site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रासायनिक मलको कोटा निर्धारण
फाइल तस्बिर ।

कञ्चनपुर । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । 

सहकारीमार्फत किसानलाई रासायनिक मल उपलबध गराउन कोटा निर्धारण गरिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले नगरपालिकालाई रासायनिक मल डीएपीको एक हजार ६७७ बोरा (आठ हजार ३८१ मेट्रिक टन) कोटा छुट्याएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नगरपालिकामा दर्ता भई रासायनिक मलको कारोबार गर्ने सहकारीलाई व्यवस्थित तरिकाले किसानसम्म मल पुर्याउनका लागि कोटा निर्धारण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

नगरपालिकामा दर्ता भएका २२ वटा सहकारीले रासायनिक मलको कारोबार गर्दै आएका छन् । 

“सहकारीमा आबद्ध सदस्य र किसानको सङ्ख्यालाई ध्यानमा राख्दै कोटा निर्धारण गरेका छौँ”, कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले भने, “थोरै सदस्य भएका सहकारीलाई थोरै कोटा निर्धारण गरिएको छ ।”

सहकारीलाई कम्तीमा १२५ देखि अधिकतम १५४ बोरासम्म पाउने गरी कोटा निर्धारण गरिएको उहाँको भनाइ छ । नगरपालिकाले सहकारीलाई कोटा निर्धारण गरी मल वितरण गर्दै आए पनि केही सहकारीमा सञ्चालकमा आबद्ध सदस्यलाई मात्रै रासायनिक मल उपलब्ध गराउँदा सहकारीमा आबद्ध नभएका किसानले मल नपाउने गरेको गुनासोसमेत रहेको छ ।

नगरपालिका क्षेत्रमा कोटा निर्धारण गरिएभन्दा बढी रासायनिक मल डीएपीको खपत हुने गरेको छ । झन्डै नगरपालिका क्षेत्रका किसानले प्रतिवर्ष रासायनिक मल डीएपीको १३ हजार मेट्रिक टनको माग गर्दै आएका छन् । कोटाको थोरैमात्रै मल आउँदा चर्को मूल्य तिर्दै किसानले भारतीय गुणस्तरहीन मलको प्रयोग गर्न बाध्य छन् । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्