site stats
बाह्रखरी :: Baahrakhari
विदेश
निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती

न्यूयोर्क । भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ ।

साथै नयाँदिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनसुन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने सिलसिलामा न्यूयोर्कमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले मंगलबार आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए ।

हालै क्यानडाले निज्जर हत्यामा भारतीको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताएपछि ओटावा र नयाँदिल्लीबीचको सम्बन्ध नराम्ररी चिसिएको  छ । आपसी सम्बन्धमा यति तिक्ततापूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्कासन गर्नेदेखि भिसा नदिनेसम्मका निर्णय गरेका छन् । 

भारतले क्यानडाको विश्वसनीय सूचनालाई उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ । भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा  छानबिन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री जयशंकरले  त्यसमा दिल्लीको कुनै भूमिका नभएको दोहोर्‍याए । उनले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती पनि दिए ।

हरदीप सिंह निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । उनलाई सन् २०२० मा भारतले आतंकवादी घोषणा गरेको थियो । यद्यपि उनका समर्थकहरूले यसलाई अस्वीकार गर्दै आएका छन् । 

पश्चिमा देशहरूमा पृथकतावादीहरूको खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै विरोधप्रदर्शन गर्नेलगायत भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ । 

सन् अस्सीको दशकमा शिख बहुल पञ्जाब राज्यमा केन्द्रित हिंसात्मक विद्रोहले खालिस्तान आन्दोलनको रुप लिएको हो । यो आन्दोलन भारतमा मत्थर भए पनि क्यानडा, अष्ट्रेलिया र बेलायत जस्ता देशका शिखले बेलाबखत भारत विरोधी गतिविधि गर्दै आएका छन् । रासस/एएनआई

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्