site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विराटनगर महानगरले ल्यायो तीन अर्ब २८ करोड ५० लाखको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेको छ । 

उपप्रमुख शिल्पा निराला कार्कीले आइतबारको १२औँ अधिवेशनमा तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट पेस गरेकी हुन् । 

स्रोतमा परेको चापका कारण महानगरले चालु आर्थिक वर्षको तुलनामा १२ करोड कम बजेट ल्याएको छ । यसअघि महानगरले तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारमार्फत अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ एक अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ चार करोड ५१ लाख ६३ हजार आय हुने अनुमान गरिएको छ ।

त्यस्तै, राजस्वतर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जनसहभागितातर्फ १० करोड, आन्तरिक ऋणतर्फ १० करोड, अन्य संघसंस्थातर्फ तीन करोड र नगद मौज्दात वापत दुई करोड आय हुने अनुमान गरिएको छ ।

व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ एक अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ तीन करोड ९६ लाख ८१ हजार खर्च हुने अनुमान गरेको छ ।

सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजारमध्ये स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षा तर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ तीन करोड पाँच लाख र वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रतर्फ दुई करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगर स्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमगत योजनाको भुक्तानीका लागि ६५ करोड, आरयूडीपीबाट निर्माण भएका लगायतका पिच सडकहरू समेत गरी मर्मत सम्भारमा १० करोड विनियोजन गरेको छ ।

त्यस्तै, सडक बत्तीतर्फ एक करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्र दुई करोड ६५ लाख र समपूरक कोषका लागि दुई करोड रुपैयाँ महानगरपालिकाले वियोजन गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्