site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्री साउद आज अमेरिका जाँदै 
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद आइतबार (आज) अमेरिका जाँदै छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्ता सकिएपछि उनी अमेरिका प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले यही अक्टोबर ३० मा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग वासिङटन डीसीमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणमा परराष्ट्रमन्त्री साउदले अन्तर्राष्ट्रिय विकासका निमित अमेरिकी नियोग (यूएसएआईडी)की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत एलिस पी. अल्ब्राइट र अमेरिकी सरकारका अरू उच्चस्तरीय अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकामा रहँदा उनी युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (यूएसआईपी)मा आयोजना गरिने अन्तरक्रिया कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँग अन्तरक्रिया, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाली–अमेरिकी व्यवसायीसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्रीको नेतृत्वमा अमेरिका जाने नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका निम्ति नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङटन डीसीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरू छन् ।

परराष्ट्रमन्त्री साउद यही कात्तिक १९ गते नेपाल फर्कनेछन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्