
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आफैँले गरेको निर्णयबाट पछि हटेका छन् । बालेनले केही दिनअघि चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई दिएका थिए । हचुवाका भरमा निर्णय गर्दै मेयरले आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए ।
उनीहरूलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना तथा प्रविधि समितिको जिम्मेवारीबाट हटाएर मेयर शाहले अन्यलाई जिम्मेवारी दिएका थिए । उनीहरूले कार्यपालिकाको निर्णयबिना आफूखुसी निर्णय नगर्न मेयर शाहलाई चेतावनी समेत दिएका थिए ।
नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिकाले जिम्मेवार अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए । तर, उक्त निर्णयबाट बालेन पछि हट्दै पुरानै जिम्मेवारी दिएको एक वडा अध्यक्षले जानकारी दिए ।
विधायन समितिको जिम्मेवारी भने वडा–१६ कि अध्यक्ष रोजीना श्रेष्ठलाई दिइएको थियो ।
"पछिल्लो समय कार्यपालिका बैठक समेत राख्न नसकिरहेका बेला कार्यपालिका र नगरसभा सदस्यहरूले निरन्तर दबाब दिँदै आएका छन् । उपप्रमुख सुनिता डंगोलको अगुवाइमा कार्यपालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि मेयर शाह पछिल्लो समय आफूले गरेका केही निर्णयबाट पछि हट्नु भएको छ," एक वडाध्यक्षले भने ।