site stats
बाह्रखरी :: Baahrakhari
देश
म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो
बेनी नगरपालिका–४, सिंगास्थित तातोपानी कुण्ड । फाइल तस्बिर : फेसबुकबाट ।

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा तातोपानी निस्कने मुहान भेटिएको हो ।

बेनी–जोमसोम सडकको भिरकाटेपारि कालीगण्डकी र दोवा खोलाको दोभाननजिकै बगरमा बाफ उडेको देखेपछि खन्ने क्रममा तातोपानीको मुहान भेटिएको दोवा बेँसीका गमबहादुर राम्जालीले बताए ।

“बगरमा बाफ उडेको र पानी रसाएर चिसो भएको देखेपछि गल र बाउसोले खन्दा तातोपानीको मुहान भेटियो,” उनले भने, “एकपटकमा तीन–चारजनाले शरीर डुबाएर स्नान गर्न मिल्ने पोखरी बनाएका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीको मुहान अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–१ मा पर्ने दोवा बेँसी र बेनी–जोमसोम सडकको भिरकाटेखण्डको पारिपट्टि रहेको छ । दोवाका बासिन्दा सोही तातोपानीमा स्नान गर्न जान थालेका छन् ।

तातोपानी स्नान गर्न आएकी दोवाकी ६७ वर्षीया लालमाया पुर्जाले पानीमा वीरेनुन र अन्डा उमालेको जस्तो गन्ध आउने बताइन् । “सानो हुँदा यहाँको तातोपानीको पोखरीमा डुबेको याद छ । पछि मुहान पुरिएको थियो,” उनले भनिन्, “५५–६० वर्षपछि फेरि मुहान भेटिएकाले नुहाउन आएको हो ।”

दोवा, सुनारी, कटुञ्जेका बासिन्दा त्यस बेला यहाँको तातोपानीमा स्नान गरेर स्वास्थ्यलाभ गर्थे । तातोपानीको पोखरीमा स्नान गरेमा चोटपटक लागेको, सुन्निएको, बज्रिएको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

अहिले भेटिएको तातोपानी जमिनबाट माथि भुलभुल निक्लन्छ । तातोपानीको स्रोत मध्यम किसिमको छ । व्यवस्थित पोखरी बनाउन सकेमा २० देखि २५ जनासम्मले स्नान गर्न सक्छन् ।

अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश फगामीले नयाँ भेटिएको तातोपानीको मुहान संरक्षण र व्यवस्थापनको तयारी गरिएको बताए । “तातोपानीको संरक्षण र व्यवस्थापनका लागि स्थानीयवासीले माग गरेका छन्,” उनले भने, “अहिले भेटिएको भन्दा केही माथि पनि अर्को मुहान भएको सूचना आएकाले सबैको एकैपटक अध्ययन र व्यवस्थित बनाउने तयारी गरेका छौँ ।”

अन्नपूर्ण गाउँपालिकाको दोवा सेकार्कु, भुरुङ, पाउद्वार, रातोपानीमा यसअघि पहिचान भएका तातोपानीका मुहानको संरक्षण र व्यवस्थापन हुँदै आएको छ ।

यसैगरी, बेनी नगरपालिका–४ को सिंगा, रघुगंगा गाउँपालिका–४ को दर्मीजा, धवलागिरि गाउँपालिका–१, गुर्जा र वडा नम्बर–४, बगरमा रहेका तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रूपमा प्रयोग भएका छन् । रासस

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्