
काठमाडौं । पोखरामा अन्तर्राष्ट्रियस्तरको गल्फ कोर्स निर्माणका अभियन्ता मेजर रामबहादुर गुरुङलाई बाह्रखरी मिडियाले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरेको छ । ‘नेपाल गल्फ आइकन डे–२०२५’को अवसरमा शुक्रबार बेलुका काठमाडौंमा आयोजित एक विशेष समारोहमा उनलाई प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान गरेका हुन् ।
को हुन् गुरुङ ?
गुरुङको जन्म डिसेम्बर ३, १९४५ मा तत्कालीन भारत (अहिले पाकिस्तानमा पर्ने) पश्चिम अवटाबादमा भएको हो ।
सन् १९४९ मा भारतमा ब्रिटिस शासनको अन्त्य भएपछि उनको परिवार भारतबाट तत्कालीन मलाया (अहिलेको मलेसिया) हुँदै हङकङसम्मको लामो यात्रा गरेको थियो । उनी त्यतिबेला लगभग चार वर्षका थिए ।
बुबाको जागिरको सिलसिलमा उनको परिवार कलकत्ताबाट सैनिक जहाजमा चढेर म्यानमारको रंगुन हुँदै समुद्र मार्गबाट मलेसियाको पेनाङ पुगे । उनीहरू सैनिक ट्रकमा सुन्गाई पेतानीको ठूलो ब्रिटिस क्याम्पमा पुगे र केही हप्ता त्यहीँ बसेपछि उनीहरू ट्रेनबाट सिंगापुर गए र अर्को सैनिक जहाजमा चढेर हङकङ पुगे, जहाँ उनीहरू बुबाको बटालियनमा सामेल भए ।
सन् १९५१ मा रामबहादुर गुरुङ पहिलोपटक नेपाल आउँदा उनी ६ वर्षका थिए । उनको पुर्ख्यौली घर कास्कीको घान्द्रुकमा हो ।
उनी आज पनि के सम्झन्छन् भने उनको परिवार रेल लाइनको अन्तिम स्टेसन नौतनहवाबाट हिँड्न सुरु गरेको थियो । उनीहरू बुटवल–तानसेन हुँदै हिँडेर एक हप्ता लगाएर पहाडी बाटो हुँदै कास्कीको घान्द्रुक पुगे ।
सन् १९५८ देखि १९६४ को समयमा रामबहादुर गुरुङ अलेक्जान्ड्रा ग्रामर स्कुलमा आफ्नो शिक्षाको अर्को चरण सुरु गर्न सिंगापुर पुगे । अलेक्जान्ड्रा ग्रामर स्कुलमा बसेको बेलामा १४ वर्षको उमेरमा उनलाई ब्वाई सोल्जर (बाल सैनिक)को रूपमा भर्ती हुने अवसर दिइयो । यो एक प्रकारको छात्रवृत्ति पनि थियो । यसमा केही पकेट खर्च, वार्षिक निःशुल्क रेल यात्रा अनुमतिपत्र र सेनाको सुविधाहरू प्रदान गरिन्थ्यो । त्यसपछि उनको सैन्य जीवनको सुरुवात भयो ।
सन् १९७५ देखि १९७७ सम्म उनी यूकेमा तैनाथ भए, जहाँ उनको प्रमुख भूमिकाहरूमध्ये एक बकिंघम प्यालेसमा समारोहिक सेवा गर्ने थियो । उनी बकिंघम प्यालेसमा गार्ड अफ क्याप्टेन नियुक्त हुने दोस्रो स्यान्डहर्स्ट गोर्खा र पहिलो गुरुङ थिए ।
गल्फप्रतिको मोह
जब गुरुङ ब्रिटिस सेनाको ‘टू जीआर’ गोरखा राइफल्सबाट ३४ वर्षको सेवापछि सन् १९९४ जनवरीमा सेवा निवृत्त भए, गल्फ खेलप्रति उनको मोह बढ्यो ।
