site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जब विदेशी कूटनीतिज्ञले देउवाविरुद्ध कांग्रेसमा के हुँदै छ भनेर सोधे...

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यले विदेशी कूटनीतिज्ञले शेरबहादुर देउवाविरुद्ध कांग्रेसमा के हुँदै छ भनेर सोधेको खुलाएका छन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले सभापतिको विस्थापन हुन लागेको हो भन्दै प्रश्न उठाएको कुरा जारी केन्द्रीय समिति बैठकमा राखेका हुन् । 

“अस्ति मलाई एकजना कूटनीतिज्ञले फोन गरे र सोधे– तिम्रो पार्टीमा के हुँदै छ, पार्टी सभापतिको विषयमा केही हुन लागेको हो ?,” डा. खड्काले भने, “त्यो प्रश्नको आधार काठमाडौं पोष्टमा आएको समाचार भएको आफूले थाहा पाएँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले त्यहाँ ‘कांग्रेस डिसिडेन्ट टू देउवा मेन्ड वे अर फेस कन्सिक्वेन्सेज’ भन्ने हेडलाइन रहेको बताए । 

“अर्थात सभापतिलाई सुधार गर वा परिणाम भोग’ भन्ने हेडलाइन्स रहेछ,” डा. खड्काले भने, “एउटा लोकतान्त्रिक पार्टीमा पार्टी सभापतिलाई सुधार गर नभए परिणाम भोग भन्ने हेडलाइन दिइन्छ भने यो पार्टीको हाम्रो ‘लेजिटिमेसी’ त छँदै छ, यसको बाहिरी मान्यता, संसारले हामीलाई हेर्ने दृष्टिकोण के होला ?” 

खड्काले त्यसपछि नेपाली कांग्रेसको विधानले काम नगर्ने बताए । उनले विधानले १४ जना पदाधिकारीको व्यवस्था गरेको भन्दै निर्वाचित सभापतिका विषयमा यस्तो समाचार आउने कस्तो पार्टी भन्दै प्रश्न उठाए । 

उनले अहिले शेरबहादुर देउवा सभापति भएको भन्दै व्यक्तित्व र अनुभवले पार्टी चलिरहेको र भोलि आउने व्यक्तिले पार्टी चलाउन नसक्ने बताए । 

“सभापति शेरबहादुर देउवा र तपाईंहरूबीच २०/२५ वर्ष फरक छ, उहाँको अनुभव र व्यक्तित्वको क्षमताले पनि पार्टीलाई लिएर हिड्नुभएको छ,” खड्काले भने “भोलि त नेतृत्वको आकांक्षीको लामो लाइन हुनसक्छ । हम किसिसे कम नही भन्नेको लाइन हुन्छ । पार्टी सभापति भएर कसरी काम गर्नुहुन्छ ?” 

उनले पार्टी सभापतिमा हार्नेले पनि हिस्सा खोज्ने र सभापतिलाई यस्ता धम्की दिने गरेकोप्रति आपत्ति जनाए । 

“पार्टी सभापतिमा हार्नु हुन्छ अनि ४० प्रतिशत हिस्स्सा चाहिन्छ भन्नुहुन्छ,” खड्काले भने, “सभापतिका विषयमा आउने यस्ता समाचारले के सन्देश दिन्छ ?”

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्