site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालबाट मनसुन बाहिरिन कति दिन लाग्छ ?
फाइल तस्बिर

काठमाडौं । नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो । 

शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 
नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले बताएको छ । “हिजोबाट मनसुन बाहिरिन सुरु भएको छ । पश्चिमबाट क्रमशः मनसुन पूर्वतर्फ सरिरहेको छ,” मौसमविद् सञ्जिव अधिकारी बाह्रखरीसँग भन्छन्, “पश्चिमबाट पूर्वतर्फ सर्दै नेपालबाट मनसुन बाहिरिने हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा वर्षा भइरहेकाले आजै यी क्षेत्रबाट मनसुन बाहिरिने सम्भावना नरहेको उनी बताउँछन् । “आज लुम्बिनी प्रदेशबाट पनि मनसुन बाहिरिने सम्भावना छैन किन भने लुम्बिनीका भू–भागमा वर्षा भइरहेको छ,” मौसमविद् अधिकारीले भने । 

मनसुन बाहिरिन सुरु भए पनि कति दिनभित्र बाहिरिसक्छ भन्ने यकिन नरहेको उनको भनाइ छ । “मनसुन बाहिरिन सुरु भएको एकदुई दिनभित्रै पनि पूर्ण रूपमा बाहिरिन्छ, एक हप्ता पनि लाग्छ सक्छ, त्यसैले यति दिनभित्रै नेपालबाट मनसुन बाहिरिन्छ भन्ने हुँदैन,” उनी स्पष्ट पार्छन् । 

सुदूरपश्चिमबाट सुरु भएको मनसुनी प्रणाली कोसी प्रदेशबाट पनि बाहिरिएपछि नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिने अधिकारी बताउँछन् । 

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । यो वर्ष पनि केही दिन ढिलोबाट मनसुन बाहिरिन सुरु भएको हो । 

यो वर्ष जेठ १३ गते नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ (जेठ ३०) हो ।
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्