site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वर्णिम वाग्लेलाई रास्वपाको उपसभापति बनाउने तयारी 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ । 

महोत्तरीको गौशालामा जारी बैठकबाट अर्थविद् डा. वाग्ले उपसभापति हुने सभापति लामिछानेको ‘कोर टिम’का सदस्यले बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अहिलेसम्म प्रस्ताव भइसकेको छैन । तर, आजकै बैठकमा प्रस्ताव जान्छ,” ती सदस्यले बाह्रखरीसँग भने, “उहाँ (डा. स्वर्णिम वाग्ले)लाई पार्टीको उपसभापति बनाउन लागिएको हो ।” 

उनले वाग्लेबाहेक अन्य पनि पदाधिकारी थप हुनसक्ने बताए । बैठक सोमबारदेखि जारी भएपनि सभापति लामिछानेको कोर टिमबाहेकका पदाधिकारी र सदस्यहरू भने वाग्लेलाई उपसभापति बनाउने विषयमा जानकार छैनन् । 

“हाम्रो केन्द्रीय समिति र संसदीय दलको बैठक जारी छ । अहिलेसम्म पदाधिकारीका क–कसलाई के जिम्मा दिने भन्ने प्रस्ताव आएकै छैन,” एक पदाधिकारीले बाह्रखरीसँग भने, “मिडियाबाट सूचना भन्दा पनि सद्भावका आधारमा समाचार आएको हो कि जस्तो लाग्यो ।” 

उनले पार्टीमा प्रस्ताव नहुँदै मिडियामा आएका समाचारले दबाब सृजना गरेजस्तो देखिएको बताए । सभापतिको कोर टिमले तयारी गरेका भएपनि त्यसको जानकारी बैठकमा नआउँदासम्म त्यो विषय परिपक्व नहुने उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्