site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नौ महिनामा एक अर्ब पाँच करोड बिगो दाबीसहित ३८ मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा एक अर्ब पाँच करोड ३४ लाख रुपैयाँ बिगोसहित ३८ मुद्दा दायर गरेको छ ।

विभागले गत चैत मसान्तसम्म राजस्व चुहावटतर्फ २१ वटा र विदेशी विनिमय अपचलनतर्फ १७ वटा मुद्दा दायर गरेको हो ।

यी मुद्दामध्ये कतिपय छिनोफानो भएका छन् भने कतिपय प्रक्रियामै रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार राजस्व चुहावट, झुटा तथा नक्कली विजक प्रयोग र विदेशी विनिमय अपचलनको आरोपमा विभागले अनुसन्धान गर्ने गर्दछ ।

“विभागमा दर्ता भएका सूचनाका आधारमा हामीले प्रारम्भिक अनुसन्धान गछौँ । त्यसमा दोषी देखिए विस्तृत अनुसन्धान हुने गर्छ,” उनले भने, “यो आर्थिक वर्षको चैत मसान्तसम्म राजस्व चुहावटतर्फ २१ वटा मुद्दा दायर गरी ९८ करोड ४० लाख १९ हजार रुपैयाँ बिगो माग गरिएको छ । त्यस्तै विदेशी विनिमयतर्फ विभागले ६ करोड ९४ लाख ७६ हजार रुपैयाँ बिगो रकम माग गरिएको छ ।”

विभागमा उजुरी परेपछि त्यसको प्रारम्भिक अनुसन्धान गर्ने गर्दछ । प्रारम्भिक अनुसन्धानमा आरोप पुष्टि नभए सम्बन्धित कम्पनीले सामान लिएर जान्छ । तर, ५० लाखभन्दा बढी बिगो भएको खण्डमा विभाग आफैले एक अधिकृत तोकेर विस्तृत अनुसन्धान गर्ने गर्दछ ।  

यसरी प्रारम्भिक अनुसन्धानबाट नै कतिपय व्यवसायिक ट्रक तथा कन्टेनर फर्कने गरेको अधिकारी बताउँछन् । विभागमा मुद्दा परेपछि दोषी देखिएमा त्यसको छिनोफानो हुन वर्षाै लाग्ने पनि उनले बताए ।

त्यसले गर्दा कतिपय वस्तु विभागले नै लिलाममार्फत बिक्री गरिदिने गरेको छ । त्यसरी बिक्री गरिने बस्तुको बोलपत्र गर्दा सम्बन्धित कम्पनीलाई नै पहिलो प्राथमिकता दिइने गरिन्छ ।

यसरी लिलामी बिक्रीबाट चैत मसान्तसम्म दुई वटा कम्पनीले ल्याएको सामान लिलामी गरी एक करोड ३३ लाख ६४ हजार रुपैयाँ रकम सरकारकै राजस्व खातामा जम्मा भएको छ । माघ २३ गतेदेखि चैत मसान्तसम्म विभागले उक्त रकम बराबरको वस्तु लिलामी बापत बिक्री गरेको हो ।

त्यस्तै, विभागले चैत मसान्तसम्म भेइकर एण्ड कन्साइनमेन्ट ट्रायाकिङ सिस्टम (भीसीटीएस) तर्फ २०० ट्रक तथा कन्टेनरलाई कारबाही गरेर ७७ लाख ३८ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

विभागले १२४ कम्पनीलाई कारबाही गरेर आठ करोड ७८ लाख रुपैयाँ धरौटी माग गरेको छ । यस्तो जरिवाना तथा धरौटी सामानको प्रकृति हेरेर ऐनमा गरिएको व्यवस्थाअनुसार हुने बताइएको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्म विभागले राजस्व चुहावटतर्फ ६१ वटा मुद्दा दायर गरी १० अर्ब चार करोड ५६ लाख रुपैयाँ बिगो माग गरिएको थियो ।

त्यस्तै, विदेशी विनिमय अपचलनको मुद्दा दायर गरी विभागले ६० वटा मुद्दामा तीन अर्ब २४ करोड ६४ लाख रुपैयाँ माग गरी बिगो दाबी गरेको थियो । सो वर्ष विभागले कुल १३ अर्बभन्दा बढी बिगो माग दावी गरेको थियो ।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म राजस्व चुहावटतर्फ ८४ मुद्दामा १९ अर्ब ८१ करोड ९५ लाख रुपैयाँ बिगोसहित मुद्दा दायर गरिएको थियो ।

सोही वर्ष विदेशी विनिमय अपचलन गरेको आरोपमा चार अर्ब ९४ करोड ५८ लाख रुपैयाँ बिगोसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०६:२३
प्रतिक्रिया दिनुहोस्