site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगन थापाले गरे ‘मिसन’ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले ‘मिसन ०८४’ भन्न नपाउने बताएका छन् । कांग्रेसले तत्काल देखिने गरी काम गर्नुपर्ने र त्यसका आधारमा जनतासामु जानुपर्नेमा उनले जोड दिए ।

केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा आफ्नो धारणा राख्दै उनले नीति अधिवेशनबाट ‘मिसन गुणस्तरीय शिक्षा’, ‘मिसन सर्वसुलभ स्वास्थ्य’ र ‘मिसन मर्यादित रोजगारी’ तय गर्न प्रस्ताव गरे । यी विषय पूरा गरेर जनतामाझ जानुपर्ने उनले बताए ।

“अरू सबै दलसँग समय पनि छ, सुविधा पनि छ– अहिले भएन, हामी आउँछौँ र ठिक बनाउँछौँ भन्ने,” बैठकमा उनले भने, “तर, हामीले त्यो भन्न पाउँदैनौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वर्तमान सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भएको उनले उल्लेख गरे । उनले कांग्रेसका मन्त्रीले गरेका सकारात्मक कामको सूची पनि मागे ।

“सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भयो । कांग्रेसका प्रत्येक मन्त्रीले आठ महिनामा गरेको यस्तो आठवटा कामको सूची दिनुस्, जसको कारणले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईं नभएको भए हुँदैन थियो,” महामन्त्री थापाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनले अब एक वर्षमा सरकारमा बसेर के गर्ने भन्ने लक्ष्य निर्धारण गर्न आग्रह गरे । “त्यो लक्ष्य पूरा गर्न भनेजस्तो काम गरेनन् भने मन्त्री फेरौँ,” थापाको प्रस्ताव छ ।

उनले पार्टी सभापति शेरबहादुर देउवालाई सचेत समेत गराएका छन् । हरेक विषयमा पार्टीभित्र समझदारी गर्नुपर्नेमा उनले जोड दिए ।

सत्ता गठबन्धनमा गरिने कतिपय निर्णयप्रति उनले असन्तुष्टि जनाए । पार्टीभित्र छलफल नगरी कांग्रेसको धारणा भनेर गरिने निर्णय मान्य नहुने उनले चेतावनी दिए ।

बैठकमा गगन थापाको भनाइ पढ्नोस्–
१. सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भयो । कांग्रेसका प्रत्येक मन्त्रीले आठ महिनामा गरेको यस्तो आठवटा कामको सूची दिनुस्, जसको कारणले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईं नभएको भए हुँदैन थियो । अनि, तपाईंको ती कामको प्रचार कांग्रेसका तमाम सदस्यले गर्नेछन् ।

२. अब एक वर्षमा सरकारमा बसेर के गर्ने भन्ने लक्ष्य निर्धारण गरौँ । त्यो लक्ष्य पूरा गर्न भनेजस्तो काम गरेनन् भने मन्त्री फेरौँ ।

– अरू सबै दलसँग समय पनि छ, सुविधा पनि छ– अहिले भएन, हामी आउँछौँ र ठिक बनाउँछौँ भन्ने । तर, हामीले त्यो भन्न पाउँदैनौँ ।

– अरूले मिसन ०८४ भन्न पाउँछन्, तर हामीले भन्न पाउँदैनौँ । हामी छलफल गरौँ र नीति अधिवेशनबाट ‘मिसन गुणस्तरीय शिक्षा’, ‘मिसन सर्वसुलभ स्वास्थ्य’, ‘मिसन मर्यादित रोजगारी’ तय गरौँ । अनि, यी चार वर्षमा यी कुरा पूरा गरौँ । यसको आधारमा बल्ल जनतासामु जान पाइन्छ ।

३. गठबन्धन बैठक भन्ने अनि पार्टीभित्र सरसल्लाह, संवाद, समझदारी नगरी पार्टीको धारणा भनेर निर्णय गर्ने, त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नुपर्छ ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्