site stats
बाह्रखरी :: Baahrakhari
खेल
च्याम्पियन्स लिगको सेमिफाइनलमा मिलान डर्बी

काठमाडौं । घरेलु मैदानमा पोर्चुगलको क्लब बेनफिकासँग बुधबार राति ३–३ को रोमाञ्चक बराबरी खेले पनि इटालियन क्लब इन्टर मिलानले समग्रमा ५–३ को नतिजा निकाल्दै यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । 

इन्टरले अब फाइनल प्रवेशका लागि इटालीकै अर्को क्लब एसी मिलानसँग प्रतिस्पर्धा गर्नेछ । यससँगै च्याम्पियन्स लिगमा ६ वर्षपछि इटालियन क्लबले फाइनल खेल्ने पक्का भएको छ । इन्टर २०१० मा उपाधि जितेपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको यो पहिलोपटक हो । युभेन्टस २०१५ र २०१७ को फाइनलमा पराजित भएयता कुनै पनि इटालियन क्लबले यो प्रतियोगिताको फाइनलमा स्थान बनाउन सकेका थिएनन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘‘यो विशेष डर्बी खेल हुने पक्का छ,’’ इन्टरका स्ट्राइकर लाउटारो मार्टिनेजले भने, ‘‘च्याम्पियन्स लिगको सेमिफाइनलमा मिलान डर्बी खेलको महत्व कस्तो हुन्छ भनेर हामी सबैलाई थाहा छ । यस क्लबको प्रतिनिधित्व गर्न पाउँदा म धेरै खुसी छु ।’’

गएराति इन्टरले निकोला बरेलाको गोलबाट १४औँ मिनेटमा अग्रता लिएको थियो । ३८औँ मिनेटमा बेनफिकाका फ्रेड्रिक औसनेसले बराबरी गोल फर्काए । ६५औँ मिनेटमा मार्टिनेजले गरेको गोलबाट इन्टर पुनः अग्रता लियो । ७८औँ मिनेटमा जेक्विन कोरेराले इन्टरको अग्रता बढाए । 

८६औँ मिनेटमा एन्टोनियो सिल्भाको गोलबाट बेनफिकाले पुनरागमन गर्यो । इन्जुरी समयमा पेटर मुसाले बराबरी गोल फर्काए । बेनफिकाले बराबरी गरे पनि घरेलु मैदानमा २–० को हार महंगो सावित भयो । त्यही जितले इन्टर अन्तिम चारमा स्थान बनाउन सफल भयो । 

अन्तिम चारमा इन्टरले शहरी प्रतिद्वन्द्वी एसी मिलानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । मिलानका दुई क्लब च्याम्पियन्स लिगको नकआउट चरणमा प्रतिस्पर्धा गर्न लागेको यो तेस्रो पटक हो । यसअघि २००२/०३ को सेमिफाइनल र २००४/०५ को क्वार्टरफाइनलमा प्रतिस्पर्धा गरेका थिए । दुवै भेटमा सात पटकको विजेता मिलान विजयी भएको थियो । 

दुई क्लबबीच पहिलो लेग १० मेमा सान सिरो र दोस्रो लेग १६ मेमा हुनेछ । दुई टिमबीचको विजेताले म्यानचेस्टर सिटी र रियाल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सिटीले गएराति जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखलाई समग्रमा ४–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्