site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्धग्रस्त सुडानबाट आज बाहिरिँदै शान्ति सैनिक, अन्य नेपालीको उद्धारबारे परराष्ट्रले थाल्यो तयारी
तस्बिर स्रोत : अल्जजिरा

काठमाडौं । उत्तर अफ्रिकी मुलुक सुडानमा शक्ति संघर्षका लागि सेना र अर्धसैनिक बलका प्रमुखबीचको तनाव ठूलो लडाँइमा परिणत भएको छ ।

गत साताको शनिबार सुरु भएको द्धन्द्धमा अहिलेसम्म ४०० भन्दा बढी मारिएका छन् भने सयौं घाइते भएका छन् ।सुडानी सेनाका प्रमुख कमान्डर जनरल अब्देल फताह अल बुर्हान र अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) का प्रमुख जनरल मोहम्मद हमदान डालोको बलबीच युद्ध चर्किएको थियो ।

सुडानमा युद्ध सुरु भएसँगै त्यहाँ रहेका नेपालीहरूबारे विवरण संकलन गर्न सुरु गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुडानमा नेपाली सेनाको शान्ति मिसन समेत रहेको छ । संयुक्त राष्ट्र संघको सुडान मिसनअन्तर्गत त्यहाँ शान्ति स्थापनाका लागि ६ जना सैनिक रहेको नेपाली सेनाले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल कृष्णप्रसाद भण्डारीले बाह्रखरीसँग भने, ‘सेवामा नेपालीहरू ६ जना हुनुहुन्छ, नेपाली सेनाको दुई जना, नेपाल प्रहरी र सशस्त्र बल गरेर चार जना हुनुहुन्छ ।’

राष्ट्र संघीय मिसनले नै नेपालसहित त्यहाँ रहेका सेनाहरूको उद्धारको तयारी गरिरहेको उनले बताए । सोहीअनुसार आइतबार ६ जना नै नेपाली शान्ति सैनिक छिमेकी मुलुकहरूमा जाने तयारी रहेको उनले बताए ।

सैनिक प्रवक्ता भण्डारीले भने, “उहाँहरू सुडानको विभिन्न ठाउँमा हुनुहुन्छ । आज नै उहाँहरू सडकमार्ग हुँदै राष्ट्र संघको मिसन रहेका अन्य देश चाड र उत्तर सुडानमा जाने तयारी रहेको पछिल्लो जानकारी छ, हवाईमार्गबाट जान सम्भव नहुँदा सडकमार्गबाट जाने तयारी छ ।”

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले त्यहाँ रहेका नेपालीहरूको विवरण संकलन भइरहेको बताएकी छन् । “सुडानमा हाम्रो दूतावास छैन, इजिप्टले हेर्छ । हामीले त्यहाँ समस्या सुरु हुने बित्तिकै नेपालीहरू कति हुनुहुन्छ भनेर डाटा लिइरहेका छौँ,” उनले बाह्रखरीसँग भनिन्, “यूएन मिसनमा गएको त हामीसँग रेकर्ड नै हुन्छ । अर्काे पीस किपिङ मिसन भन्दा बाहेकका यूएन एजेन्सीहरू जस्तै यूएनडीपी र अन्यमा कार्यरत कर्मचारी र केही अरु नेपाली भएको पाइएको छ ।”

परराष्ट्र मन्त्रालयकी सहसचिव समेत रहेकी लम्सालले सुडानमा विभिन्न संस्थाहरूमा काम गर्ने नेपाली र अन्य नेपालीको संख्या कति छ भन्ने एकिन भइनसकेको जानकारी दिइन् । 

समस्या परेको जानकारी आए उद्धार थाल्ने
त्यहाँ रहेका नेपालीहरूले आफ्नो स्थितिबारे जानकारी दिएपछि समस्यामा परेकाहरूको उद्धारका लागि सोहीअनुसार काम थाल्ने परराष्ट्रको भनाइ छ ।

“त्यहाँ पीस किपिङ मिसन पनि छ । पहिलो त त्यहाँ बस्ने नेपालीहरूलाई सहज, असहज के लागिरहेका छ त्यो आउनु पर्‍यो । त्यो कुरा नै यहाँ घर परिवारको तर्फबाट अथवा मिडियाबाट वा आफैबाट पनि हामी अप्ठ्यारोमा पर्याैं, हामी बाहिर निस्कन चाहन्छौँ भनेपछि अरुकुरा तय गर्ने हो, तर कसैले केही भनेपनि हामी सूचना संकलन गर्ने काम गरिरहेका छौँ,।”  

परराष्ट्रकी प्रवक्ता लम्सालले भनिन्, ‘हामीले अहिले अनौपचारिक रुपमा सूचना संकलन गर्ने र उहाँहरूबाट के आग्रह आउँछ अथवा के छ त्यहाँको अवस्थामा भनेर सावधानीपूर्वक हेरिरहेका छौँ, हाम्रो ध्यान पुगेकै छ,” उनले भनिन् ।

अमेरिका, चीनदेखि भारतीय नागरिकको उद्धार
संयुक्त राज्य अमेरिकाले सुडानबाट आफ्नो दूतावासका कूटनीतिज्ञ र नागरिकहरूलाई फिर्ता लगिसकेको छ ।

अमेरिकी सेनाको विशेष फोर्सले हवाईउद्धारमार्फत कूटनीतिज्ञ र उनीहरूको परिवारसहित आइतबार करिब १०० जना फिर्ता लगेको बताइएको छ ।

सुडानको राजधानी खार्तुममा रहेको दूतावास बन्द गरिएको छ । यस्तै फ्रान्सले पनि आफ्ना कूटनीतिज्ञ र नागरिकहरूको उद्धार थालेको छ भने, नेदरल्यान्डले पनि यही कदम पछ्याएको छ ।

यस्तै, साउदीले त्यहाँबाट आइतबार करिब १५० जनाको उद्धार गरेको बताएको छ । त्यसमा ९१ साउदीका नागरिक, ६६ जना भारतीय र १२ अन्य मुलुकका रहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै सुडानको अवस्था बिश्लेषण गरी आपतकालीन उद्धारको तयारी गर्न भनेका छन् ।

बेलायत, जर्मनी, स्पेन, जापान र दक्षिण कोरियाले पनि आफ्ना कूटनीतिज्ञ एवं नागरिकको उद्धारका लागि तयारी थालेका छन् । 

त्यहाँ रहेको चिनियाँ दूतावासले पनि आफ्ना नागरिकहरूलाई सचेत रहन भनेको छ । चिनियाँ दूतावासले सुडानबाट बाहिरिन चाहने नागरिकहरूलाई सम्बन्धित फर्म भर्नभन्दै विज्ञप्ति जारी गरेको छ ।

विश्वभरका मुलुकहरूसँगै नेपालले पनि आफ्ना नागरिकहरूको विवरण संकलन गरिरहेको र उद्धारबारे तयारी थालेको बताएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्