
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा घरेलु टिमविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
प्रतियोगितामा तीन खेलमध्ये दुईमा जित निकालेको नेपालले आज नतिजा आफ्नो पक्षमा राख्न सके शृंखलाको च्याम्पियन बन्नेछ ।
नेपालले यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा हार व्यहोरेको थियो । दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको नेपालले तेस्रो खेलमा डचविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
स्कटल्यान्डको ग्लासगोमा हुने यो खेल नेपाली समयअनुसार राति ७ : ४५ बजेदेखि सुरु हुनेछ ।
यता, नेपालविरुद्ध मैदान उत्रिँदा स्कटल्यान्ड जितसहित सुखद अन्त्यको खोजिमा हुनेछ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराए पनि त्यसपछिका दुई खेलमा लगातार हार व्यहोरेको छ । दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको स्कटल्यान्ड तेस्रो खेलमा नेदरल्यान्ड्ससँग १७ रनले निराश बनेको थियो ।