site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल आजका सञ्चालकले आफ्नै कार्यालयमा काम गरेकी युवतीलाई दुर्व्यवहार गरेको अदालतको ठहर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपालआज डटकमका सञ्चालक माधव गुरागाईंले आफ्नै कार्यलयमा काम गरेकी युवतीलाई दुर्व्यवहार गरेको ठहर गरेको छ ।

पहिले नेपाल आजमा काम गरेकी कञ्चन न्यौपानेको उजुरीले नेपाल सरकार वादी भई दायर मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले गुरागाईंलाई दोषी ठहर गरी जरिबाना र क्षतिपूर्ति सजाय तोेकेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्युतीय कारोबार ऐनको दफा ४७ (१) मा दोषीलाई एक लाखसम्म जरिबाना वा पाँच वर्षसम्म जेल वा दुवै सजाय हुने व्यवस्था छ । दफा ४७ (१) मा भनिएको छ, “..महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।”

अदालतबाट सोही दफा बमोजिम दोषी ठहर भएका गुरागाईंले सजायबाट बच्नका लागि भने आफूहरूबीच विवाह गर्नेसम्मको कुरा भएको र पछि अर्कै कार्यालयमा काम गर्न थालेपछि आवेशमा त्यसो गरेको भनेर बयान दिँदै सजाय घटाउन सफल भएका छन् ।

“..प्रतिवादी माधवप्रसाद गुरागाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम २० हजार रुपैयाँ जरिबाना हुनुका साथै ऐ. ऐनको दफा ५६ बमोजिम पीडितलाई पुग्न गएको क्षतिसमेतका आधारमा पीडितले प्रतिवादीबाट २० हजार रुपैयाँ क्षतिपूर्तिबापत रकम भराई लिन पाउने ठहर्छ,” आदेशमा भनिएको छ, “यसका साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(२) बमोजिम प्रतिवादी माधवप्रसाद गुरागाईंबाट क्षतिपूर्ति शुल्क बापत ८०० रुपैयाँ असुल गरी पीडित राहतकोषमा जम्मा गरिदिने ठहर्छ ।”

माघ २९ गते आएको फैसलाको पूर्णपाठ भने केहीदिन अघि मात्र आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्