site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई महिनामा कूल निर्यातभन्दा साढे आठ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा नेपालले कूल निर्यातभन्दा साढे आठ अर्ब रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आबको साउन–भदौमा नेपालले कुल २६ अर्ब, ४४ करोड ७० लाख ३३ हजार निर्यात गरेको छ । उक्त समय अवधिमा ३४ अर्ब ९३ करोड ९९ लाख ८३ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

दुई महिनामा आयात निम्ति दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ बाहिरिएको छ । नेपालले पेट्रोलियम पदार्थको आयात नेपाल आयल निगमले गर्छ । निगमले इन्डियन आयल कर्पोरेशनबाट सीधै उपभोग गर्न सकिने पेट्रोलियम पदार्थको खरिद गर्ने गर्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भन्सार विभागको तथ्यांकअनुसार नेपालले दुई महिनामा ११ अर्ब ३० करोड ५७ लाख ७३ हजार रुपैयाँको एक लाख १२ हजार १८२ किलोलिटर पेट्रोल आयात गरेको छ । उक्त अवधिमा ५५ करोड ९४ लाख १६ हजार रुपैयाँको ८१ लाख ८५ हजार ६६९ लिटर हवाईफ्युल आयात गरेको छ ।

साउन र भदौमा १५ अर्ब ७४ करोड ८४ लाख ८३ हजार रुपैयाँको एक लाख ५१ लाख ३७२ किलोलिटर डिजेल आयात गरेको जानकारी विभागले दिएको छ । उक्त दुइ महिनामा सात अर्ब ३२ करोड ६३ लाख १३ हजार रुपैयाँको आठ करोड ८२ लाख ७१ हजार ४८६ केजी खाना पकाउने एलपीजी ग्यास आयात गरेको छ ।

१४ अर्ब राजश्व संकलन

नेपालले दुई महिनामा पेट्रोल, डिजेल, हवाई फ्युल र एलपीजी ग्यासबाट १४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।  विभागको तथ्यांकअनुसार साउन र भदौमा १४ अर्ब एक करोड ९८ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कूल निर्यात पनि घट्यो 

गत वर्ष २०७९–०८० को तुलनामा कूल निर्यातमा पनि दुई अर्ब २३ करोड ३४ लाख चार रुपैयाँ कमी आएको छ  ।  गत वर्षको साउन र भदौमा कुल २८ अर्ब ६८ करोड चार लाख ३७ हजार रुपैयाँ बराबरका सामान निर्यात भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्