site stats
बाह्रखरी :: Baahrakhari
देश
तास भित्रिँदा अर्थ मन्त्रालय खुसी, गृहलाई झमेला ? के खेल्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । नेपाल यस्तो अनौठो मुलुक हो, तास भित्र्याउँदा अर्थ मन्त्रालय खुसी हुन्छ, गृह मन्त्रालयलाई झमेला । अर्थ मन्त्रालयका कर्मचारीहरु तासमा आकर्षक राजस्व उठाउँछन् भने त्यही तास खेल्नेहरुलाई गृह मन्त्रालयका प्रहरीहरु ‘अभियुक्त’ बनाउँछन् ।

प्रहरी दिनहुँ जुवाडे पक्राऊ गरेको सूचना प्रवाह गरिरहेको हुन्छ । गत ११ कात्तिकमा प्रहरी वृत्त सिंहदरबारले गायक तथा मोडेल चक्र बमसहित ९ कलाकारलाई पक्राउ गर्‍यो । उनीहरुलाई प्रहरीले जुवाडेको बिल्ला भिडायो ।

पक्राउ परेका ९ जनालाई नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार जनही १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्‍यो ।  प्रहरीले उनीहरुको साथबाट एक लाख ९० हजार रुपैयाँ बरामद गरेको थियो । प्रहरीले दैनिक जुवा खेलिरहेको अवस्थामा मानिसलाई पक्राउ गरेर सार्वजनिक गर्दै आएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एकातिर तास खेल्ने पक्राउ हुँदै गर्दा अर्कातिर भन्सार विभाग तास आयातबाट प्राप्त राजस्व अंक सार्वजनिक गर्दै थियो ।  भन्सार विभागका अनुसार गएको दुई महिनामा करिब साढे ६ करोडको तास नेपाल भित्रिए । भन्सार विभागका अनुसार, चीनबाट ६ करोड एक लाख २१ हजार रुपैयाँको तास आयात भएको थयो भने भारतबाट ४३ लाख ६३ हजार रुपैयाँको भएको थयो । त्यसपछिको एक महिनामै करिब आठ करोडको तास आयात भएको देखिन्छ । 

चालु आर्थिक वर्ष २०८०–८१ को तीन महिनाामा १४ करोड ४९ लाख ३२ हजारको ताय आयात भएको छ । अघिल्लो आर्थिक वर्ष ०७९–८० मा २१ करोड २७ लाख १४ हजारको तास आयात भएको थियो । भन्सार विभागले जसमा १३ करोड ७३ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गर्‍यो ।

नेपालमा चीनबाट सबभन्दा बढी तास आयात हुन्छ भने त्यसपछि मात्रै भारतबाट । 

अर्थ मन्त्रालयले त्यसरी भित्रिएको तासलाई कहिल्यै ‘अवैध’ ठानेको छैन । तर, त्यसरी भित्रिएको तास खेल्नेहरुलाई पक्राउ गर्नु प्रहरीको नियमित काम बनेको छ । राज्यले नै खुला व्यापारको रुपमा किनबेचको अनुमति दिएको तासखेल्दा प्रहरीले पक्राउ गर्नुको विरोधाभासमा मुलुक निरन्तर छ । 

तास खेल्नु अवैध हो भने आयात गर्नु र बिक्री गर्नु कसरी वैध हुन्छ ?

चाडबाडका बेला सामान्य मनोरञ्जन गर्ने उद्देश्यले आफन्त साथी–भाइ एक ठाउँमा जम्मा हुँदै रमाइलोका लागि तास खेलिरहेकालाई प्रहरीले जुवाडेको बिल्ला भिराउँछ । अर्काे त, अवकाशप्राप्त जागिरेहरु दिन कटाउन तास खेल्छन्, प्रहरीले त्यसलाई पचाउँदैन । 

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले मनोरञ्जनको हिसाबले खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ नगर्ने बताए । “प्रहरीले तासलाई मनोरञ्जनका रुपमा प्रयोग गरिरहेकाहरुलाई खोजेर पक्राउ गरेको छैन,” उनी भन्छन्, “तर, तासलाई जुवा र हारजितको रुपमा प्रयोग भएको पाइए पक्राउ गर्छ ।”