उमेर बढ्दै जाँदा मन पराएका चुनौतीपूर्ण खेलहरूको सट्टामा उनको गल्फ खेल्ने उत्कट चाहना थियो । उनले त्यसअघि पनि बेलाबेला गल्फ खेलेका थिए । उनलाई लागेको थियो गल्फ धनीको खेल हो ।
हङकङमा, डिप वाटर बे को समुद्री किनारको नौ होलको कोर्समा खेल्ने मजा नै अर्कै थियो । ब्रुनाइमा, सुल्तानको निजी कोर्समा खेल्ने अवसर पनि उनले पाए, जहाँ होल–इन–वानमा कार पुरस्कार दिइन्थ्यो ।
उनी सधैँ गल्फ कोर्स भएको ठाउँमा निवृत्त जीवन बाँच्न चाहन्थे । सन् १९९३ मा उनले पोखरामा गल्फ कोर्स स्थापना गर्ने सपना देखे । पोखरामा उनले एकजना प्रतिष्ठित व्यवसायी सूर्यबहादुर केसी भेटे । अनि, गल्फ कोर्सका विषयमा पनि कुरा गरे ।
उनले पोखरा वरपरको जमिनको पूर्ण अनुगमन गरे । उनले त्यहाँ नदी बगेको, धेरै सस्तोमा पाइने कम उत्पादकत्व भएको जमिन भेटे । त्यहाँको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने त्यहाँबाट हिमालयको अद्भूत दृश्य देखिन्छ । जहाँ संसारका गल्फ कोर्सभन्दा फरक अनुभूति गर्न पाइन्छ ।
उनले सन् १९९३ मा पोखरामा गल्फ कोर्स स्थापनाका लागि जग्गा हेरेका थिए । सन् १९९४ बाट उनले त्यहाँ धमाधम गल्फ कोर्स निर्माणको अभियान अघि बढाए ।
मुलुकमा द्वन्द्व थियो । समूहमा काम गर्नेहरू त्यसबेला अहिलेभन्दा सहज तरिकाले उपलब्ध हुन्थे, त्यसकारण पनि छिटो कोर्स निर्माण गर्न सहज भयो ।
जुन कोर्समा विश्वकै प्रतिष्ठित खेलाडी तथा डिजाइनर पनि खेलिसकेका छन् । बाह्रखरी मिडियाले पनि पोखरामा अवस्थित उक्त हिमालयन गल्फ कोर्समा दुई पटकसम्म ‘कर्पोरेट गल्फ’ प्रतियोगिता आयोजना गरिसकेको छ ।
मेजर रामबहादुर गुरुङको सक्रियतामा तयार भएको कोर्समा विश्वकै एक प्रतिष्ठित डिजाइनर ‘टम डक’ले विश्वकै उत्कृष्ट १० कोर्समध्येको एक भएको टिप्पणी गरेका थिए ।
गुरुङलाई यहाँ क्लबहाउस स्थापना गर्ने प्रेरणा भुटानको फेदीमा अवस्थित डुअर्समा देखेको एक टी प्लान्टर हाउसबाट प्राप्त गरेको थिए, जुन स्कटिस एडभन्चरर्सहरूले निर्माण गरेका थिए ।
गोल्फ कोर्स बनाउन र यसलाई आकार दिन उनलाई चारवर्ष लाग्यो । अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय कोर्सको रूपमा स्थापित गर्न र प्रचार गर्न उनले अर्को तीनवर्ष समर्पित गरे । यो अहिले एसिया–प्रशान्त क्षेत्रमा पेशेवर प्यानलमा २३औँ स्थानमा पर्छ ।
विश्वकै सबैभन्दा सुन्दर र चुनौतीपूर्ण कोर्समध्येका एक, सेती नदीको खोँचमा अवस्थित कोर्सले विश्वका खेलाडीलाई आकर्षण गरिरहेको छ ।