site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले कोसी अध्यक्षमा ढकाल र खतिवडाको उमेदवारी

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीको नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास टरेको छ । मोरङको विराटनगरमा जारी पार्टीको पहिलो कोसी अधिवेशनमा अध्यक्ष पदका निम्ति दुईजनाले उमेदवारी दर्ता गराएका छन् ।

निर्वाचनस्थल मनास्लु पार्टी प्यालेसमा अहिले मनोनयन दर्ता गराउन एमालेका नेता–कार्यकर्ता लामबद्ध छन् । निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा विराटनगरकै विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाले आ–आफ्नो मनोनयन दर्ता गराएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हावाहुरीसहितको वर्षाका कारण केही ढिलो गरी मनोनयन दर्ता प्रक्रिया सुरु गरिएको थियो । अधिवेशन आयोजक मूल समितिका संयोजक तुलसीप्रसाद न्यौपानेका अनुसार अध्यक्षसहितका पदमा धमाधम मनोनयन दर्ता भइरहेको छ ।

शनिबारै साँझ साढे ७ बजेसम्म मनोनयन दर्ता पूरा गरी उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ । “उमेदवारी दर्ता भइसकेपछि शनिबार साँझ नै उमेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ,” न्यौपानेले बाह्रखरीसित भने, “दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गरिनेछ ।”

नेतृत्व चयनका निम्ति आइतबार बिहान ११ बजेदेखि मतदान सुरु गरिने कार्यतालिका छ ।

यो अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी चयन गरिनेछ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित हुनेछन् ।

शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोसीको अधिवेशन उद्घाटन गरेका थिए । केन्द्रीय नेताहरूको पहलमा सर्वसम्मतिको प्रयास गरिए पनि अध्यक्षमा ढकाल र खतिवडाले छाड्न नमानेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो । ओलीले महासचिव शंकर पोखरेललाई सहमितको प्रयास गर्ने जिम्मेवारी दिएर आफू काठमाडौं फर्किएका थिए ।

ढकाल पार्टीको मोरङ अध्यक्षका रूपमा दुई कार्यकाल काम गरेका नेता हुन् । खतिवडा प्रतिनिधिसभा सदस्यका रूपमा काम गरिसकेका पाका नेतामा पर्छन् ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्