site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सुरुङमार्ग भासिने डरले ४१ भारतीयको उद्धारमा अवरोध

देहरादुन । सडक सुरुङमा फसेका ४१ जनाको उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताले शनिबार रोकेका छन् । उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले त्यसको भग्नावशेष हटाइँदै थियो ।

एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुंगा र माटो निरन्तर खसेपछि र महत्त्वपूर्ण हेभी ड्रिलिङ मेसिनहरू बारम्बार बिग्रिएका कारण काम सुस्त भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार वरिष्ठ स्थानीय सरकारी कर्मचारी अभिषेक रुहेलाले फसेका व्यक्तिको संख्या ४१ रहेको पुष्टि गरे । यो संख्या निर्माण कम्पनीले रिपोर्ट गरेको भन्दा एकजना बढी हो ।

सरकारको राजमार्ग तथा पूर्वाधार कम्पनी एनएचआईडीसीएलका अनुसार शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकाले उद्धार कार्य अवरुद्ध भएको छ । उद्धारकर्ताले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गरी सम्प्रेषित समाचारमा खाना, पानी, अक्सिजन र औषधि पनि ६ इन्च चौडाइ (१५ सेन्टिमिटर)को पाइपमार्फत पठाइएको तर भित्र फसेकाहरू निराश भएको उल्लेख छ ।

“हामी उनीहरूको स्वास्थ्यका बारेमा सोधपुछ गरिरहेका छौँ,” उद्धार टोलीका एक सदस्य मोहम्मद रिजवानले टाइम्स अफ इन्डियासँग भने, “तर, उनीहरू सबैको एउटै मात्र प्रश्न छ– तपाईं हामीलाई कहिले बाहिर ल्याउनुहुन्छ ?” रासस/एएफपी

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्