
काठमाडौं । एयर इन्डियाको विमान दुर्घटनाका एकमात्र जीवित यात्री विश्वासकुमार रमेश आफ्नो दाइ अजयको अन्त्येष्टिमा भाग लिएका छन् । गुजरातको दिउस्थित आफ्नै गृहनगरमा भएको अन्त्येष्टि कार्यक्रममा विश्वासले दाजुको शवलाई काँधमा बोकेका थिए । उनको शरीरमा चोटपटकका निसान स्पष्ट देखिन्थ्यो ।
उनीहरू जुन १२ मा अहमदाबादबाट लन्डन उडेको विमानबाट सँगै बसेका थिए । दुर्घटनामा २४१ यात्री र अन्य २९ जनाको मृत्यु भएको थियो ।
४० वर्षीय ब्रिटिस व्यवसायी विश्वास ब्रिटेनको लेस्टर निवासी हुन् । उनी अहमदाबादको सिभिल अस्पतालबाट मंगलबार साँझ डिस्चार्ज भएका थिए । विश्वास र अजय भारतको दिउमा परिवार भेटेर लन्डन फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।
सिभिल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राकेश जोशीले बुधबार बिहान डीएनए परीक्षणपछि अजयको शव परिवारलाई सुम्पिएको पुष्टि गरे ।
सेतो लुगा र निलो जिन्स लगाएका विश्वास भावुक देखिएका थिए । परिवारजनले उनलाई सहयोग गर्दै उभ्याएका थिए । दुर्घटनापछि उनका आमाबुबा र दुई भाइ गुजरात आएका थिए । परिवारका सबैजना पटेलवाडीबाट कोली समाज शवदाहस्थल (घाट) सम्म निकालिएको अन्त्येष्टि कार्यक्रममा उपस्थित भएका थिए ।
गत बिहीबार दिउँसो १ः३९ मा सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर अहमदाबादको एक मेडिकल कलेज परिसरमा ठोक्किएको थियो ।
एनडीटीभीबाट ।