site stats
बाह्रखरी :: Baahrakhari
देश
गैँडा मारेको मुद्दामा २५ वर्षदेखि फरार एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

भरतपुर । गैँडा मारेर खाग बिक्री गरेको आरोपमा १० वर्ष सजाय पाएर फरार रहेका एकजनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–२ का ५६ वर्षीय मीने साइला भन्ने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी आजै कारागार कार्यालय भरतपुरमा चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र एक लाख जरिवाना सजाय सुनाइएको थियो । त्यसयता भीमबहादुर फरार थिए । 

भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैँडा मारेर खाग लगेको आरोपमा दोषी ठहर गरिएको थियो । सो घटनामा १७ जना प्रतिवादीहरु संलग्न रहेको खुलेको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्