site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्नैप्रश्न– रेशम चौधरीलाई थुन्न मिल्छ कि मिल्दैन ?

काठमडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ जारी छ ।

सोमबार संसदीय सुनुवाइमा प्रधानन्यायाधीश श्रेष्ठलाई सांसदहरूले विभिन्न प्रश्न सोधेका छन् । उनीहरूले न्यायपालिकाको सुधार योजना र श्रेष्ठमाथि लागेका व्यक्तिगत आरोपका विषयमा प्रश्न गरेका छन् ।

“यो देशमा भएको भ्रष्टाचार, अनियमितता न्यायालबाट सुधार गर्ने जनताको माग छ, यसमा तपाईंको धारण के छ ?,” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डीपी अर्यालले सोधेका छन्, “क्यापिटल मर्चेन्ट फाइनान्स र राजन विष्टको नाम किटेर आएको छ, यसमा पनि स्पष्ट पारिदिनुहोला ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्यालले ‘फास्ट ट्रयाक’बाट न्याय दिने विषयमा आफ्नो कार्ययोजना राख्न भन्दै ‘चेन अफ कमान्ड’को अध्ययन कसरी गर्नुहुन्छ ? भनी प्रश्न गरे ।

नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले अदालतमा पुराना मुद्दाहरूका चाङ कहिले घट्छ ? भन्दै प्रश्न गरे ।

“सर्वोच्च अदालत र सबै अदालतका पुराना मुद्दा पूरै फर्छ्योट गर्ने ठोस योजना के छ ?,” राष्ट्रियसभामा एमाले संसदीय दलका नेता समेत रहेका दाहालले प्रश्न गरे, “प्रहरी प्रयोग गरी राज्यसत्ताका प्रमुखहरूले नै कानुन र फैसला मान्दैनन्, यसमा के छ योजना ?”

यस्तै, एमालेका सांसद महेश बर्तौलाले न्याय किन महँगो भएको र नागरिकले न्यायालय जान नसक्ने अवस्था कसरी आयो ? भनी प्रश्न गरे ।

“धेरै मानिस न्याय महँगो भयो, न्यायालयमा आउन सकेनन्, कसको कारणले महँगो भयो, बार कि बेन्चले ?,” बर्तौलाले प्रश्न गरे, “यसलाई कसरी समाधान गर्नुहुन्छ ?”

उनले न्यायालयमा न्यायाधीश नियुक्ति किन भएन ? किन न्यायाधीशको पूर्णता भएन ? बेथितिको सिकार को हो ? भनेर पनि प्रश्न गरेका थिए ।

“न्यायालयप्रति नागरिकको भरोसा मरेको छ, न्याय खरिद–बिक्री हुन्छ भन्ने छ, यसलाई कसरी लिनुहुन्छ ?,” बतौलाले थप प्रश्न गरे, “पैसा नभएको कारणले न्यायालयको ढोकामा आउन नसकेकाहरूको बारेमा के सोच्नुभएको छ ?”

नेपाली कांग्रेसका संसद रमेशजंग रायमाझीले न्यायलयमा भित्रिएका विकृति–विसंगतिको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न गरे । उनले बाहिरका सम्बन्धका आफन्तहरूले अदालतमा किन सहज पहुँच पाउँछन् ? भन्ने विषयमा पनि प्रश्न गरे ।

“न्यायालयमा विकृति आयो भन्ने सुनिन्छ, त्यसको जिम्मेवार को हो ? राजनीतिक दल, न्यायालय, न्यायाधीश वा मुद्दा हाल्ने जनता ? को हो दोषी ?,” राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता समेत रहेका रायमाझीले प्रश्न गरे, “सधैँ बिचौलियाको कुरा उठ्छ, को हो त्यो बिचौलिया ? न्यायाधीश बाहिर कोही कसको आफन्त होला, तर किन अदालतमा उनीहरूलाइ इन्ट्री हुन्छ ? किन कारबाही हुँदैन ?”

उनले प्रधानन्यायाधीशका रूपमा १३ महिनाको कार्यकालमा पुराना मुद्दा फैसला गर्न सकिन्छ कि सकिँदैन ? भन्दै थप प्रश्न गरेका थिए । उनले रेशम चौधरीको मुद्दामा अपराधी हो भनेर आएको भन्दै अब फेरि थुन्न मिल्छ कि मिल्दैन ? भनेर प्रश्न गरेका थिए ।

“राष्ट्रपतिबाट आममाफी पाएपछि सर्वोच्चको फैसलाको पूर्णपाठमा रेशम चौधरी अपराधी हो भनेर आयो । रेशम चौधरीलाई थुन्न मिल्छ कि मिल्दैन ?,” रायमाझीले प्रश्न गरे, “अब उजुरी लिएर सरोकारवाला सर्वोच्च जान पाउँछ कि पाउँदैन ?”

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्