site stats
बाह्रखरी :: Baahrakhari
देश
डा. केसीले सरकारलाई भने– चिकित्सकहरूमाथि हातपात गर्नेलाई हदैसम्मको कारबाही गर 

काठमाडौं । सामाजिक अभियन्ता डा. गोविन्द केसीले चिकित्सकहरूमाथि हातपात र आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । 

“यो अवस्थामा तत्काल त्यस्ता घटना रोक्न तथा तिनमा संलग्न हुनेहरूलाई हदैसम्मको कारबाही गर्न, आवश्यक परे नयाँ कानुनी व्यवस्था गर्नसमेत हामी नेपाल सरकारसित जोडदार माग गर्दछौँ,” डा. केसीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वास्थ्य सेवाको गुणस्तर बढाउनका लागि देशभर सार्वजनिक स्वास्थ्य संस्थाहरूको क्षमता बढाउन, स्तरोन्नति गर्न, केन्द्रीय अस्पतालदेखि स्वास्थ्यचौकीसम्म आवश्यक भौतिक पूर्वाधार पुर्‍याउन तथा ती संस्थामा उपचार निःशुल्क बनाउन र सूचीकृत सबै निःशुल्क औषधिहरू सहज रूपमा उपलब्ध गराउन समेत उनले सरकारको ध्यानाकर्षण गरेका छन् । 

चिकित्सकहरूमाथि भइरहेका हातपात र आक्रमणका घटनाहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले यस्ता घटनाले न्यूनतम सुविधामा दिनरात खटेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको मनोबल गिर्नुका साथै देशको सिंगो स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त हुने अवस्था सिर्जना भएको बताएका छन् । 

“कुनै पनि देशमा राम्रो स्वास्थ्यका लागि बलियो डाक्टर–बिरामी सम्बन्ध अनिवार्य हुन्छ । त्यसका लागि देशमा पर्याप्त पूर्वाधार र जनशक्तिसहितका सार्वजनिक अस्पतालहरू हुनुपर्छ । नेपालमा एकातिर सरकारी संस्थामै निःशुल्क उपचार छैन, निजी अस्पतालहरूको शुल्क अचाक्ली महंगो छ भने अर्कातिर चिकित्सक र स्वास्थ्यकर्मीहरू श्रम शोषणको शिकार बनेका छन्,” उनले भनेका छन् । 

प्रतिकूल अवस्थाका बाबजुद निरन्तर बिरामीको सेवामा खट्ने डाक्टर र स्वास्थ्यकर्मीहरूमाथि आक्रमण हुँदासमेत सरकारले आवश्यक कारबाही नगरेको उनले बताएका छन् । 

डा. केसीले विज्ञप्तिमा भनेका छन्, “यसबीच नेपाल सरकार र नेपाल चिकित्सक संघबीच बारम्बार विभिन्न सहमति भए पनि सरकारले त्यसलाई कार्यान्वयन गर्ने गरेको छैन । त्यस्तै चिकित्सक संघले समेत कुनै घटना भएपछि तात्नेबाहेक यस्ता समस्याको दीर्घकालीन समाधानका लागि दलीय स्वार्थबाट माथि उठेर काम गर्न सकेको छैन । फलस्वरुप देशभरका चिकित्सक र स्वास्थ्यकर्मीले प्रणालीमा विश्वास गुमाइरहेका छन् ।”

देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले अहिलेझैँ प्रणालीमा विश्वास गुमाउँदै जाने हो भने आउन सक्ने विकराल अवस्थाका लागि नेपाल सरकार जिम्मेवार हुने उनले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्