगुनारायणमा २३३ वटा आवास इकाइ बनाइएको थियो । सो संयुक्त आवासगृहमा सुकुम्बासीहरू जान मानेनन र सरकारले पनि बल गरेर राख्न सकेन,” तिवारीले भने, “राज्यले भाडामा बसेकाहरूलाई हटाउन र वास्तविक सुकुम्बासीहरूलाई व्यवस्थापन गर्न सक्नुपर्छ ।” 

जाडो महिनामा मात्रै नभइ वर्षायाममा पनि बाढी आएर सुकुम्बासी बस्तीहरू बगे  राज्यमाथि नै प्रश्न उठ्ने तिवारीको भनाइ छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा सुकुम्बासी व्यवस्थापनकै लागि भनेर इचंगुनारायणमा बनाइएको संयुक्त आवासगृह प्रयोगविहीन छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्