हार–जितको खेल खेल्नेहरुलाई कानुनी रुपमै कारबाही हुने उनको भनाई छ ।  उनी भन्छन्, “हार–जित हुने गरेर खेल्दा रुपैयाँ कति हार्‍यो हारेन त्यो मतलब भएन पैसाको कुरा आउँदा त्यो जुवा नै हो ।”

प्रहरीले चाडबाडको बेला घरमा सामान्य रुपमा तासखेल्दा मनोरञ्जन गर्दा खोजेर पक्राउ नगर्ने बताएको छ ।  तिहार लागेसँगै अधिकांश ठाउँमा ठूलो रकम हारजित गर्ने उद्देश्यले जुवातास खेल्ने गर्छन् । 

कति पर्छन् पक्राउ ?

देशभरको प्रहरीले दैनिक जसो तास खेल्नेलाई पक्राउ गर्दै सार्वजनिक गर्ने गरेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार, पछिल्लो तीन महिनामा मात्रै २२८ जना जुवाडे पक्राउ परेका छन् । 

त्यस्तै ०७८–७९ मा  २ हजार २२३ जना पक्राउ परेका थिए । आर्थिक वर्ष ०७९–०८० मा २ हजार २५० जना पक्राउ परे । त्यसमध्ये २५१ जना महिलासमेत थिए । जुवा तास आरोपमा पक्राउ पर्नेलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाउने गर्छ ।

बिगोको आधारमा उनीहरुलाई धरौटीमा छाड्ने वा तीन महिनादेखि एक वर्ष कैद सजाय गर्ने अधिकार जिल्ला प्रशासन प्रमुख (सीडीओ) सँग हुन्छ ।  जुवातास आरोपमा पक्राउ परेका सबैजसो प्रशासन कार्यालयबाट छुट्ने गर्छन् ।

न्यायालयको नजिर

उसो त, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तत्कालीन पुनरावेदन अदालत विराटनगरको न्यायाधीश हुँदा ‘म्यारिज खेल’ लाई जुवाको परिभाषाबाहिर नै राखेका थिए । २०५८ साउन ११ मै राणा सम्मिलित इजलासले उक्त फैसला गरेको थियो । 

जुन फैसलाका कारण उनी विवादमासमेत परे । 

फैसलामा भनिएको थियो, ‘जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगको आधारमा बाजी थापी खेलेको खेल सम्झनुपर्ने हुन्छ । तासको म्यारिज खेल जुवा ऐनको परिभाषाअनुसार संयोगका आधारमा खेलिन्छ वा खेलिँदैन भन्नेतर्फ हेर्दा म्यारिज खेल के–कसरी खेलिन्छ भन्ने सम्बन्धमा केही उल्लेख भएको पाइएन ।’

तासको म्यारिज खेल सर्सर्ती हेर्दा संयोगको आधारमा खेलिने खेल देखिन नआएको हुँदा तासको म्यारिज खेल जुवा ऐन २०२० को उपरोक्त परिभाषाभित्र परेको भनी मान्नुपर्ने देखिएन ।’

यद्यपि उनको उक्त फैसलालाई फेरि पछि सर्वोच्च अदालतले खारेज गरेको थियो ।  सर्वोच्चका न्यायाधीश केदारप्रसाद गिरी र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले १२ माघ २०६३ मा राणाको फैसला उल्ट्याउँदै म्यारिज खेललाई समेत जुवाभित्रै पर्ने फैसला गरेको थियो ।

उनीहरुको फैसलामा भनिएको छ, ‘तासको म्यारिज खेलमा पक्षहरुको बीचमा धन सम्पत्तिको हार जित हुने, संयोग नपर्ने पक्षले वाजी गर्न नसक्ने, संयोग परी बाजी गर्नेले बाजी गरेवापत धन, रुपैयाँ–पैसा, सम्पत्ति प्राप्त गर्ने, बाजी गर्न नसक्नेले धन सम्पत्ति हार्ने जस्ता कार्यहरु तासको म्यारिज खेलमा पनि विद्यमान हुने भएकोले तासको म्यारिज खेललाई जुवा होइन भन्न सकिने अवस्था नरहने ।’

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्